• होमपेज
  • कोशी प्रदेश
  • सार्वजनिक यातायात खोल्ने सरकारको तयारी 

सार्वजनिक यातायात खोल्ने सरकारको तयारी 

आधा सिट छोडेर चलाउन व्यवसायीका ९ सर्त

  • सोमवार, जेष्ठ २६, २०७७
सार्वजनिक यातायात खोल्ने सरकारको तयारी 
फाइल तस्वीर

कोरोना भाइरस (कोभिड–१९) पछि लामा तथा छोटा दूरीका सार्वजनिक यातायात बन्द छन् । लकडाउनपछि सवारीसाधन ग्यारेजमा थन्किएका छन् । लाखौँ मजदुर रोजगारविहीन भएका छन् । लागानी डुब्न लागेको भन्दै व्यवसायी चिन्तत छन् ।

व्यवसायी र सर्वसाधारणले लकडाउन खुलाउनुपर्ने भन्दै आन्दोलन गर्न थालेपछि सरकार पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने स्थितिमा पुगेको हो । लकडाउन खुकुलो बनाउने तयारी भएसँगै सावधानी अपनाएर सार्वजनिक बस चलाउने विषयमा पनि छलफल सुरु भएको छ ।

काठमाडौं उपत्यकामा मात्र ५० लाख नागरिक बस्छन् । अधिकांश सार्वजनिक बस चढ्ने यात्रु छन् । लकडाउन खुलेर मात्र भएन, त्योसँगै सवारीसाधन पनि खुल्नुपर्ने हुन्छ । अहिले नै सार्वजनिक सवारी चलाउन मिल्छ कि मिल्दैन त ?

व्यवसायीका सर्तः कोरोना बीमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीसाधन चलाउन सर्त राखेको छ । आफ्नो सर्त पूरा नभए तत्काल सवारी चलाउन नसकिने महासंघको निष्कर्ष छ ।

‘३ महिना भयो सवारीसाधन थन्किएको । सवारीसाधनको मर्मत गर्नुपर्ने हुन्छ,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले भने, ‘चालक, सहचालक र यात्रु सुरक्षित हुने अवस्था आयो भने चलाउने हो । यसका लागि पुनः कर्जा र कोरोना बीमा हुनुपर्छ । किस्ता, कर्जा र ब्याजलाई जिरोमा लैजानुपर्छ ।

व्यवसायीले कोरोना बीमासँगै सवारी सञ्चालनमा यी सर्त पनि अघि सारेका छन्

– लकडाउन भएको समयसम्मको किस्ता, कार्ड नवीकरणलाई जिरोमा लैजानुपर्ने ।
– कागजपत्र नवीकरण लकडाउनपश्चात् ३ महिनाभित्र स्वत: गर्नुपर्ने ।
– लकडाउनको समयको बैंक ब्याज छुट हुनुपर्ने ।
– यो अवधिमा फेल भएका चालक अनुमतिपत्र स्वत: नवीकरण गर्नुपर्ने ।
– सवारीसाधन थन्किएको लामो समय भएकाले ब्याट्री, टायर फेर्न र सर्भिसिङ पुन: कर्जाको व्यवस्था हुनुपर्ने ।
– ६ महिनासम्म यात्रु नहुने भएकाले अनुदान उपलब्ध गराउनुपर्ने ।
– गाडी चलाउने चालक, सहचालक र यात्रुको कोरोना बीमा हुनुपर्ने ।
– सुरक्षाका लागि मास्क, स्यानिटाइजर, पीपीई, ग्लोब्स उपलब्ध गराउनुपर्ने ।
– भाडा समायोजना हुनुपर्ने ।

सर्त पूरा नभए असम्भव : व्यवसायी

अध्यक्ष कर्मचार्यले सर्त पूरा नभए सवारी चलाउन नसकिने बताए । ‘कोरोना भाइरसका कारण ५ महिनासम्म यात्रु हुँदैनन् । त्यो बेलासम्म कर्मचारी पाल्नुपर्ने हुन्छ । त्यसका लागि अनुदान चाहिन्छ,’ उनले भने , ‘सर्त पूरा भएन भने सवारी चलाउन सकिँदैन ।’

यस्तो छ मापदण्डको खाका

सार्वजनिक बस कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी बनाउन यातायात व्यवस्था विभाग जुटेको छ । विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायसँग छलफल पनि गरिरहेको छ । विभागले कसरी चलाउने भन्ने खाका तयार पारेको छ ।

‘पहिले सार्वजनिक बस चलाउने निर्णय सरकारले गर्ने हो । यदि चलाउने अवस्था आयो भने कसरी सुरक्षित हुने भन्ने विषयमा छलफल गरिरहेका छौँ,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘चालक, सहचालक र यात्रुको सुरक्षा नै प्रमुख विषय हो ।’

डब्लूएचओ र स्वास्थ्य मन्त्रालयको गाइडलान्सलाई पालना गरेर खाका तयार पारिएको उनले बताए । यातायात व्यवसायीको मागका सम्बन्धमा पनि छलफल भइरहेको उनले बताए ।

यी हुन् व्यवसायीको माग

– आधा सिट छोडेर चलाउन सकिने ।
– चालक, सहचालक र यात्रुको सुरक्षा ।
– क्यासको कारोबार नगर्ने, वैकल्पिक व्यवस्था खोज्ने ।
– सामाजिक दूरी कायम ।
– गाडीलाई डिस्इन्फेक्सन गर्ने ।
– पीपीई, मास्क, स्यानिटाइजरको व्यवस्था ।

तत्काल कति सुरक्षित, कति असुरक्षित ?

जनस्वास्थ्यका विज्ञहरूले मापदण्ड बनाएर सवारी चलाउन सकिने बताए । ‘एक मिटरको दूरी कायम गर, मास्क लगाऊ, हात धोऊ, म आक्रमण गर्दिनँ भनेर कोरोनाले भनिसकेको छ,’ डा. बाबुराम मरासिनीले भने, ‘यी मापदण्ड बनाएर चलाउने हो भने सर्ने जोखिम हुँदैन । बस चलाउन सकिन्छ ।’

बसका ढोका, सिट र बारहरू एक पटक यात्रु झारेर फेरि सफाइ गरेर चलाउन सकिने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार