भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका ३ घर भई हाल चाँगुनारायण नगरपालिका ३, झौखेल बस्ने ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशंकाले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडीटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो ।
मृत्युपछि कोरोनाको आशंकामा आइतबार राति करिब ९ बजे स्वाब लिई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमले सुत्केरीको मृत्यु भए पनि पीसीआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिइन् । उनले अस्पतालमा भने विशेष सजगता अपनाएको बताइन् ।
अस्पताल विकास समिति अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमित रुपमा केएमसी अस्पताल सिनामंगलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिए । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यहीँ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उनले जानकारी दिए । महिलाको शव अस्पतालको प्रसूति वार्डमै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ । –रासस