दाङको राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षणको रिपोर्ट नआउँदै घर पठाइए पछि राजपुर तनावग्रस्त बनेको छ। गाउँपालिकाको एक सय ५७ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो।
त्यसमा पहिलो दिन ३५ जनाको परीक्षण रिपोर्टमा ३ जनाका कोरोना पोजिटिभ देखिएको थियो। गाउँपालिकाले सबैको रिपार्ट आएको भ्रममा परेर पोजिटिभ देखिएका बाहेकलाई घर पठाउँदा अहिले समस्या भएको हो।
बिहीबार फेरि राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भएपछि रिपोर्ट नआउदै घर पुगेका सक्रमितलाई खोज्न गाउँपालिकालाई हम्यहम्य भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना सम्प्रेषण गर्दा भएको त्रुटिले गर्दा यस्तो समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको भनाइ छ।प्रतिष्ठानले भने पहिलो चरणमा ३५ जना र दोस्रो चरणमा १२२ जनाको परीक्षण गरिएको बताएको छ। बुधबार ३५ जनामा ३ र बिहीबार १२२ जनाको रिपोर्टमा ३ पोजेटिभ देखिएको प्रतिष्ठानले बताएका छ।