बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कसरी सम्भव भयो अस्ट्रेलियामा कोरोना नियन्त्रण ?

कसरी सम्भव भयो अस्ट्रेलियामा कोरोना नियन्त्रण ?

  • बुधबार, जेष्ठ २१, २०७७
कसरी सम्भव भयो अस्ट्रेलियामा कोरोना नियन्त्रण ?

हाल अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित निको हुने दर उल्लेख्य मात्रामा बढेको छ भने नयाँ संक्रमित देखिने दर पनि घटेको छ ।

सरकारी तथ्यांकका अनुसार अष्ट्रेलियामा हालसम्म ९२ प्रतिशत कोरोना संक्रमितहरु निको भइसकेका छन् भने बाँकी रहेका बिरामीहरुको स्थिति पनि सामान्य हुँदै गएको छ ।

अष्ट्रेलियामा कोरोना महामारीको सुरुआतदेखि यो समाचार तयार पार्दासम्म संक्रमितहरुको संख्या कूल सात हजार १९५ रहेको छ, जसमध्ये ६ हजार ६१६ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म अष्ट्रेलियामा यो महामारीका कारण मृत्यु हुनेको संख्या १०३ छ ।

अष्ट्रेलियामा सबैभन्दा पहिला जनवरी २५ का दिन चीनको वुहानबाट भिक्टोरिया राज्यको मेलबर्न फर्केका एक व्यक्तिमा संक्रमण देखिएको थियो ।

मार्चको अन्त्यसम्ममा संक्रमितहरुको संख्यामा गुणात्मक वृद्धि भए पनि त्यसपछिका दिनहरुमा निरन्तर कमी आउन थाल्यो ।

समाचार तयार पार्दाको दिनसम्म अष्ट्रेलियाका आठ वटा राज्यहरुमध्ये ५ वटा राज्यहरुमा नयाँ संक्रमितहरुको संख्या शून्य रहेको छ भने अन्य राज्यहरुमा पनि संक्रमणको संख्या निकै घटेको छ । संक्रमण घटेसँगै राज्यहरुले लगाएका विभिन्न प्रतिबन्धहरु केही खुकुलो बनाउँदै लगेका छन् ।

कसरी नियन्त्रण भयो अष्ट्रेलियामा कारोना ?

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण कम हुनुमा (हालसम्मको तथ्यांक हेर्दा) थुप्रै कारणहरु छन् । सरकारको तदारुकता, नागरिकहरुले पालना गरेको अनुशासन, सहकार्यलगायतका कुराहरुले पनि कोरोना संक्रमणमा कमी आएको अधिकारीहरु बताउँछन् । त्यति मात्र होइन, कोरोना संक्रमितहरुको नि:शुल्क उपचार, संक्रमितसँग नजिकको सम्पर्कमा आएकाहरुलाई सरकारी सुविधासहितको दुइहप्ते क्वारेन्टिनको व्यवस्थासमेत सरकारले व्यवस्था गरेको थियो । यिनै कारणहरुले पनि अष्ट्रेलियामा कोरोना नियन्त्रण गर्न सजिलो भएको सरकारी अधिकारीको मत छ ।

कोरोना नियन्त्रणमा छुट्टाछुट्टै राज्यले आफ्नो मौलिकता अनुसार फरक-फरक तरिका अपनाए पनि अष्ट्रेलियाभर कोरोना नियन्त्रण हुनुमा मुख्यतः यी चार विधिहरुले काम गरेको देखिन्छ ।

पहिलो : प्रधानमन्त्री स्कट मरिसनले भाइरसको संक्रमण फैलिन नदिन मार्च १९ बाट लागू हुने गरी अष्ट्रेलियाका नागरिक बाहेकका लागि अन्तर्राष्टिय सिमाना बन्द गरिदिए (जुन हालसम्म कायम छ) । सीमा बन्दका कारण अन्य देशमा भएका संक्रमितहरु अष्ट्रेलिया प्रवेश गर्न पाएनन् । यद्यपि अन्य देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई भने चार्टर गरेर ल्याइएको थियो ।

विज्ञहरुका अनुसार सीमा बन्द गरिनु नै अष्ट्रेलियाको लागि कोरोना नियन्त्रणमा पहिलो तथा प्रभावकारी माध्यम थियो । सरकारले सीमाना बन्द गरेर यात्रामा कडा प्रतिबन्ध लगाउनु नै अष्ट्रेलियाको लागि फलदायी साबित भएको सिड्नी युनिभर्सिटीका प्रोफेसर आडम काम्राड स्कटले बताएका थिए ।

दोस्रो : कोरोना भाइरसबाट हुन सक्ने सामुदायिक संक्रमणलाई रोक्न अष्ट्रेलियाको सरकारले सार्वजनिक स्थलहरुमा मानिसहरुको जमघटमा सीमितता राख्न निर्देशन दियो । त्यस्तै अत्यावश्यक सेवामा पनि मानिसहरुको भिडभाड हुने ठाउँ जस्तै ‘डिपार्टमेन्टल स्टोर’हरुमा मानिसहरुबीच १.५ मिटरको दुरी कायम गराइयो ।

अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवाहरुमा प्रतिबन्ध लगाइयो । होटल रेष्टुरेष्ट, पब, खेलकुद लगायत मनोरञ्जनका अन्य गतिविधिहरु सम्पूर्ण रुपमा बन्द भए । विभिन्न चरणअनुसार ल्याइएका यी प्रतिबन्धहरुका कारण पनि मानिसहरुबीचको सम्पर्क घट्यो र एकआपसमा संक्रमण फैलिनबाट रोकियो ।

तेस्रो : अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणमा वृद्धि देखिनासाथ यहाँको सरकारले नागरिकहरुमा परीक्षणको दायरा बढायो । स्वास्थ्यकर्मीहरुले एक दिनमा २० हजारदेखि २५ हजारजनासम्मको परीक्षण सम्पन्न गरेको तथ्य संचारमाध्यमहरुमा पढ्न र देख्न पाइन्छ ।

स्वास्थ्य विभागका अनुसार हालसम्म देशभरीमा १४ लाख ७२ हजार जनालाई कोरोना परीक्षण गरिसकिएको छ । सरकारले परीक्षणको दायरा बढाएपछि संक्रमण देखिएकाहरुलाई छु्ट्टा-छुट्टै क्वारेन्टिनमा राखेर विशेष निगरानीमा राखेको थियो ।

चौथो : १५ मेका दिन अस्टेलियन सरकारले कोरोना भाइरस ट्रेसिङ एपको प्रारम्भ गर्यो । यो मोबाइल एपको सहयोगले संक्रमितहरुसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई संक्रमण हुनबाट जोगाउन मद्दत गर्यो । यो एप डाउनलोड गर्ने व्यक्तिले आफू कोरोना भाइरसबाट कत्तिको सुरक्षित छु भन्ने कुरा पनि थाहा पाउँछ ।

संक्रमितको संख्या बढ्नुमा पानीजहाज जिम्मेवार

अष्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार हालसम्म समुदायभित्र एक मानिसबाट अर्को मानिसमा कोरोना भाइरस सर्नेहरुको संख्या न्यून छ ।

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बाहिरबाट आएकाहरुमा धेरै देखिएको छ । जसमा एक पानीजहाज रुबी प्रिन्सेस पर्दछ । स्थानीय सञ्चारमाध्यमका अनुसार अष्ट्रेलियाली पानीजहाज रुबी प्रिन्सेसका करिब २ हजार ७ सय यात्रुहरु मध्ये अधिकांशमा कोरोना भाइरसको लक्षण देखिँदा देखिँदै उनीहरुलाई विना परीक्षण न्यु साउथ वेल्स राज्यको सिड्नी हार्वरमा उतारिएको थियो । त्यसको केही दिनदेखि उक्त पानीजहाजका यात्रुहरुमा कोरोना संक्रमण देखिन सुरु गरेको थियो ।

सञ्चारमाध्यमहरुका अनुसार अस्टेलियामा देखिएका संक्रमितहरुको कूल संख्याको १० प्रतिशत उक्त पानीजहाजसँग सम्बन्धित छ । उक्त पानीजहाजका संक्रमित यात्रुहरुमध्ये हालसम्म २२ जनाको मृत्यु भइसकेको छ भने ८ सय जना संक्रमित छन् ।

न्यु साउथ वेल्स राज्यका स्वास्थ्यमन्त्री ब्राड हजार्डले उक्त पानीजहाजबाट यात्रुहरु उतार्नु नै गम्भीर गल्ती भएको स्वीकार गरिसकेका छन् । यात्रुहरुमा कोरोनासँग मिल्ने लक्षण देखिँदा देखिँदै किन उक्त पानीजहाज सिड्नीमा उतार्न अनुमति दिइयो भन्ने विषयमा न्यु साउथ वेल्स प्रहरीले जाँच सुरु गरिसकेको छ । प्रहरीले उक्त विषय मानवहत्यासँग सम्बन्धित भएको भन्दै आपराधिक अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्ध खुकुलो, जोखिम उत्तिकै

पछिल्लो समयमा कोरोना भाइरस नियन्त्रणमा आएसँगै अस्टेलियाको विभिन्न राज्यहरुले आआफ्नै ढंगले विभिन्न चरणहरुमा गरेर लकडाउन खुकुलो पारेका छन् । न्यु साउथ वेल्समा फरक फरक परिरवारका पाँचजना मानिसहरुलाई भेटघाट गर्न छुट दिइएको छ भने भिक्टोरियामा २० जनाको संख्यामा बहिर निस्कन, घुम्न पाइन्छ । कोरोना भाइरसका कारण ठप्प भएको व्यवसायका कारण आर्थिक गतिविधी कम भएको र राष्ट्रिय अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै लकडाउन खुकुलो पारिएको सम्बन्धित राज्यका प्रतिनिधिहरुले बताएका छन् । यद्यपि आफूलाई र अरुलाई संक्रमणबाट बचाउन सामाजिक दुरी कायम राख्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

अस्टेलियामा कोरोना नियन्त्रणमा केही सफलता हासिल भयो भन्दैमा भाइरसको जोखिम नहुने तर्क गर्नु हतारो हुने अधिकारीहरु बताउँछन् । कोरोना नियन्त्रणसँगै खुकुलो पारिएको लकडाउनका कारण पनि संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको तर्फ उनीहरु सचेत गराउँछन् । लकडाउन खुकुलो पारिएसँगै भविष्यमा हुनसक्ने संक्रमण फैलिनबाट बच्न सरोकारवालाहरुले मानिसहरुलाई भिडभाडबाट टाढा रहन, भेटघाटमा हुँदा सामाजिक दुरी कायम गर्न सुझाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार