शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • ‘ट्राभल हिष्ट्री ‘ नै नभएका सोलुका युवकमा देखियो कोरोना

‘ट्राभल हिष्ट्री ‘ नै नभएका सोलुका युवकमा देखियो कोरोना

  • बिहिबार, जेष्ठ १५, २०७७
‘ट्राभल हिष्ट्री ‘ नै नभएका सोलुका युवकमा देखियो कोरोना

विराटनगर : कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलावटको हिसाबले प्रदेश १ सरकारले सामान्यको सूचीमा राखेको सुलुखुम्बु जिल्लाकै एक नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका २७ वर्षका एक पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाका अनुसार लकडाउनदेखि घरबाहिर नहिँडेका ती युवकमा नै कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

‘उनको ट्राभल हिस्ट्री छैन, लकडाउन अघिदेखि नै घरमै बसेका ती युवक ज्वरो आएपछि स्वास्थ्य संस्था गएका थिए,’ मेयर शेर्पाले भने, ‘सोही समयमा स्वाब लिएर परीक्षणका लागि विराटनगर पठाएका थियौँ,रिपोर्ट पोजिटिभ आयो ।’

ट्राभल हिस्ट्रनै नभएका ती युवकमा कारोना पोजिटिभ आएपछि परीक्षणमा नै शंका लागेको मेयर शेर्पा बताउँछन् । ‘यस्तो नहुनुपर्ने हो तर, रिपोर्ट पोजिटिभ आयो, ‘मेयर शेर्पाले भने, ‘उनको पुनः स्वाब परीक्षण गर्ने गरी युवकलाई नै विराटनगर पठाएका छौँ।’

संक्रमित युवकसँगै परीक्षणका लागि पठाएको दुईजनाको रिपोर्ट भने नेगेटिभ आएको छ । हाल संक्रमण देखिएको ती युवकमा कोरोना भाइरस (कोभिड- १९) को सामान्य लक्षण देखिएको मेयर शेर्पाले टेलिफोनमार्फत अन्नपूर्णलाई बताए।

सोलुका २७ वर्षीय युवकसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ भने संक्रमण फैलिएको जिल्लाको संख्या ८ पुगेको छ । यसअघि उदयपुर, झापा, मोरङ, सुनसरी, भोजपुर, धनकुटा र खोटाङमा कोरोना संक्रमित भेटिएका थिए ।

पछिल्लो तथ्यांकअनुसार सोलुखुम्बु बाहेक उदयपुरमा ३३, झापामा ५४, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमित छन् । उदयपुरमा पछिलल्लो समय कोरोना संक्रमित थपिएका छैनन् ।

प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमण फैलावटका हिसाबले प्रदेशका जिल्लालाई तीन भागमा वर्गिकरण गरेको छ । हिमाली जिल्ला सोलुखुम्बु र ताप्लेजुङ जिल्लालाई सामान्यको सूचिमा राखेको छ ।

यस्तै तराईका झापा, मोरङ सुनसरी र उदयपुर बाहेक ८ जिल्लालाई जोखिम र बाँकी चारलाई अतिजोखिमको सूचिमा राखेर सोही अनुसार स्वाब संकलन र लकडाउनमा कडाई गर्दै आएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए। #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार