बाजुरा — बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले नवराज विकको हत्या प्रकरणमा दोषी देखिएका सवैलाई कारवाहीको माग गरेको छ । मंगलबार उक्त घटनामा दोषी रहेकाहरुलाई कारवाहीको माग गर्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएका छन् ।
जेठ १० गते शनिवारका दिन कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोतिमा गाउँलेहरु जम्मा भएर नवराज वि.क सहित दुईजना दलित युवाहरुको विभत्सढंगबाट हत्या गरिएको घटनाले सिंगो दलित समुदायलाई नै स्तब्ध बनाएको बताएको छ । दलित समुदायको युवा र गैर दलित समुदायकी युवती वीच प्रेम विवाह हुन नदिनलाई गरिएको हत्याको सिंगो दलित समुदाय घोर निन्दा र भत्सर्ना गर्दछ ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ का राना गाउँ बस्ने नवराज वि.क र चौरजहारी ८ सोतिकी शुष्मा मल्ल वीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नाका लागि दुबै युवा युवती सहमत भई शुष्मा मल्लले आफूलाई लिनका लागि नवराज वि.कलाई बोलाएपछि आफ्ना साथीहरुसहित केटीको घरगाउँ पुगेका थिए । स्थानीय सोतिमा गाउँका वडाध्यक्ष डम्मर बहादुर मल्ल सहित केटीका घरपरिवार र स्थानीय मिलेर नवराज वि.कलाई लखेटी लखेटी निर्घात कुटपीट गरेर हत्या गरेका थिए । संगै गएका साथीहरु हत्यापछि बेपत्ता भएका टिकाराम वि.कको लास भेटिएको छ ।
अन्य गणेश वि.क, लोकेन्द्र सुनार, सन्दीप वि.क अहिले सम्म बेपत्त्ता भएका छन् । यस घटनामा संलग्न मध्ये वडाध्यक्ष डम्मर बहादुर मल्ल केटीका बुबा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्ल सहित केही स्थानीय व्यक्ति प्रहरीले पक्राउ गरेको छ । निजहरु पक्राउ परेपनि घटनालाई तोडमोड गरि हत्यारालाई उन्मुक्ति दिने खालका चलखेल प्रति सिंगो दलित समुदाय घोर भत्सना गर्दछौँ । गैर दलित युवतीसँग प्रेम विवाह पछि दुवैपक्ष सहमत हुँदाहुदै विवाह रोक्नु र साथमा गएका मान्छेलाई केटीपक्षका कथित गैर दलित मान्छेले गैर कानुनी भेलाबाट मान्छेलाई अमानवीय तवरबाट तथानाम गाली गलौज तथा हातपात गरि कुटपीट गरेर मान्छे मार्ने ज्यानमाराले पुरै नेपाली समाजलाई नै विश्वसामु लज्जीत बनाएको छ । बाजुरा जिल्लाको सिंगो दलित समुदायका अगुवाहरुले शोकाकुल यस घडीमा हत्या गरिएका नवराज वि.क र टेक वहादुर वि.क प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरेको छ ।
साथै व्यपत्ताहरुको खोजीकार्य गरी दोषीलाई कसैका दवाव र प्रभावमा नपरी नेपाल सरकारको प्रचलित कानुन बमोजिम कानुनी कारवार्हीको जोडदार माग गर्दछौँ । अन्यथा क्रमवद्धरुपमा आन्दोलनका कार्यक्रम अगाडि बढाउने व्यहोरासमेत जानकारी गर्दछौँ ज्ञापन पत्रमा भनिएको छ । बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले बुझाएको ज्ञापन पत्र आज नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जिल्ला प्रशासन कार्यालय बाजुराले पठाईसकेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन् ।