नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित व्यक्तिहरू अछाम मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भेरी अस्पतालमा गरीएको परीक्षण्मा तीन जना र नारायणी अस्पतालमा गरिएको परीक्षणमा दुई जना र सेती अस्पतालको प्रयोगशालमा गरीएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालले भने आईतवार नै उनमा कोरोना संक्रमण रहेको पुष्टि गरिसकेको थियो।
संक्रमित सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ७ का ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयकाले जनाएको छ। योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङख्या चार पुगेको छ।