शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • कर्णालीका मुख्यमन्‍त्रीले गरे, सुरक्षाकर्मी र गाडी फिर्ता

कर्णालीका मुख्यमन्‍त्रीले गरे, सुरक्षाकर्मी र गाडी फिर्ता

  • आइतवार, जेष्ठ ११, २०७७
कर्णालीका मुख्यमन्‍त्रीले गरे, सुरक्षाकर्मी र गाडी फिर्ता

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गरेका छन्। कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारमा सहयोगका लागि प्रहरी परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो सुरक्षामा खटिएका प्रहरी र पछुवा गाडी फिर्ता गरेको उनले बताए।

विद्यमान समयमा आफ्नो व्यक्तिगत सुरक्षाका लागि भन्दा पनि कोरोना संक्रमण नियन्त्रणमा भूमिका खेल्न आवश्यक रहेकाले सुरक्षाकर्मी फिर्ता गरेको उनको भनाइ छ। उनको सुरक्षाका लागि ७ जना प्रहरी खटाईएको थियो। तर उनले सबै प्रहरी फिर्ता गरेका छन्। ‘अहिले आफ्नो सुरक्षाभन्दा पनि जनताको स्वास्थ्य र सुरक्षा गर्नु महत्वपूर्ण ठानेको छुँ। कोरोनाकै कारण जनतामा भाइरस संक्रमणसँगै त्रास बढ्दै गएको छ’ उनले भने, ‘हाल प्रदेश राजधानी सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन, संक्रमितलाई अस्पताल लाने लगायतका विभिन्न काममा खटिने सुरक्षाकर्मीको संख्या कम छ। त्यसैले यो बेला व्यक्तिगत सुरक्षाका लागि धेरै सुरक्षाकर्मी राख्न आवशयक ठानिन।’

मुख्यमन्त्री शाहीका अनुसार महामारी नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन आवश्यक भएको हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयमा रहेका अन्य सवारीसाधन पनि प्रहरीलाई ड्युटी गर्न उपलब्ध गराइएको छ। मन्त्री र सचिवबाहेकका अन्य सबै गाडी सुरक्षाकर्मीलाई दैनिक ड्युटीका लागि प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।

विगत लकडाउनको दुई महिना अवधिसम्म कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेशमा गत सातादेखि संक्रमित संख्या पनि बढ्दै गएको छ। भारतबाट प्रदेश भित्रिनेको संख्या पनि बढ्दै गएपछि संक्रमणको थप जोखिम बढेको मुख्यमन्त्री शाहीले बताए। यसअघि भारतबाट आएकाको स्वास्थ्य परीक्षण गर्दै जिल्ला पठाउने गरिए पनि विगत दुई हप्ता यता अनिवार्य पीसीआर परीक्षण गरेर क्वारेन्टाइनमा राख्दै घर पठाउने गरिएको छ। पछिल्लो तीनचार दिन यता मात्रै कर्णालीमा भारतबाट साढे ६ हजार नागरिक भित्रिएका छन्। #अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार