बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानः बाँच्न सफल एक व्यक्तिले बताए विमान दुर्घटनापछिको नालीबेली

पाकिस्तानः बाँच्न सफल एक व्यक्तिले बताए विमान दुर्घटनापछिको नालीबेली

  • आइतवार, जेष्ठ ११, २०७७
पाकिस्तानः बाँच्न सफल एक व्यक्तिले बताए विमान दुर्घटनापछिको नालीबेली

बीबीसी– पाकिस्तानमा शुक्रबार कराँची एयरपोर्ट नजिकै एक विमान दुर्घटनामा बाँच्न सफल व्यक्तिले आफ्नो अनुभव साझा गरे । मुहम्मद जुबैर ती व्यक्तिमध्येका एक हुन् जो विमान दुर्घटनामा बाँच्न सफल भएका छन् । पाकिस्तानी स्वास्थ्य अधिकारीका अनुसार पाकिस्तानी एयरलाइन्सको विमान एयरबस ए३२० आवासीय इलाकामा दुर्घटनाग्रस्त भएपछि ९७ व्यक्ति मारिएको पुष्टि भएको छ ।

विमान दुर्घटना हुनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर स्थानीय मिडिया अनुसार विमान चालकले एकपटक अवतरणमा असफल भएपछि विमानमा प्राविधिक गडबडी आएको सुचना दिएका थिए । त्यसपछि विमान दुर्घटना हुनु ठिक अघि विपत्तिको संकेत शब्दमा ‘मे डे – मे डे’ भनेका थिए ।

कसरी बच्यो जुबैरको ज्यान ?

फ्लाइट पीके८३०३ ईदको ठ्याक्कै अघि लाहोरबाट उडेर ९१ यात्रीसहित लाहोर फर्किरहेको थियो । उक्त विमानमा थुप्रै परिवारका सदस्य सवार थिए । यो विमानले दिउँसो साढे दुई बजे कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कोसिस गरिरहेका बेला यो दुर्घटनाग्रस्त भयो । मामुली चोटसहित बाँच्न सफल जुबैका अनुसार विमानले एकपटक अवतरण गर्ने कोसिस गरेको र त्यसको १०–१५ मिनेटपछि यो दुर्घटनाग्रस्त भएको हो ।

उनी भन्छन्, ‘विमान दुर्घटनाग्रस्त हुँदैछ भन्ने कसैलाई पनि थाहा थिएन । सबै मानिसहरु विमानमा निकै आरामका साथ उडिरहेका थिए ।’

दुर्घटनापछि जुबैर बेहोस भएका थिए । जुबैर भन्छन्, ‘जब मलाई होस आयो तब मैले चारैतिर चिच्याहट सुनिरहेको थिएँ । बच्चाहरु र वयस्क चिच्याइरहेका थिए । मैले आगोमात्र देखिरहेको थिएँ । त्यहाँ कोही व्यक्ति देखिनँ । ’

‘मैले एउटा सिट बेल्ट खोलेँ र मैले एउटा प्रकाश देखेँ । त्यसपछि म उक्त प्रकाशतिर भागेँ । मैले एक सुरक्षित स्थानमा पुग्नका लागि दस फिटको उचाइबाट हाम फाल्नुपर्यो ।’

कसरी भयो यो दुर्घटना ?

लाहोरबाट उडेर कराँची पुग्नै लाग्दा विमानस्थलमा अवतरण गर्नु ठिक अघि यो विमान आवासीय इलाका जिन्ना गार्डन मोडल कोलोनीमा खसेको थियो जुन एयर पोर्टभन्दा ३.२ किलोमिटर मात्रै टाढा छ ।

दुर्घटना हुनु ठिक अघि विमानका चालकले इन्जिन खराब भएको र विपत्तिको संकेतमा ‘मे डे’ शब्द उच्चारण गरेका थिए । पीआईएका मुख्य कार्यकारी अधिकारी एयर भाइस मार्शल अरशद मलिकले दुर्घटनालगत्तै पाइलटले ट्राफिक कन्ट्रोललाई विमानमा प्राविधिक समस्या आएको सूचना दिएको जानकारी दिए । पाकिस्तानको समाचार च्यानल दुनियाँ न्यूजले पाइलट र ट्राफिक कन्ट्रोलबीच भएको कुराकानीको रेकर्ड आफूसँग भएको दाबी गरेको छ ।

यो रेकर्डिङ मनिटरिङ वेबसाइट liveatc.net ​ मा पनि पोस्ट गरिएको छ । उक्त कथित रेकर्डिङमा पाइलट भन्छन्, ‘विमानका दुई इन्जिनले काम गर्न बन्द गरेको छ…. मे डे… मे डे ।’

प्रत्यक्षदर्शीका बयान:

उक्त दुर्घटनाका प्रत्यक्षदर्शी उजैर खानले एक ठूलो विस्फोटको आवाज सुनेर के भयो भनेर बाहिर दौडिएको बताए । उनले भने, ‘चारवटा घर पूर्ण रुपमा ध्वस्त भएका थिए । त्यहाँ ठूलो आगलागी भएको थियो र धुँवा आएको थियो । उनीहरु मेरा छिमेकी हुन् । म तपाईंलाई बताउन सक्दिनँ कि यो कति खतरनाक घटना थियो ।’ घटनास्थल नजिकै बस्ने डा. कंवल नाजिमले ठूलो आवाज आएपछि उनी घर बाहिर गएको र मस्जिद पछाडि कालो धुँवा निस्किरहेको देखेको उनले बताइन् ।

डा. नाजिमले उनको घर दुर्घटना स्थलभन्दा निकै नजिक भएको र आफूले मानिसहरु चिच्याइरहेको सुनेको बताइन् । उक्त दुर्घटनामा जफर मसूद पनि बाँच्न सफल भएका छन् । मसूद बैंक अफ पंजाबका अध्यक्ष हुन् जसलाई गुलशन–ए–जौहर अस्पतालमा भर्ना गरिएको थियो ।

स्रोतः बीबीसी

चर्चामा

सम्बन्धित समाचार