मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेतालाई मेरो खुलापत्र

नेतालाई मेरो खुलापत्र

  • बिहिबार, जेष्ठ ८, २०७७
नेतालाई मेरो खुलापत्र

समग्रमा बाजुराबाट राजनीति नेतृत्वमा पुुग्नु भएका सबै नेताजी लाई सादर नमस्कार ! वर्तमान विश्व कोरोना परिवेशमा यो आलेखले ठ्याक्कै मेल नखान सक्छ। सर्वप्रथम “हामी सबै कोरोना महामारीबाट बचौं र बचाऔं । ”
आज म बाजुराको सदरमुकाम मार्तडीबाट वेभमार्फत तपाइँहरुलाई पत्र लेखि पठाउँदैछु । त्यो पनि बाजुरा डेटलाईनको चल्दोफुर्दाे अनलाइन बडिमालिका अनलाइन खबर मार्फत । यसको सार तपाइँलाई उक्साउन र अतिरञ्जीत पार्न हुँदै होइन । तपाइँहरु धरातलमा रहेर समाजका निम्ति थप जिम्मेवार बन्नुहुनेछ भन्ने मात्र हो ।

सम्भवतः बाजे बजैं ,बुवा आमा र अंकल आन्टीले गरेका राजनीतिक क्रियाकलापको इतिहास तपाइँ हामीमा ताजै छ ।तसर्थ मेरो ब्यक्तीगत जीवनमा बुवा—आमा वा अंंकल आन्टी भनेर यो पत्रमा सम्बोधन गर्न कमै देख्छु । यतिवेला बाजुरामा जे जति देख्छु ,तपाइँहरु दिदीबहीनी र दाज्युभाई अनि यहाँहरुका क्याडरहरु ।
मेरो विचार पढ्दा तपाइँहरुले लान्छना लाउनुहुनेछ । तरपनि मनमनै सही हो भन्नेको पनि कमी हुने छैन । राष्ट्रीय एजेण्डा र सवालका लागि बाजुराका नेताले खेलेको भुमिका यतिबेला चर्चा गर्न चाहन्न । किनकी राजनीतिमा केन्द्रीय स्तरका नेता बाजुराले जन्माएको छ । राष्ट्रीय राजनीतिमा यहाँहरुको दह्रो उपस्थिती छ , यसमा गौरव गर्छु ।
यो अंकमा माओवादी सशस्त्र द्वन्दकालमा भएका घटनाक्रमलाई समावेश गरिने छैन । किनकी त्योपनि एक राष्ट्रीय राजनीतिक मुद्धा थियो । बाजुरामा पत्रकारिता र नागरिक आन्दोलनका सवालमा भने पछिल्ला अंकमा पस्कनेछु । समाज रुपान्तरणको प्रमुख प्रकार्यात्मक सम्बन्ध राजनीति हो । हामीले ब्यक्ती राजनीति र पद स्थानान्तरण गर्न सक्यौँ । तर, समाज रुपान्तरण गर्न सकेनौं । आजको पत्र केवल राजनीतिक सवालमा समृद्ध बाजुरा निर्माणका लागि तपाइँहरु र तपाइँका क्याडरले गरेका क्रियाकलाप र जनआकांक्षको गोलमटोल सार लेख्दै छु ।
२०४६ यता बिकास केही भएन भन्ने अर्थपनि नलगाउनु होला । सारमा विकासको गतिपनि अघिबढेको छ । तथापि स्थानीय शासन ब्यबस्थालाई अब्बल बनाउन बहुदलीय, लोकतान्त्रिक शासन ब्यवस्थालाई मर्यादित बनाउनुको सट्टा बाजुरामा भाँटे राजनीतिको उदय भयो र त्यसको परिणाम अहिले हामी भोग्दैछौं । यहाँहरुलाई थाह छ । २०४९ मा जगदीश काण्ड,२०५१मा भदौरे काण्ड , तोली काण्ड, भैसीेंकाण्ड , (बाह्रविस मा भैंसी किनेर ल्याउने गोठालोलाई बाटोमै फलानो पार्टीको भनेर कुटपिट गरियो ।) पिलुकाण्ड । चुनाव हार्दापनि वोतलमा पिसाव फेर्नु पर्ने अबस्था चुनाव जिताउनैकै लागि २०५४ सालमा मा.वि.नि. लाई सिडिओ वनाएर ल्याए पछि सिडिओ अब्दुल रहित खाँको ज्यादती , गाउँमा चुनाव पनि हार्नु गाउँबाट बिस्थापित पनि हुनु , मतपेटीका कणली फ्याक्नु , २०५४ को स्थानीय निर्वचनको चुनावमा एकछत्र मतदान गराउन नौविसमा आइते सेराला लगायतले खेप्नुपरेको गोलिकाण्ड , धिम काण्ड लाई स्मरण गरौंत । गाउमा भएका सानातिना राजनीतिक कलहका त कुरै नगरौं , विचमा भएका स्थानीय विकास अधिकारी रमेशप्रसाद पुडासैनी ,विस्नु घिमिरे, प्रकाशराज पौडेल जहिले विवादित भए । त्यसैगरी तत्कालिन जिल्ला शिक्षा अधिकारी बिरसिंह धामी , नागेन्द्रप्रसाद रेग्मी , लगायतका अधिकारी विवादित भएर गए । अन्य कार्यालयका कर्मचारी माथिको मसिनो भेदभावका हिसावै छैन ।
२०५६का उम्मेदवार स्वयं आफैलाई मतदान गर्न नपाउने अबस्था । त्यसैगरी एस एल.सी दिएर आउने वित्तिकै भ्रष्टाचारको आरोपमा तत्कालिन प्रजिअ देबिराम भण्डारी माथि भएको हमला ,सिडिओ क्वाटर जलाउनुु , छिटो सडक निर्माण गर्न बाजुरा बन्दको सिभिल संघर्ष र बीचमै तुहाइएको आन्दोलनको उपलब्धी , बुढिगंगामा बेलीब्रिज मागका लागि मिडीया मार्फत स्वतन्त्र नागरिक दवाब गरिरहेको बेला राजनीतिक घुसपैठमा जिल्ला प्रशासान कार्यलय जलाउने काण्ड लगायतका पछिल्लो समयमा कर्मचारीलाई आस्थाकै आधारमा काखा र पाखा गर्नु । शुरक्षामा तैनाथ शुरक्षाकर्मीलाई अदालत परिसरमै कुटपिट गर्नु ,जनप्रतिनीधिले कर्मचारीलाई आफ्नो घर बोलाएर थर्काउनु, निर्देशित गर्नुले ब्यक्तीबादी सोचको प्रकास्टा हामी झेलीरहेका छौ. । केही सथानयि तहबाहेक ठेकापट्टामा राजनीतिक मिलोमतो गरी “आफ्नो हात जगन्नाथले ” स्थानीय तहको समृद्धी कहिले हुन्छ ? त्यसको हिसाब को ले गर्ने ?
अझ भनौं कोभिड १९को विश्वमहामारीले प्रताडित भएको बेला जिल्लाको बस्तुस्थिती बुझ्न अनुगमन गर्न जिल्लाका अधिकारीहरु फिल्ड जान्छन् ।तिनीहरुलाई राजनीतिक प्रतिशोधको आशंकामा वीचवाटो बाट फर्काइन्छ। ठिक छ , कुनै कर्मचारीले दलीय राजनीति गरेको प्रमाण फेलापरेमा स–प्रमाण सहित सम्बद्ध निकायमा गए त हुन्थ्यो नि । खै किन हो ? सत्ताको आडमा कर्मचारी प्रशासन निस्तेज पार्दै हुनुहुन्छ ?यसले हामी कुन कालखण्डमा छौं भन्ने संकेत गर्दछ । ? यि त केवल प्रतिनीधि घटना मात्र हुन् ।
अनि केही दिन यतामात्र बाजुरामा कार्यरत कर्मचारीलाई आस्थाकै भरमा अखिल , नेविसँघका विद्यार्थीको प्रयोग भयो । अनि एन्जीओको छाता संगठन ,गैसस महांसँघ, प्रारम्भिक सहकारी संस्था अनि कर्मचारीको प्रतिवाद लगायत सिडिओ लाई दिएका ज्ञापनपत्र ,सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र कर्मचारीको सामुहिक ऐक्यबद्धतापत्र लगायतका तमाम घटनाले अबको बाजुरा कता तिर मोड्दै छौं ? एकपटक सोचौं, कुन विकासको मोडेलमा छौं र कुन स्थानीय , राष्ट्रीय सवाल उठान गरिएका छन् र ! माथिका प्रतिनीधिमुलक घटनाक्रमले हाम्रो स्थान कहाँ पुु¥याएको छ ?
हो, लोकतन्त्रमा विरोध आवस्यक छ । तर, आस्थाकै आधारमा विरोध ! राजनीतिक प्रतिशोध साँट्नका लागि विरोध ! तपाइँका बाजुराका गतविधीले कतिसम्म राष्ट्रीय राजनीतिलाई केन्द्रित वनाएको छ ? केवल राजनीतिक सौदावाजीमा नागरिकलाई भुमरीमा फाल्नु किमार्थ राम्रो हैन ।
यो पनि नसोच्नुहोला विरोध गर्दै गर्नुहुन्न त्यो हुंदै हैन । तर विरोधका पनि सिमा हुन्छन् , प्रक्रियाहुन्छन् ।
सारमा हाम्रो राजनीतिक चेतनास्तर कति छ भन्ने देखाउँछ ?अनि अर्काे मुख्य कुरा कर्मचारी वृत्तबाट सुनिन्छ । बाजुरामा जागीर खान जानुभन्दा त बरु राजिनामा दिन्छु ।बिडम्वना ! बाजुरा नआएरै राजिनामा लेखेका घटना तपाइँ हामीलाई जानकारी छैन र ?! जिल्लामा आएर फर्केको कर्मचारीले किन राजनीतिक कर्मीको उछिटो काट्छन् ? तिनीहरुलाई काम गर्ने वातावरण किन दिईदैन ? हाम्रै सेवा गर्न आएका कर्मचारीबाट हामी किन तिरस्कृत हुन्छौं त !
ल भन्नुस यदि भ्रष्ट कर्मचारीनै बाजुरा आउने तपाइँको आभास हो भने अहिले सम्म अदालत र अख्तियारको खोरमा भरिभराउ हुनुपर्ने हैन ? के बदमासी गर्ने कर्मचारीलाई कुटपिट ,लाल्छना र कालोमोसो लगाउदैमा न्याय पाएको अनुभुति हुन्छ ? त्यसैले कानुनी राज्यको उपहास हामीबाट हुनुहुंदैन । हुन दिनुपनि हुंदैन ।

सैदान्तिक र प्रयोगात्मक रुपमा “ समाजलाई कैंची कटानमा हैन सियो बनेर उन्नुहुने छ । ”समग्र कर्मचारी बृत्तलाई किन राजनैतिक घेराबन्दी गर्नुहुन्छ ? अनि तपाईहरुको राजनीति कर्मचारी माथि अर्जुन दृष्टीका साथ ह्यय र प्ययमा किन लाग्नुहुन्छ ? सकिन्छ भने राष्ट्रीय राजनीतिमा मुद्धा बनाउनुहोस् ,जसको सरकार आयो उसैको कर्मचारी । लोकतन्त्रमा प्रेस र मानवअधिकार रक्षा प्रमुख सर्त हुन् । हो त्यसभित्र पर्छ ट्रेड यनियन राईटस । त्यसको पनि ख्याल गर्नु परेन ?

बाजुरामा खुब रोइला सुनिन्छन् । जहिले नि खुुब राजनीति चलेको छ रे । राजनीति चलिरहन्छ । तर, यहाँ राजनीतिका नाममा तिकडम बढी भएको आवास भईरहेको छ । राष्ट्रीय सवाल र जिल्लाको सर्वाङ्गीण विकासका सावलमा मुद्धा उठान गर्नु जायज हो । म सम्मान गर्छु । तर हेक्का गर्नुस् बाजुरामा नयाँ कर्मचारी आउने बित्तिकै कुन पार्टीको हो ? विशेष गरी नेकपाको आस्थावान् होकी,नेपाली काँग्रेसको आस्थावान होकी ? पहिले त्यो हेरिन्छ । अनि होटेल पसलका चिया गफमा पनि यो त हाम्रो पार्टीको रैछ । माथिबाट फलानाले पठाएको । त्यो पनि यो गुटको हो है । त्यसलाई त अब ठेगान लाउनुपर्छ रे ! अनि कर्मचारी त लोकसेवाबाट छनौट भएर आएको राष्ट्रको बौद्धिक ब्यक्तीत्व हो । उसले तपाइँ हामीले गरेका हर्कत थाहापाएर आस्थावान दलमा ओत लाग्नु स्वभाविक हो । हामीमा आत्मसंयम छैन । त्यसैले सारमा म श्रीमद्भागवत गिता सार उद्धरण गर्न चाहान्छु । श्रीमद्भागवत् गीताको छैटौं अध्यायमा भनिएको छ । आत्मसंयम् योग ।
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्वि्शिष्यते ।।

अर्थात जसले निष्कपट मित्र, प्रिय मित्र, तटस्थ, मध्यस्थ, ईष्र्यालु, शत्रु, धार्मिक र पापी मान्छेलाई बराबर देख्छ, त्यो नै विशिष्ट व्यक्ति हो । हरेक मानिसका जीवनमा परिवारका मानिसबाहेक यही आठ प्रकारका हुन्छन् । जोसँग समभाव छ, जसले परम मित्रलाई गर्ने व्यवहार र भयानक शत्रुलाई गर्ने व्यवहार उस्तै उस्तै हुन्छ भने ऊ नै विशिष्ट हो । जो धार्मिक व्यक्ति र पापी मान्छेलाई देख्दा कुनै भेदभाव राख्दैन त्यो विशिष्ट हो । जो कसैको पक्ष या विपक्षमा नउभिएर तटस्थ रहन्छ त्यो व्यक्ति विशिष्ट व्यक्ति हो ।
हेर्नुस मनलाई जित्नका लागि मन नै सबै भन्दा ठूलो मीत्र हो भने नसक्नेका लागि मन नै सबैभन्दा ठूलो शत्रुु हो । एउटा मानिसले अर्को मानिसलाई हेर्ने दृष्टीकोण नै फरक बनाएका छौं । हाम्रो मन नै उदार छैन । उसलाई रिसरागले हैन गुण र दोषले ले छुट्याउने कला हामीमा हुनुपर्छ ।आत्मसंयम बन्नै पर्छ ।
यसै विषयलाई लिएर म अझ राजनीतिमै ठोकिन्छु । हामी यति जडशुत्रबादी छौं किनकी फलानाको घरमा बच्चा जन्मियो भने त्यहाँ त फलाना पार्टीको संख्या बढ्यो रे , जन्मसिद्ध रुपमा उसलाई दलको लोगो भिडाईन्छ । राजनीतिक आस्था नमिल्यो भने मठमन्दीरमा सामुहिक पुजा बर्जित, रोपाइँ बर्जित, जन्तब¥यात बर्जित , पानी पँधेरो बर्जित ! तसर्थ हामी समृद्ध समाज निर्माण गर्दै छौं कि भत्काउँदै ?

तपाइले राजनीति गर्दा गर्दै हुर्केको ऊ मानिस अहिले साउदी कतारको घाममा तड्पीएको छ कालापहाडमा छ । तर, यहाँ नेताजीहरु उसलाइ भोटरलिष्टमा गन्न छोड्दैनन् । नेता मान्छेमा समभाव छैन । मैले तपाइँको सम्मान गरेपछि न तपाईले मेरो सम्मान गर्नु हुन्छ । मैले जहिलेपनि तपाइँलाई तिरस्कार गरिरहने अनि तपाइँले मलाई प्रभु त भन्नुहुन्न नि ।
विवेकशील मानिसले हरेक व्यक्तीको एक्टीभिटी र कनेक्टीभिटीलाई अवलोकन गर्दछ । अनि त्यसपछि उसले क्रिया प्रतिक्रिया दिन्छ । तर्क कुतर्कको ख्याल गर्दछ । त्यसैगरी समाज शास्त्रका पिता प्लेटो भन्दछन् , “पहिले आफुु को हुँ बुझ, त्यसपछि समाजको अध्ययन गर, अनि प्रकार्यान्त समाजलाई संरचित गर ”।

कर्मचारीका सन्दर्भमा ः राजनीतिमा दुध कुण्ड नहाएका कर्मचारी विरलै भेटिन्छन् । पर्दाभित्र बसेर खुसुुखुसु नगर्नु होला । बाजुरा बसेर गएका कर्मचारी अधिकारीहरुले यहाँको भुगोललाई अति माया गर्छन् । तर, राजनीति वितृष्णाका रोइलालाई किन घृणा गररे निस्किन्छन् !? “नबिराउनु न डराउनु ।” यो जिल्ला आफ्ना कार्यकर्ता कर्मचारीले हिनामिना गरेको तथ्य प्रमाण आएपनि हेलिकिप्टरमा चढाएर पठाउने ।रातारात भगाउने । ओली गाउँ खाने बाघ दानीगाउँपनि पल्किन्छ थाह छैन मात्र सरुवा गरि पठाउने यति हो सजाय ? हत्या अभियोगकालाई पार्टी प्रवेश गराएर मुद्धा जिताउने । अर्को दलको आस्थाका कर्मचारीले सानो केही गरे ढुंगामुडा बर्साउने । घरमा बोलाएर थर्काउने पुरानै सनातन भएको छ ।

यसै पत्र मार्फत तपाइँ सरकारी कर्मचारीलाई अनुरोध ! तपाइँहरु ढुक्क भएर नियमानुसार काम गर्नुृहोस् । राप ,दाप र रवाफलाई तपाइको जुत्ताले कुल्चेर दवायर राख्नुस् । सीर्फ नागरिकको काममा तल्लिन हुनुहोस् । नेताहरु ! नातागत हैन, नीतिगत बन्नुस आत्मसंयम् हुनुहोस् । “चोल्लाइ त कट्टटा तैं रितो होल्लाई ।” अस्तु…….. ।
माथिउलेखित सन्दर्भहरु बाजुरा डेटलाईनबाट पत्रकारिता गर्दाका अनुभव र निजी विचार हुन् ।
दयाराम पण्डित
संस्थापक सभापति
नेपाल पत्रकार महासंघ बाजुरा—बझाङ्ग शाखा ।

चर्चामा

सम्बन्धित समाचार