शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाँझो जग्गामा खेती गर्नेलाई प्रतिरोपनी तीनहजार इनाम

बाँझो जग्गामा खेती गर्नेलाई प्रतिरोपनी तीनहजार इनाम

  • शुक्रबार, जेष्ठ २, २०७७
बाँझो जग्गामा खेती गर्नेलाई प्रतिरोपनी तीनहजार इनाम

गोरखा : लगातार दुईवर्ष बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई बारपाक सुलीकोट गाउँपालिकाले प्रतिरोपनी तीनहजार रुपैयाँ इनाम दिने भएको छ । कृषि व्यवसायबाट स्वरोजगारी सिर्जना गर्ने, सम्भावित भोकमरी तथा कुपोषण उन्मूलन गरी खाद्य सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले बाँझो जग्गा उपयोग गर्ने नीति लागु गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

वैशाख २४ गते सम्पन्न कार्यपालिकाको बैठकले अनुमोदन गरेको ‘बाँझो जग्गा उपयोग अनुदान कार्यविधि २०७७’ तत्काल लागु गर्ने अध्यक्ष भट्टले जानकारी दिए । सो कार्यक्रम कृषि शाखाले संयोजन गर्नेछ । वडा कार्यालयको सहयोगमा शाखाले सात दिने सूचना जारीगरी बाँझो जग्गाको लगत संकलन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । बाँझो रहेको जग्गाको जानकारी वडा कार्यालयमा नगराउनेलाई प्रतिरोपनी दुईसय रुपैयाँका दरले जरिवाना गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

लगातार बाँझो रहेको जग्गामा खेती गर्ने जग्गाधनी, निजको अंशियार तथा सो जग्गामा भाडामा लिएर खेती अन्य व्यक्ति वा फर्मलाई समेत अनुदान दिने व्यवस्था गाउँपालिकाले गरेको छ । प्रतिरोपनी चारसय रुपैयाँदेखि पाँचसय रुपैयाँसम्ममा नबढ्ने गरी गाउँपालिकाले जग्गाको भाडासमेत निर्धारण गरेको छ ।

जग्गाधनीले पेश गरेको निवेदन, बिल भरपाई, खेती गरेको जग्गाको फोटो र अनुगमन समितिको प्रतिवेदनको आधारमा भुक्तानी दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । ‘प्रोत्साहन रकम लिन चाहने किसानले गाउँपालिकाले आव्हान गरेबमोजिम छनौट प्रक्रियामा सहभागी हुनुपर्नेछ’, उनले भने, ‘बाँझो जमिनमा खेती गर्न चाहने कृषकले वडा कार्यालयले जारी गरेको सूचनाको म्यादभित्र निवेदन दिनुपर्नेछ । किसान छनौट गर्दा लकडाउनका बेला राहत पाएका किसानलाई पहिलो प्राथमिकता दिइने छ । त्यस्तै असंगठित क्षेत्रमा रोजगार गुमाएका किसान वा बिपन्न बर्गलाई पनि प्राथमिकता दिइनेछ ।’ छनौट भएका किसानको खाद्य र तरकारी बालीलाई प्रतिरोपनी तीनहजार रुपैयाँ, मसला बालीलाई प्रतिरोपनी दुईहजार पाँचसय र फलफूल बाली लगाएमा प्रतिरोपनी दुईहजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिने उनले बताए । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार