काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुभञ्ज्याङबाट मानसरोवर जाने लिङ्क रोड उद्घाटन गरेको सन्दर्भमा वक्तव्य जारी गरेर आपत्ति प्रकट गर्ने भएका छन् । पार्टी (नेकपा)का नेतासँगको परामर्शपछि प्रधानमन्त्री ओलीले मुख खोल्न लागेका हुन् ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तेस्रो वरीयताका नेता झलनाथ खनालसँग शनिबार दिउँसो र साँझ छुट्टाछुट्टै छलफल गरेका थिए । नेताहरूको सुझावपछि प्रधानमन्त्रीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न लागेको पार्टीका सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालबीच साढे दुई घण्टा छलफल चलेको थियो । “भारतले लिपुलेकबाट बाटो खोलेको विषयमा लामै कुराकानी भयो । वक्तव्यको मस्यौदा तयार भएको छ ।
खनालका अनुसार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि विज्ञप्ति निकालेर विरोध जनाउने भएको छ । छिटै दुई देशबीच प्रधानमन्त्रीस्तरीय वार्ता गरेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनेगरी वक्तव्य जारी गर्न लागेको उनको भनाइ छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह शुक्रबारै लिङ्क रोडको उद्घाटन गरेको भए पनि सरकारले शनिबार वक्तव्य निकालेर धारणा सार्वजनिक गर्न लागेको हो । परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति निकाले खेद प्रकट गरिसकेको छ ।
नेपाली भूमि लिपुलेकको बाटो भएर मानसरोवर जाने बाटो खोलेपछि देश आन्दोलित बनेको छ । राजनीतिक दल, नागरिक समाज र स्वतन्त्र बुद्धिजीवीहरूले विरोध जनाइरहेका छन् । पार्टीका नेता कार्यकर्ताहरू सडकमै विरोध प्रदर्शनमा उत्रिए पनि नेकपाले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको थिएन ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतको पछिल्लो कदमको निन्दा गरेका थिए । मुलुक कोरोनाविरूद्ध लडिरहेका बेला भारतले सीमा अतिक्रमणको कृत्य दोहोर्याएको भन्दै सरकारको ध्यानकर्षण पनि गराएका थिए ।
“भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सिमा क्षेत्रको नेपाली भूमिमा सडक बनाइ हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरूद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विषयमा सरकारले तु कदम चालोस्,” उनले ट्विट गर्दै भनेका थिए ।
पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि सार्वभौमिकता र अधिकारका लागि आवाज बुलन्द गर्न अपिल गरेका छन् ।
विदेश मामिला विभाग उपप्रमुख विष्णु रिजालले लिपुलेक–कालापानी नक्सामा राखेको विषयमा दुई देशबीच वार्ताको प्रतीक्षा भइरहेका वेला मानसरोवरसम्म जाने बाटो खोलिएको भन्दै गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका थिए ।