• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा ग्यास चुहावट हुँदा कैयौँको मृत्यु, सयौं बिरामी

भारतमा ग्यास चुहावट हुँदा कैयौँको मृत्यु, सयौं बिरामी

  • बिहिबार, बैशाख २५, २०७७
भारतमा ग्यास चुहावट हुँदा कैयौँको मृत्यु, सयौं बिरामी

भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनमा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बीबीसीमा उल्लेख छ।

प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ। दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन्।

स्थानीय समय अनुसार बिहान ३ बजे एक पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो। बीबीसी हिन्दीकाअनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ। आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारी राजेन्द्र रेड्डीले बताएअनुसार चुहिएको ग्यास स्टाइरिन हो । स्टाइरिन ग्यास रङ्विहीन अथवा हल्का पहेँलो हुन्छ । यो प्रज्ज्वलनशील हुन्छ ।

पोलिस्टिरिन प्लास्टिक र रेजिन बनाउन प्रयोग गरिन्छ । यो ग्यास सामान्यत रेफ्रिजरेटरमा राख्ने गरिन्छ । कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ ।

अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्। ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए । ग्यासको मुश्लो तीन किलोमिटर वरिपरिसम्म फैलिएको छ भने अधिकारीहरूले प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर अन्यत्र लान थालेका छन्।

एकजना वरिष्ठ जिल्ला अधिकारीकाअनुसार ग्यास चुहावट रोक्ने प्रयत्न सफल हुन सकेको छैन। तर स्थानीय समाचार एजेन्सीहरूले अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाएका छन् ।अधिकारीहरूले मानिसहरूलाई भिजेको कपडाले आफ्नो अनुहार छोपेर आफूलाई सुरक्षित पार्न भनेका छन्।

चर्चामा

सम्बन्धित समाचार