• होमपेज
  • समाज
  • जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

  • बुधबार, बैशाख २४, २०७७
जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले मे ३१ अर्थात जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले अन्‍नपूर्णलाई बताए। उनका अनुसार सीमा नाका पनि जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। त्यस्तै सरकारले बैशाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ।

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरेको थियो। मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको थियो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको २३ औं बैठकमा कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्ड अनुसार निरन्तरता दिँदै कोरोना नियन्त्रणमा अहिले भएका सबै प्रयासलाई यथावत राख्दै संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको थियो।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो।

लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहनेछन्। सरकारले घरबाहिर निस्किनेलाई थप कडाइ गरिने जनाएको छ। कोरोना संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कडाइपूर्वक कारबाही गर्ने निर्णय यस अघि नै गरिसकेको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार