काठमाडौं । बैठक माग गर्ने स्थायी कमिटी सदस्यले पार्टी केपी शर्मा ओलीले पार्टी अध्यक्ष या प्रधामन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान राख्ने भएका छन् । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा अलग्गै भेला गरेर उनीहरूले पार्टीमा एक व्यक्ति एक पदको वैधानिक अवधारणालाई अघि बढाउने भएका हुन् ।
स्थायी कमिटी बैठकको माग गर्ने २० जना सदस्यहरूको मङ्गलबार सामूहिक बैठक बसेको थियो । बैठकले मूलतः अध्यादेश प्रकरण, कोरोना महाव्याधि र एक व्यक्ति एक मुख्य जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टीका हरेक निकायमा लागु गर्न दबाब दिने निचोड निकालेको बताइएको छ ।
“पार्टीमा एक व्यक्ति एक पदको वैधानिक व्यवस्थालाई तलदेखि माथिसम्म लागु गर्नुपर्छ । हामीले बैठकमा यही कुरा उठाउँछौं,” भेलाको पुष्टि गर्दै नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बाह्रखरीसँग भने ।
“पार्टी एकतालाई बचाउने कुरा भयो । हामी प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई भेटेर पनि आफ्नो कुरा राख्छौं । अहिले पार्टी फुट्नु हुँदैन । दुवै छाड्नुस् भन्दा कि उहाँ बस्नु भएन, कि हामी बस्नु भएन । उहाँले पार्टी अध्यक्ष कि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ । समस्याको जड प्रधानमन्त्री नै भएकाले उहाँले नै निकास दिनुपर्छ,” भेलामा सहभागी अर्का हस्ताक्षरकर्ताले बताए ।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि पार्टीभित्र एक व्यक्ति एक पद (मुख्य जिम्मेवारी) प्रभावकारी हिसाबले लागु गर्नुपर्ने बताए ।
“एक व्यक्ति एक पद भन्ने कुरा आइराखेको छ । हिजोदेखि नै उठिरहेको छ । अहिले मिलेर जाने कुरा आयो नि त, प्रधानमन्त्रीले गल्ती महसुस गर्दै आत्मालोचना गरिसकेपछि केही चिजहरू त मिलाउनुपर्यो,” गजुरेल भन्छन् ।
एक व्यक्ति एक पदको कुरा लागु गर्नुपर्छ भन्दा प्रधानमन्त्री तरङ्गित हुन पुगेको उनी बताउँछन् । “एक व्यक्ति एक पदको तरङ्ग हो । मिलेर जानुको विकल्प छैन,” उनले भने ।
प्रधानमन्त्री ओली सहमतिबाट पछाडि हटे राजनीतिक कोर्ष अर्कैतिर जाने गजुरेलको निष्कर्ष छ । सहमतिको पालना नै अहिलेको निकास भएको उनको मान्यता छ । हिजोको भेलामा कोरोनाको महाव्याधिमा सरकारको काम प्रभावकारी नभएको निष्कर्ष निकालिएको थियो ।
“कोरोना महाव्याधिको दीर्घकालीन असर पर्नेवाला छ । सरकार हचुवातालमा हिँडिरहेको छ । लकडाउन कारण असर परेकालाई के गर्ने ? बेरोजगारी समस्या झन् चर्केर आउनेवाला छ त्यसलाई के गर्ने ? खेतीबालीको मौसम सुरुभयो, बीउ, बीजन, मल चाहियो, कृषि उपकरण, औजार कहाँबाट ल्याउने ? स्थायी कमिटीको बैठकमा यिनै विषय उठाउँछौं,” गजुरेलले भने ।
दोस्रो, अध्यादेश प्रकरण बैठमा प्रखर रूपमा उठाइने गजुरेलले बताए ।
“प्रधानमन्त्रीले अध्यादेश किन ल्याउनुभयो ? गल्ती थियो कि, अथवा ठीक हो कि ? प्रधानमन्त्रीले अहिले पनि महसुस गर्नुभएको छैन । उहाँहरूले अहिले पनि साथीहरूले बुझेनन् भनिराख्नुभएको छ, त्यसो भए उहाँले बैठकलाई बुझाउनुपर्छ,” गजुरेल भन्छन् ।
अध्यादेशबारे प्रधानमन्त्रीको चित्तबुझ्दो जवाफ आउनुपर्ने गजुरेलको मत छ ।
स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकमा कसरी अगाडि बढ्ने, के कुरा उठाउने भनेर सामान्य छलफल भएको बताए ।
“स्थायी कमिटीको बैठक हामीले माग गरेका हौं । हामी मागकर्ता भएपछि विषयहरू लैजानुपर्यो । त्यही स्थायी कमिटी बसेका थियौं । छलफल जारी छ,” उनले भने ।
एक व्यक्ति एक पदको उठानकर्ता माधवकुमार नेपाल हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रदेश इन्चार्ज पनि बनाइएपछि उनले अलग्गै भेला राखेर दोहोरो जिम्मेवारी बाँडफाँड नमान्ने बताएका थिए ।
गत भदौ ३ गतेको नोट अफ् डिसेन्टमा पनि नेपालले एक व्यक्ति एक पदको मान्यता अघि सारेका थिए । २०७५ पुसमा बसेको स्थायी कमिटी बैठकमा पनि यो कुरा प्रखर रूपमा आएको थियो । त्यतिबेला वामदेव गौतमले दुई अध्यक्षको कार्यविभाजन हुनुपर्ने भन्दै एक व्यक्ति एक पदको अवधारणा अघि सारेका थिए ।
दुई अध्यक्षबीच असमझदारी बढेपछि पुनः एक व्यक्ति एक पदको माग ब्युँतिएको हो ।
नेकपाको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । स्थायी कमिटी बैठकको तयारीका लागि बुधबार सचिवालय बैठक बोलाइएको छ ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच फेर मनमुटाब बढेको छनक पाएको स्थायी कमिटी सदस्य बताउँछन् । मंसिर ४ गतेको सचिवालयको निर्णयबारे प्रस्ताव तयार पार्ने सन्दर्भमा उनीहरूबीच मत बाझिएको स्थायी कमिटी सदस्य बताउँछन् ।
“अध्यक्ष ओली आफूमा निहित कार्यकारी अधिकार प्रचण्डलाई दिन चाहिरहनुभएको छैन । शनिबारको सचिवालय बैठकमा त्यही समझदारी भएको थियो । सहमतिअनुरूप प्रस्ताव तयार पारौं भन्दा उहाँ पुरानै अवस्था फर्कनुभयो, हिजोदेखि वातावरण धमिल्लिएको छ,” एक सदस्यले बाह्रखरीसँग भने । #बाह्रखरी