धनगढी : कैलालीमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ। लकडाउनपछि अपराधिक गतिविधिमा कमी आएपनि आत्महत्याको क्रम भने लकडाउनमा पनि रोकिएको छैन्।
जिल्ला प्रहरी कार्यालय कैलालीक अनुसार लकडाउनमा पनि दैनिक रुपमा आत्महत्याका घटना सार्वजनिक भईरहेका छन्। सरकारले कोरोना संक्रमण घटाउनका लागि जारी गरेको लकडाउनपछि मात्रै कैलालीमा २९ जनाले आत्महत्या गरेका छन्। २५ जनाले झुण्डिएर र बाँकी चार जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले शहरीकरणले पनि आत्महत्याको दर बढाएको बताए। ‘शहरमा जिविका चलाउन सहज नहुने भएकाले सोही कारणले निराशा उत्पन्न हुने र आत्महत्यालाई रोज्ने समस्या बढेको छ,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्चालको गलत प्रयोगले पनि विभिन्न समस्यामा फस्ने र सोही समस्याबाट उम्किन नसक्दा आत्महत्या रोज्ने समस्या समेत बढेको छ।’
युवाहरु भने लागुऔषधमा फसेर विभिन्न तनाव झेल्न नसक्दा आत्महत्या रोजिरहेको उनको भनाई छ। पहाडी जिल्ला र ग्रामिण क्षेत्रको तुलनामा आत्महत्या बढि सहरमा हुनुको अर्को कारणका रुपमा प्रहरीले अवैध सम्वन्ध पनि रहेको जनाएको छ।
शहर बजारमा प्रेममा धोका पाएर पनि धेरै युवायुवतीहरुले आत्महत्याको बाटो रोजेको पाईएको प्रहरी कार्यालयले जनाएको छ। यस्तै शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।