शुक्रबार बाँकेमा कोरोना पुष्टि भएका ६० वर्षीय व्यक्ति मस्जिदमा पढाउने गुरू भएको खुलेको छ। उनी ‘मौलाना’ वा ‘इमाम’ रहेको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ डिएसपी रोड निवासी उनले रोजा सुरू हुनुभन्दा पहिला अर्थात् वैशाख १३ गते अघिसम्म स्थानीय मस्जिदहरूमा पढाउँदै आएका थिए। उनले पढाउने मस्जिद कुन थियो? भन्ने कुरा भने खुलाइएको छैन। स्थानीय प्रशासनले बाँके जिल्लास्थित धार्मिक स्थलहरूमा बस्नेहरूलाई खोजेर स्वाब परीक्षण गर्ने क्रममा ६० वर्षीया संक्रमित भेटिएका हुन्।
बिहीबार स्थानीय मस्जिदमा बस्नेमात्रै ११ जनाको स्वाब परीक्षण गरिएकाहरूमध्ये उनमा मात्रै कोरोना पुष्टि भएको हो।यो बीचमा बागेश्वरी मन्दिरमा बस्नेहरूको पनि स्वाब परीक्षण गरिएको छ। संक्रमित धर्मगुरू (मौलाना वा इमाम) ले भने विगत दुई महिनादेखि आफू नेपालगञ्ज बाहिर नगएको दाबी गरेको स्रोतले सेतोपाटीलाई बतायो।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले संक्रमित व्यक्ति यो बीचमा आफैं भारत नगए तापनि मदरसामा पढ्न आउनेहरूका कारण उनलाई संक्रमण भएको हुनसक्ने आशंका व्यक्त गरे। उनले बिरामीको अवस्था सामान्य रहेको र अहिले उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको कोरोना विशेष अस्पातलको आइसोलेनमा लैजान लागेको जानकारी दिए।
डा. थापाले भने,‘हामी बाटोमै छौं र उहाँको अवस्था अहिलेसम्म एकदमै सामान्य छ।’बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले हाल आफूहरू ती धर्म गुरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजीमा लागेको जानकारी दिए।उनले संक्रमित व्यक्तिले यो बीचमा रुपैडिहा आसपासबाहेक अन्यत्र नगएको भन्ने दाबी गरेको जानकारी दिए । यसबीच जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै औषधि पसलबाहेक सम्पूर्ण बजार बन्द गर्न निर्देशन गरेको छ। यसअघिसम्म नेपालगन्जमा बिहानदेखि बेलुका ४ बजेसम्म हरेक दिन लगभग सबै पसल खुल्ने गरेका थिए। #सेताेपाटी