• होमपेज
  • देश
  • लकडाउन कहर: सुत्केरी हुन लागेकी श्रीमती स्याहार्न हिँडेका सुरज हिउँमै अड्किए १० रात

लकडाउन कहर: सुत्केरी हुन लागेकी श्रीमती स्याहार्न हिँडेका सुरज हिउँमै अड्किए १० रात

  • शुक्रबार, बैशाख १९, २०७७
लकडाउन कहर: सुत्केरी हुन लागेकी श्रीमती स्याहार्न हिँडेका सुरज हिउँमै अड्किए १० रात
वैशाख ७ गतेदेखि हिउँमा अड्किएका सुरजलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। तस्बिर: प्रकाश सुनदासको फेसबुकबाट।

वैशाख ६ गते लकडाउन भएको २६ दिन बितिसकेको थियो। रसुवागढी  हाइड्रोपावरमा काम गर्ने ३३ वर्षका सुरज तामाङको मनमा बेचैनी थियो।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ मा उनकी श्रीमती दुई जिउकी थिइन्। उनी सुत्केरी हुने दिन नजिकिँदै थियो तर लकडाउन खुल्ने कुनै छाँटकाँट थिएन। श्रीमती सुत्केरी भएपछि स्याहार्नुपर्छ भन्ने ठानेर  सुरजले हिँड्दै घर जाने योजना बनाए। हिमालको काखैकाख कस्सेर हिँडे उनी ४ दिनमा घर पुग्थे। घरमा फोन गरेर उनले आफू हिँड्दै आउन लागेको सुनाए।

उनी हिँडन आँटेको बाटो बाह्रैमास चल्ने खालको थिएन। हिउँ पर्दा पुरिइहाल्थ्यो। वैशाख ७ गते पनि हिउँ पर्‍यो। जताततै सेताम्य हिउँमा उनले सिन्धुपाल्चोकतिर जाने बाटो पहिल्याउन सकेनन्, हिउँमै हराए। मोबाइलमा ब्याट्री सकियो। लाग्नै छोड्यो।

उता घरमा सुर्ता भयो। घर आउन हिँडेको छोरो सम्पर्कविहीन भएपछि उनका बुवाले गाउँपालिका अध्यक्षलाई खबर गरे।‘१० गतेतिर उनका बुवाले छोरा हराएकाले खोजिदिन पर्‍यो भने, हामीले रसुवाका जनप्रतिनिधि र प्रशासनसँग उनलाई खोजिदिन आग्रह गर्‍यौं,’ बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले भने,‘तर एक सातासम्म पनि केही खबर आएन।’

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार हिउँमा फसेपछि सुरज हिँड्दाहिँड्दै ओडारमा पुगे। लामो यात्रामा हिँडेका सुरजले सातु र चाउचाउ बोकेका थिए। त्यही खाए। झोलाभरि बोकेका सबै लुगा लगाए। १७ गते हिउँ पर्न रोकिएपछि आफू फेरि हिँड्न थालेको उनले प्रहरीलाई बताएका छन्।

‘नदीको किनारैकिनार हिँडे भने कहिँ पुगिन्छ होला भनेर हिँडे,’ उनले प्रहरीलाई भनेका छन्। नदीको किनारै किनार हिँड्दा उनी एक सानो होटलमा पुगे। त्यो नुवाकोटको दुप्चेश्वर गाउँपालिका- १ झ्याङफेदी भन्ने ठाउँ थियो।

उनले आफ्नो कहानी सुनाएपछि होटलका मालिकले प्रहरीलाई खबर गरिदिए। उनी भेटिएको खबर रसुवा हुँदै बलेफीसम्म पुग्यो। गाउँपालिका अध्यक्ष क्षेत्री र नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याउने तयारी गरे।

‘तर बिहीबार उनी बसेको ठाउँसम्म हेलिकप्टर जान सक्ने अवस्था भएन,’ क्षेत्रीले भने,‘आज बिहान मनाङ एयरको हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याएर आयौं।’ क्षेत्रीका अनुसार सुरजको अहिले नयाँबानेश्वरस्थित सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

‘उसको घुँडाभन्दा मुनि खुट्टा र हातमा समस्या छ, मुखमा पनि घाउ छ,’ क्षेत्रीले भने,‘तर डाक्टरहरूले उनको अवस्था खतरामुक्त भएको बताएका छन्।’ क्षेत्रीले सुरजलाई उद्धार गर्न लागेको हेलिकप्टरको खर्च उनी काम गर्ने कम्पनीलाई तिराउने तयारी भइरहेको बताए। सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार