तीनवटा कोरोनाको पोजेटिभ नतिजा नेगेटिभ देखिएपछि जनकपुरमा रहेको पिसिआर परीक्षण बन्द हुने भएको छ। प्रदेश-२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पोर्टेबल पिसिआर मेसिनले पोजेटिभ नतिजालाई पनि नेगेटिभ देखाइदिँदा थप जोखिम बढेको भन्दै बन्द गरिएको जानकारी दिए।
मंगलबारै रौतहटका दुई जना कोरोना संक्रमित युवकको जनकपुरमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आयो।
यसअघि पनि सर्लाहीका कोरोना संक्रमित १४ वर्षीय किशोरको जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएको थियो। उनको पनि काठमाडौंमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरियो।
सर्लाहीका किशोरको गलत नतिजा आएदेखि नै पिसिआर मेसिनको गुणस्तरमा प्रश्न उठेको थियो। गत शनिबारदेखि नै मेसिनबाट परीक्षण अस्थायी रुपमा बन्द गरिएको थियो। मन्त्री साहले अब भने मेसिनबाट परीक्षणको काम पूर्ण बन्द गरिएको बताए।
उक्त मेसिनबाट हालसम्म सयवटा नमूना परीक्षण गरिएको छ। जसमा सबैको नतिजा नेगेटिभ आएको थियो। यसरी नेगेटिभ आएका अन्य व्यक्तिमा पनि निगरानी बढाइएको र कुनै लक्षण देखिए तत्काल सम्पर्क गर्न भनिएको छ।
योसँगै प्रदेश-२ मा स्वाब परीक्षणका लागि काठमाडौं अथवा प्रदेश-१ को धरान वा विराटनगर पठाउनुपर्ने झन्झट ब्युँतिएको छ।
सरकारले चीनबाट ल्याएका पाँच थान पोर्टेबल पिसिआर मेसिनमध्ये एउटा जनकपुरमा पठाएको थियो। बाँकी चार थान बुटवल, पोखरा, सुर्खेत र धनगढीमा छ। त्यहाँ पनि ठूलो आरटी पिसिआर मेसिन जडान भएसँगै यो पोर्टेबल पिसिआर मेसिन थन्किएका छन्।
सरकारले प्रदेश-२ मा पनि तत्काल अन्य ठाउँमा जस्तै ठूलो आरटी पिसिआर मेसिन पठाउनुपर्ने मन्त्री साहको माग छ।
‘सरकारलाई हाम्रो प्रदेशमा मात्र पठाउने मेसिन छैन। बजेट छैन। अरु प्रदेशमा चाहिँ कसरी आयो मेसिन,’ उनको प्रश्न छ।
सरकारले वीरगन्जको नारायणी अस्पतालमा आरटी पिसिआर परीक्षण गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन।