• होमपेज
  • समाचार
  • यात्रु ओसारपसारमा रोक,पास वितरण नगर्न प्रशासनलाई निर्देशन

यात्रु ओसारपसारमा रोक,पास वितरण नगर्न प्रशासनलाई निर्देशन

  • सोमवार, बैशाख १५, २०७७
यात्रु ओसारपसारमा रोक,पास वितरण नगर्न प्रशासनलाई निर्देशन

काठमाडौं, — गृह मन्त्रालयले लकडाउनको समयमा पासबिनाका कुनै पनि सवारीसाधनलाई गुड्न नदिन निर्देशन दिएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्‍न क्षेत्रमा पासबिनाका सवारीसाधन निस्किन थालेपछि गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्।

गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार अहिलेको समीक्षाका क्रममा लकडाउनलाई कडा बनाएकै कारण कोरोना फैलिन नपाएको निचोडसहित थप कडाइ गर्न निर्देशन दिइएको हो। थापाको निर्देशन अनुसार गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सोमबार परिपत्र गर्दै पासबिनाका कुनैपनि सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृहले अब सडकमा अलपत्र परेकाहरुको उद्धार भइसकेको र उपत्यका छाड्नेजति गइसकेको निचोडसहित यस्तो निर्णय लिएको हो। ‘बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा खुकुलो गराइएको थियो’, गृहका एक अधिकारीले भने, ‘बीच सडकमा अलपत्र र बिचल्लीमा परेका अधिकांशको उद्धार भइसकेको ठहरसहित सोमबारबाटै सवारीसाधन सञ्चालनमा रोक लगाएइएको हो।’

गृहमन्त्रालय स्रोतका अनुसार अब पासबिनाका सवारीसाधन सडकमा निस्किएमा ट्राफिक प्रहरीले कडाइका सागथ कारवाही थाल्नेछन्। सवारीसाधनमा हुलमुलसहित यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने निचोडसहित कडाइ गरिएको गृहले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार