• होमपेज
  • समाज
  • महाकाली पारी रोकिएका नेपालीले थप एक हप्ता उतै बस्नुपर्ने

महाकाली पारी रोकिएका नेपालीले थप एक हप्ता उतै बस्नुपर्ने

  • सोमवार, बैशाख १५, २०७७
महाकाली पारी रोकिएका नेपालीले थप एक हप्ता उतै बस्नुपर्ने
फाइल तस्बीर

दार्चुला —  झण्डै एक महिनादेखि महाकाली सीमा पारी रोकिएका नेपालीहरुले थप एक हप्ता उतै बस्नुपर्ने भएको छ। भारतिय र नेपाली पक्षबीच सीमा पारी क्वारेन्टाईनमा राखिएका सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने समझदारी अनुसार उनीहरुलाई थप एक हप्ता उतै राखिने भएको हो।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दुवै पक्षबीच उक्त समझदारी भएको भन्दै तत्काल उनीहरुलाई नेपाल भित्र्याउने अनुमती नदिएको हो। यद्यपी मौखिक रुपमा भने भारतसँग क्वारेन्टाईनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने सहमती भएको मौखिक जानकारी दिईएको छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले गृह मन्त्रालयबाट महाकाली पारी सीमामा रोकिएकाहरुलाई ल्याउन लिखित अनुमती प्राप्त भईनसकेको बताए। तर गृह सचिवले मौखिक रुपमा जानकारी दिदै भारतसँग सीमामा राखिएकाहरुलाई सबैको स्वास्थ्य परीक्षण गराएर मात्र ल्याउने समझदारी भएकाले थप एक हप्ता उतै राख्नुपर्ने भन्दै सोही अनुसार व्यवस्थापन गर्न निर्देशन भएको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले दिनेश खबरलाई बताए।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गर्दै भारतसँग जोडिएका सीमा नाका बन्द गरेको थियो। भारतमा समेत लकडाउन जारी भएपछि ज्याला मजदुरी गर्दै आएकाहरु स्वदेश फर्किएका थिए। तर सीमा नाका बन्द भएका कारण उनीहरुलाई भारतीय पक्षले नै क्वारेन्टाईनमा व्यवस्थापन गरी राखेको छ।

दार्चुलासँग जोडिएको धारर्चुलामा मात्र विभिन्न ११ जिल्लाका एक हजार पाँच सय नेपालीलाई राखिएका छन्। यसअघि सर्वोच्च अदालतले समेत सीमा पारी राखिएका नेपालीहरुलाई ल्याएर क्वारेन्टाईनमा व्यवस्थापन गर्न आदेश दिईसकेको भएपनि ढिलाई भईरहेको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले पारी राखिएकाहरुलाई ल्याउन तयारी अवस्थामै भएपनि गृह मन्त्रालयको आदेश कुरिरहेको बताउँदै आएको थियो।

चर्चामा

सम्बन्धित समाचार