• होमपेज
  • समाचार
  • सेतीमा प्रसुती सेवा बन्दको निर्णयपछि नवजीवन अस्पतालले भन्यो– चाप धान्न सकिन्न

सेतीमा प्रसुती सेवा बन्दको निर्णयपछि नवजीवन अस्पतालले भन्यो– चाप धान्न सकिन्न

  • बुधबार, बैशाख ३, २०७७
सेतीमा प्रसुती सेवा बन्दको निर्णयपछि नवजीवन अस्पतालले भन्यो– चाप धान्न सकिन्न

धनगढी — सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेपछि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको धनगढीकै नवजिवन अस्पतालले चाप धान्न नसकिने बताएको छ। सेती प्रादेशिक अस्पतालबाट दैनिक २० देखि ३० जनाले प्रसुती सेवा लिईरहेको अवस्थामा उक्त चाप नवजिवन अस्पतालले भने थेग्ने नसक्ने जनाएको हो।

अस्पतालका सञ्चालक समेत रहेका डाक्टर निरज अर्यालले जनशक्ति व्यवस्थापन नभएसम्म नवजिवनले चाप थेग्न नसक्ने बताए। ‘सेती अस्पतालले प्रसुती सेवा बन्द गर्दै नवजिवन मार्फत प्रसुती सेवा सञ्चालन हुने भनेको छ। तर सेतीमा कार्यरत दक्ष जनशक्तिका विषयमा केही खुलाईएको छैन्। दक्ष जनशक्तिको पनि व्यवस्थापन भए मात्रै उक्त चाप थेग्न सक्ने अवस्था छ।’ डाक्टर अर्यालले दिनेश खवरलाई भने।

सेती अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएपछि भोलीदेखि अर्को सूचना जारी नभए सम्मका लागि सेतीमा प्रसुती सेवा बन्द गर्ने निर्णय भएको हो। बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो। सोही निर्देशन अनुसार प्रसुती सेवा बन्द गरिएको सेती अस्पतालले जनाएको छ।

यता सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने प्रसुती सेवा बन्द गर्न सामाजिक विकास मन्त्रालयबाट निर्देशन आएको तर जनशक्तिको विषयमा कुनै निर्णय नभएको बताए। उनले सेतीको प्रसुती वार्डमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई नवजिवनमा पठाउने वा नपठाउने बारे कुनै निर्णय नभएको बताए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने नवजिवनले जनशक्ति माग गरे व्यवस्थापन गर्न सकिने बताए। नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ।

चर्चामा

सम्बन्धित समाचार