बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कसरी बढाउने प्रतिरोधात्मक शक्ति ?

कसरी बढाउने प्रतिरोधात्मक शक्ति ?

  • शनिबार, चैत्र २९, २०७६
कसरी बढाउने प्रतिरोधात्मक शक्ति ?

दुनियाँमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि मानिसले यसबाट बच्न अनेक उपाय खोजिरहेका छन्। यसको निराकरणका लागि यो नै औषधि भनेर अझासम्म भन्न सकेका छैनन्। तर यसबाट कसरी सुरक्षित रहन सकिन्छ भनेर अनेक समाचार पढ्न पाइन्छ। तिनीहरूमध्ये एउटा उपाय हो शरीरको प्रतिरोधात्मक शक्ति विकास गर्ने।

यो शक्ति कसरी विकास गर्न सकिन्छ भनेर पनि अनेक अध्ययन, अनुसन्धान र विचार पढ्न पाइन्छ। यस बारेमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयको मेडिकल स्कुलले अनेक अनुसन्धान गरेको रहेछ। अनुसन्धानमा स्वस्थकर जीवनशैली अपनाउन सिफारिस गरिएको छ। यस्तो जीवनशैलीले शारीरिक बल बढ्ने र यसबाट बाहिरबाट आइपर्ने रोगव्याधसित लड्ने शक्तिप्राप्त हुने बताइएको छ। यसका लागि चुरोट नखाने, फलफूल र सागसब्जी धेरै खाने, रक्सी नखाने तर खाए पनि सीमित मात्रामा मात्र खाने,हातधुने, चिन्ता नलिने र शारीरिक व्यायाम गर्ने भनिएको छ।

यो शक्ति बढाउन बजारमा अनेक वस्तु पाइन्छन्। तर हार्वर्डका अनुसन्धानकर्ताको भनाइ के छ भने यस्ता वस्तु खाएर शारीरिक शक्ति बढाउन खोज्नु राम्रो होइन। किनभने रोगप्रतिरोधात्मक शक्ति बढ्ने प्रक्रियामा शरीरका धेरै अंग संलग्न हुने गर्छन्। तिनीहरूमध्ये एउटालाई मात्र बढावा दिँदा अरू अंगले नकारात्मक प्रतिक्रिया दिन सक्छन्। त्यसो भएमा सो लक्ष पूरा नहुन सक्छ। उनीहरूले केही खेलाडीले यस्तै औषधि खाएर प्रतियोगिता जित्न खोज्छन्।

यस विषयमा सबभन्दा राम्रो उपाय योग हो। किनभने यसले शरीरलाई कुनै पनि नकारात्मक प्रभाव नपारी स्वस्थ्य बनाउँछ। खेलाडीका लागि दुवै किसिमका अभ्यास उपयोगी हुन्छन्। खेलमा शारीरिक बलको आवश्यकता पर्छ। त्यसका लागि उनीहरूले अनिवार्य शारीरिक कसरत गर्ने गर्छन्। तर उनीहरूका लागि योगासन झान् बढी लाभदायक हुन्छ। कारण यसबाट शरीरको लचकता बढ्छ। लचकताले खेलाडीलाई आफ्नो जिउ नियन्त्रणमा राख्न र सञ्चालन गर्न सहयोग गर्छ। अर्को कुरा, उनीहरूको मानसिक एकाग्रता बढाएर खेलमा सफलता प्राप्त गर्न सहयोग पनि गर्छ।

योगासनभन्दा मानिस प्रायः शारीरिक व्यायाम सम्झान्छन्। यो शारीरिक हो तर व्यायाम होइन। यसलाई एक साधनाको संज्ञा दिन सकिन्छ। शरीरको प्रयोग दुवैमा हुन्छ तर व्यायाम र साधनाको तरिका बेग्लाबेग्लै हुन्छन्। यस भिन्नतालाई धेरै प्रकारले व्याख्या गर्न सकिन्छ। शारीरिक व्यायाममा श्वास प्रश्वासको महत्तव हुँदैन जबकि योगासनमा यसलाई उच्च महत्तव दिइएको छ। प्राणायाम योगासनको एक मुख्य अंग मानिन्छ। यसबाट शरीरको भित्री अंगप्रत्यंगको शुद्धिकरण हुन्छ र सक्रिय रहन्छन्।

शारीरिक व्यायाम द्रुतगतिले गरिन्छ जब कि योग साधना मन्द र विस्तारै गरिन्छ। पहिलोमा मानिसले पसिना छुटाउने प्रयत्न गर्छ भने योगाभ्यासमा यसलाई आवश्यक ठानिन्न। व्यायाममा जिउलाई थकाउने प्रयत्न गरिन्छ तर योगाभ्यासमा सो हुँदैन।

शारीरिक व्यायाममा शरीरका विभिन्न अंगलाई अलगअलग प्रकारले संलग्न गरिन्छ तर योगाभ्यासमा शरीरलाई समग्ररूपमा सञ्चालन गरिन्छ। पहिलो तरिकाअनुसार शरीरलाई पोसिलो, बलियो र सुन्दर बनाउने लक्ष्य राखिन्छ। दोस्रो तरिकामा सर्वांग जिउलाई स्वस्थ र निरोगी राख्ने उद्देश्य राखिन्छ। शारीरिक व्यायामको लागि धेरै समय र ऊर्जाको आवश्यकता पर्छ जबकि योगाभ्यासमा तुलनात्मक दृष्टिले कम समय र कम ऊर्जा भए पुग्छ। बिमार र कमजोर मानिसले शारीरिक व्यायाम गर्न सक्दैन तर उनीहरूले योगासनका केही भाग गर्न समर्थ हुन्छन्।

प्रायः शारीरिक व्यायाम युवायुवतीले गर्ने गर्छन्। केही मात्रामा केटाकेटीलाई पनि सिकाइन्छ। योगासनमा उमेरको कुनै बन्देज छैन। बूढाबूढीले पनि सजिलै गर्न सक्छन्। उनीहरूका लागि यो अरू आवश्यक र उपयोगी ठानिन्छ। शारीरिक व्यायामलाई रोग निराकरण गर्ने साधन मानिन्न तर योगासनलाई मानिन्छ। निरोगिताका लागि दुवै उपयुक्त मानिन्छन् तर दीर्घकालका लागि योगासन नै बढी प्रभावकारी पाइन्छ किनभने उमेर ढल्कँदै गएपछि शारीरिक व्यायामको क्रम जारी राख्न कठिन हुन्छ।

शारीरिक व्यायाममा भित्री अंगप्रत्यंगलाई लक्षित गरिँदैन जबकि योगासनमा मुख्यरूपले तिनीहरूलाई नै मध्यनजरमा राखिन्छ। शारीरिक व्यायामबाट शरीरलाई गठिलो, भरिलो र कडा बनाउने प्रयत्न हुन्छ तर योगासनले जिउलाई लचिलो, कमलो र हलुको राख्ने गर्छ। शारीरिक व्यायामले उमेर ढल्कने प्रक्रियालाई द्रुतगतिमा लिएर जान्छ। योगासनले यसलाई मन्दगतिमा राख्छ।

शारीरिक व्यायामलाई उच्चतहको प्रक्रिया मानिन्छ भने योगासनलाई धिमा र मन्द प्रक्रिया मानिन्छ। शारीरिक व्यायामले मानिसलाई शक्ति प्रदान गर्छ र यसबाट मानिस आक्रामक हुन पनि सक्छ। त्यो सम्भावना योगाभ्यासमा हुँदैन किनभने यसबाट मानिस स्वतः शान्त र संयमित हुन जान्छ।

योगासनबाट जाँगरिलो रहन, एकाग्रता हासिल गर्न र लामो समयसम्म काममा जुटिरहन मद्दत मिल्छ।
गायकका लागि शारीरिक व्यायामको सिफारिस गरिँदैन। तर उनीहरूका लागि योगाभ्यास अति उत्ताम मानिन्छ। गायकको मुख्य गुण र बल स्वर हो र यसलाई संरक्षित राख्न योगाभ्यास प्रभावकारी मानिन्छ। स्वर साधन एक प्रकारले योग साधन नै हो। त्यसैगरी नृत्यकलामा लागेका लागि पनि योगासन लाभदायक हुन्छ। यस कलामा जसरी जिउका विभिन्न भागलाई सञ्चालन गर्नुपर्ने देखिन्छ सो गर्न योगासन सहयोगी हुन्छ। यसबाट कलाकारको शारीरिक वजन, सौन्दर्यता र लचकता कायम राख्न मद्दत गर्छ। यसले उनीहरूको आत्मबल बढाउन पनि सहयोग गर्छ।

अरू व्यवसायमा लागेका मानिसका लागि योगासन लाभदायक हुने गर्छ। प्राध्यापक, पत्रकार, विद्यार्थी र बौद्घिक वृत्तिामा लागेका मानिसलाई योगासनबाट जाँगरिलो रहन, एकाग्रता हासिल गर्न र लामो समयसम्म काममा जुटिरहन मद्दत मिल्छ। समाजमा कुनै पनि यस्तो वर्ग छैन जसलाई योगासनले विशेष सहयोग गर्न नसकोस्।

चर्चामा

सम्बन्धित समाचार