बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने ?

लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने ?

  • शुक्रबार, चैत्र २८, २०७६
लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने ?

सुरक्षा सुवेदी

कोरोना भाइरसको संक्रमणबाट जोगिन र आवश्यक सावधानी अपनाउन विश्वका धेरै मुलुक लगायत नेपालमा पनि सरकारले लकडाउन बढाएको छ। लकडाउन कहिलेसम्म हुन्छ भन्ने यकिन छैन। लकडाउनका कारण बालबालिकाहरु घरमै थन्किएका छन्। उनीहरुलाई दिन काट्न गाह्रो परिरहेको छ।

यस्तो समयमा आमाबाबुको उचित हेरचाह नपुग्दा बालबालिकामा मोटोपनको समस्या झन् बढ्दै जान्छ। कालान्तरमा यसको प्रभाव नकारात्मक हुन जान्छ। लकडाउन का कारण हरेक घरमा परिवारले आवश्यकभन्दा धेरै चाउचाउ, बिस्कुट, कुरकुरे जस्ता जंकफुड र कोक, फेन्टा, रेडबुल जस्ता पेय पदार्थ जम्मा गरेका छन्। बालबालिकाहरु घरमा बनेको खानेकुरा भन्दा जंक फुड धेरै खाइरहेका छन्।

समय बिताउने नाममा बालबालिकाले घन्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा ध्यान दिइरहेका छन् र शारीरिक रुपमा निष्किय भएका छन्। यसले गर्दा उनीहरुको शरीरमा बोसो बढ्न गई मोटोपनको सिकार हुने गर्छन्।

यसका साथै एकै ठाउँमा धरै समय बिताउने गर्दा शरीरमा रहेको इन्सुलिन, पाचन ग्रन्थी तथा हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढेपछि गएर मोटोपना भएका बच्चाहरुलाई मधुमेह र आँखामा समेत समस्या हुनसक्ने सम्भावना हुन्छ।

यस्तो बेला बालिबालिकाले दुःख दिए भनेर खुसी पार्ने बहानामा घरमै भएको जंक फुड अत्यधिक मात्रामा दिने गर्नु हुँदैन। अहिले घरमा आमाबाबुले आफ्ना बालबालिकालाई हेरचाह गर्न प्रशस्त समय छ। उनीहरुको रुचि अनुसार घरमै बनेका स्वस्थ खानेकुरा दिन सकिन्छ।

यस्तो समयमा बालबालिका बिहान अबेरसम्म सुत्ने अनि दिउँसो पनि सुत्ने गर्दा एकातिर बानी बिग्रेर पछि स्कूले दिनचर्यामा फर्किन अप्ठ्यारो हुन्छ भने मोटोपन पनि बढ्न जान्छ।

बालबालिकाको सरसफाइमा ध्यान दिन जरुरी छ। उनीहरुलाई आफैं नुहाइधुवाइ गर्न लगाउन सकिन्छ। सानातिना लुगाहरु पनि आफैं धुन सिकाउन सकिन्छ।

बालबालिकालाई व्यायाम योगा ध्यानमा आकर्षित गराउन जरुरी छ। बिहानबेलुका घरभित्रै वरिपरि वा छतमा हिँडाएमा उनीहरु सक्रिय रहने छन्। घरभित्रै नाँचगान गराउन सकिन्छ। हरेक दिन समय उल्लेख गरेर उनीहरुको रुचिअनुसार खानपान र क्रियाकलापको तालिका बनाएर काम गराउन सकिन्छ।

घरभित्रै कोठा मिलाउने, लुगा पट्याउन लगाउने र कोठा सफासुग्घर गर्न सकिन्छ। बालबालिकालाई शारीरिक क्रियाकलाप गराउँदा अभिभावकले आफैँ उदाहरणको रूपमा प्रस्तुत हुनुपर्छ। फुर्तिलो भई उनीहरूलाई सिकाउनुपर्छ। परिवारका सबै सदस्य वा बालबालिकाका साथीहरू समेटेर गराउँदा मनोरञ्जनसमेत प्राप्त हुन्छ। बेलाबेला प्रतियोगात्मक रुपमा अभ्यास गराउँदा बच्चाहरू झन् उत्साहित हुन्छन्।

कोराना भाइरसबारे डर, त्रास देखाएर बालबालिकाको मनोबल घटाउनेभन्दा उनीहरुले उठाएका जिज्ञासाहरु सरल तरिकाले बताउन एकदमै जरुरी छ। आवश्यक मात्रामा साबुनपानीले हात धुने, स्यानिटाइजर र मास्कको प्रयोग गर्ने तरिका बताएर उनीहरुलाई कारोनाविरुद्ध लड्न एकजुट बनाउन जरुरी छ। शारीरिक क्रियाकलाप र खानपानमा आमाबाबुले पर्याप्त मात्रामा ध्यान दिएमा मोटोपनबाट कालान्तरमा लाग्ने रोगबाट छुटकारा पाउन सकिन्छ। साभार स्वास्थ्य खबर पत्रिका

(सुवेदी बाल स्वास्थ्य नर्स हुन्)

चर्चामा

सम्बन्धित समाचार