• होमपेज
  • देश
  • आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन् : प्रधानमन्त्री [सम्बोधनको पूर्ण पाठसहित]

आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन् : प्रधानमन्त्री [सम्बोधनको पूर्ण पाठसहित]

  • मङ्लबार, चैत्र २५, २०७६
आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन् : प्रधानमन्त्री [सम्बोधनको पूर्ण पाठसहित]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी २ साता संक्रमणको जोखिम उच्च रहेको बताउँदै सजगता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा होमिएको उल्लेख गर्दै सबै एकजुट भएर लाग्नुपर्ने बताए। देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएयता साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि अझै उच्च जोखिममा रहेको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठः

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू,

आज सिंगो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ। तपाईंहरूलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ। ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा संक्रमण फैलिएको छ। म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइदिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सङ्क्रमितहरू निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु। हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु।

नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ। देशमा संक्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरूको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी अझै पनि उच्च जोखिममा छौंँ।

दुई सातादेखि मुलुक लकडाउनमा छ। यसबाट तपाइँहरूमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु। दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरू सर्वाधिक मर्कामा हुुनुहुन्छ। धेरै व्यवसायीहरूले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ। विद्यार्थीहरूको पढाइ छुटेको छ। जेलमा यन्त्रणापूर्ण वर्षहरू र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु।

तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँ–हामी सबैलाई थाहा छ। लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ। तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ। त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं। सबै कठिनाइहरू झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु।

सीमित पूर्वाधारस्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सकस्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरूले देखाउनु भएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ। हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरू दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारोनिरन्तर सेवामा खटिइरहनु भएको छ। मित्र राष्ट्रहरूबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ।

यस्ता संकटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरूको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ। म आ–आफ्नो तहमा संक्रमण फैलिन नदिन र विपन्न परिवारहरूलाई राहत पुर्याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यस क्रममा स्थानीय समुदायहरू र सामाजिक सङ्घसंस्थाहरूको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ।

बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं। यसले थप सजगता र सावधानीको माग गरेको छ। महामारीका विरुद्ध सरकारले रोकथामनियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ।

कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ। यसका अतिरिक्तआम जनसमुदायराजनीतिककर्मीराष्ट्रसेवक कर्मचारीसुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरूको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ। यसले युद्धस्तरमा कामको समन्वयनिर्देशन र सम्पादन गर्छ। पहिचान गर्नेपरीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ। बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ।

सिसिएमसीहामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो। .मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ। स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ। बिरामी छन्/छैनन्औषधि–उपचार पाए/पाएनन्बेरोजगार विपन्नहरूले खान पाए/पाएनन् त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ।

मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ। यतिबेला ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ। ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छहाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ। सरकार सकभर संक्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ।

यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ। हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ। सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा द्रूत परीक्षण (र्यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ। सातै प्रदेशमाउपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थानगाउन– ११ हजार ८ सय १९ थानएन ९५ मास्क– ४ हजार ३४५ थानमास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरूको व्यवस्था गरिएको छ। भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ।

दिदीबहिनी तथा दाजुभाइहरू !

यसबीच हजारौँको संख्यामा नेपालीहरू घर फर्किनु भएको छ। उहाँहरूमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरूलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ। उहाँहरूलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा जानुहोस्। तपाइँहरूको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ।

नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नु परेको अप्ठेरो र उहाँहरूको भावनालाई हामीले बुझेका छौँ। तर संक्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ। भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरूलाई उतै क्वारेण्टाइनमा राखिएको छ। सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरूलाई हामीले क्वारेण्टाइनमा राखेका छौं। लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ। निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरूलाई देशभित्र भित्र्याइने छ।

विश्वव्यापी रुपमा संक्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरूमा पनि संक्रमण देखा परेको छ। केहीको दुःखद निधन समेत भएको छ। लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरू आफ्नो स्वास्थ्य सुरक्षालाई लिएररोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ। संकटको यस घडीमा हाम्रो सहानुभूतिसाथ र सद्भाव उहाँहरूप्रति छ। हाम्रा दूतावास र मिशनहरू प्रवासी र गैर आवासीय नेपालीहरूका समस्या समाधानमा क्रियाशील छन्। गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरूले पनि सक्दो सहयोग गरिरहेका छन्। विदेशमा रहेका नेपालीहरूको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरू मार्फत जानकारी लिइरहनु भएको छ। नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरूसंग मैले टेलिफोन संवाद सुरु गरेको छु। परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ। मेरो .आग्रह छ– संकटको वर्तमान घडीमा जो जहाँ छौँत्यहीँ सुरक्षित रहौँ। संकटका काला बादल अवश्य हटेर जानेछन्।

विश्वव्यापी महामारी विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ। विश्वव्यापी संकटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरूको हो। नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरूको सक्दो हेरचाह गरिरहेको छ। हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरूबाट माया र संरक्षण पाउने छन्।

आउने २ साता सायद हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्छन्। यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइनसमुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो। त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ। यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ। यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिनेछ। समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ। थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरूको समेत परीक्षण गरिने छ। यसका लागि यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ।

महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरूको संयोजनमा राहत वितरण गरिरहेको छ।

अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरूको निर्माण जारी राखिएको छ। सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको छ।

म विश्वास दिलाउन चाहन्छु– संकटको बेलामा पनि र संकटपछि पनि सरकार तपाइँहरूसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ।

दिदीबहिनी तथा दाजुभाइहरू !

महामारी विरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ। आजसम्मको तपाईहरूको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ। अबको लडाईँको जीततपाईहरूको हौसलाविशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ। तपाईहरूको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ। यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ। राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरूलाई शतप्रतिशतदोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था पनि सरकारले तपाईहरूको समग्र सुरक्षाका लागि गरेको छ। चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरूराष्ट्रसेवक कर्मचारीहरूड्राइभरहेल्परसफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरूको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता/बीमा सहित सरकारले तपाईहरूको समग्र सुरक्षाको बन्दोवस्त गर्छ। यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरूलाई रु. १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको छ।

गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आप्mनै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ। यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु। जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु। यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउता सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ। यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौं।

दाजुभाइ दिदीबहिनीहरू !

यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ। मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ। विकसितसम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरूलाई समेत आच्छु आच्छु पारिरहेको यस महामारी विरुद्ध जुझ्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो। यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरूको आपूर्तिमा परेको छ। मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप–प्रत्यारोप समेत चलिरहेको छ।

नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन। सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन्। त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो। अवस्था सामान्य होस् या असामान्यसरकारका कामकारबाहीहरू विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ। सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरूको सम्परीक्षणभन्दा माथि हुँदैनन्। तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ। तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ। समाजमा उठ्ने गरेकाखासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचनाटिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ। मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन। भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन। कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन।

सरकार र जनताबीचकोराजनीतिक दलहरूबीचकोराज्य र समाजका सबै अङ्गहरूबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो। संसदको साझा सङ्कल्पसर्वदलीय सहमतिप्रमुख प्रतिपक्षी दल सहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरूको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु। आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु।

संकटको यस घडीमा हामी कहाँ उभिएका थियौँहाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियाँै भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ। व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छतर इतिहास भने यस मामलामा निर्मम हुन्छ। मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस संकटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ। अरु छलफल र कामहरू त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै !

स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरू जनसमक्ष पुर्याउन सञ्चारमाध्यमहरूले खेलेको भूमिका सराहनीय छ। मेरो आग्रह छसंकटको बेलामा आशावादकोसंकटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरूले अझ जिम्मेवार भूमिका खेल्नुहोस्।

म एकपटक फेरि दोहर्याउन चाहन्छु– विभिन्न मुलुकहरूको अनुभवले भनिरहेको छयस महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो। सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो। तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न हामी एक होऔं।

मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ। नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गरेको छविजय हासिल गरेको छ। ५ वर्ष अघिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमूना प्रस्तुत गरेका छन्। पटक–पटक लड्नुधुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव होउसको अदम्य विशेषता हो। यही विशेषताकै बलमा हामीले यस संकटमाथि विजय हासिल गर्ने छौं।

यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ। आउने केही हप्ता हामीले अलिकति साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ। आउनु होस्फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ।

तपाईंहरूलाई सुविधा उपलब्ध गराउनआपूर्ति व्यवस्थालाई सहज बनाउनआवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिवद्ध छ। म यहाँहरू सबैलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु। साभार कान्तिपुर

धन्यवाद।

चर्चामा

सम्बन्धित समाचार