• होमपेज
  • कला /साहित्य
  • साइनो कसरी लेख्ने ? यसका मानक र सिर्जन कला

साइनो कसरी लेख्ने ? यसका मानक र सिर्जन कला

  • सोमवार, चैत्र २४, २०७६
साइनो कसरी लेख्ने ? यसका मानक र सिर्जन कला

कविता शिक्षणका क्रममा एउटी छात्राले सोधिन्-“सर!कविता लेख्न सिकाइदिनू न।” जिज्ञासा स्वाभाविक र सहज रूपमै राखिएको भए पनि ज्यादै गम्भीर  र महत्त्वपूर्ण थियो। ‘साइनो’ कविताको उपविधा लेखनमा रुचि राख्ने विद्यार्थी,पाठक र नयाँ सर्जकहरूको मनमा पनि यस्तै जिज्ञासा लाग्नु  स्वाभाविक छ-‘साइनो’ कसरी लेख्ने?साइनो शब्दको साधारण अर्थ आत्मीय जनसङ्गको सम्बन्ध हो।व्यापक अर्थमा जीवन  र जगत्सङ्गको विराट् सम्बन्धका रूपमा पनि अर्थ्याउन सकिन्छ ।आत्मीय सम्बन्धहरू हृदयको बढी नजिक हुन्छन् भने जीवन र जगत्सङ्गको व्यापक अर्थ (दर्शन )भने ज्यादै गहन र मस्तिष्कसङ्ग बढी नजिक हुन्छ ।

साइनो कहीँ न कही हृदयमा स्पर्श गर्दै केही न केही मस्तिष्कमा झन्कार दिने रचना हो।साइनो नेपाली मनमा जन्मिएको रचना हो।साइनो आफ्नै संरचनागत मानक ,भाव संयोजन र समुच्चमा एउटै सिङ्गो भाव भएको नवीनतम् मौलिक शैलीको कविता   हो।यस लेखमा साइनोका संलचनागत मानकत्त्व, भावत्त्व, शैली तत्त्व र साइनो सिर्जन कला  सम्बन्धी विषयमा प्रकाश पार्ने प्रयत्न गरिने छ।

मानव उत्पत्ति र विकाससँगै भाषाको पनि विकास हुँदै आएको हो।भाषा विचार वा भाव व्यक्त गर्ने सबभन्दा भर पर्दो माध्यम हो।भाषामा अभिधा ,लक्षणा र व्यञ्जना गरी तीन शब्द शक्ति हुन्छन् ।साइनोमा यी तीनै शब्द शक्तिको प्रयोग भएको पाइन्छ ।    व्यञ्जना शक्ति (व्यङ्ग्य चेतना )सबभन्दा बढी चमत्कारपूर्ण र प्रभावशाली हुन्छ ।साइनो व्यङ्ग्य चेतना प्रवल सिर्जना  हो।साइनोमा पहिलो ७दोस्रो ८र तेस्रो ९ अक्षर समूहको  संरचना प्रकिया अन्तरनिहित छ। साइनोमा तीन स्वतन्त्र हरफ,स्वतन्त्र अर्थ समुच्चमा एउटै सिङ्गो गहन भाव अन्तरनिहित  हुन्छ । साइनोलाई अन्य कविता भन्दा फरक र मौलिक विशिष्टता भएको रचनाका रूपमा चिनाउने  मुख्य आधार तत्त्व पनि यही नै हो। अन्य कवितामा झैँ  साइनोमा  पनि भाव तत्त्व,शैली तत्त्व र लय तत्त्व प्रमुख तत्त्वका रूपमा रहेका छन् ।

साहित्यकार छायादत्त न्यौपाने ‘बगर’ बाट सुरु गरिएको  साइनो सिर्जना यात्रामा अहिले धेरै साइनो  सर्जकहरूको उपस्थिति देखिन्छ । साइनोमा  संख्या भन्दा गुणात्मकता प्रमुख हो।सर्जकहरूको उपस्थितिलाई सकारात्मक मान्नुपर्छ । छायादत्त न्यौपाने,बालकुमार क्षेत्री,केशव ज्ञवाली ‘आगत’ सुरेन्द्र  शाही  “गुलाब कान्छो”,खेमलाल पोखरेल, विष्णु पादुका, महानन्द ढकाल सुरेश काफ्ले ‘विदारक’ आदि  साइनोकारहरूले साइनोको संरचनात्मक मानक,भावत्त्व,शैली तत्त्व र लय तत्त्व  सम्बन्धी विषयमा कलम चलाउँदै आएको देखिन्छ ।

साइनोकारहरूबाट साइनोलाई परिभाषित गर्ने प्रयत्न हुँदै आएको छ। “मानव मस्तिष्क हुँडलेर गहन सूचनासङ्ग सात, आठ र नौ अक्षरे तीन पङ्क्तिमा संरचित स्वतन्त्र अनि समुच्चय अर्थ दिने कविताको उपविधा  नै साइनो हो।”

– छायादत्त न्यौपाने बगर

“थोरै शब्द लगानीबाट साहित्यिक सुवास छर्दै चोटिलो भावले मानव हृदयलाई झङ्कृत पार्ने भाव गहन कविता  नै साइनो हो। “– बालकुमार क्षेत्री

“नेपाली वाङ्मयभित्रको कविता काव्य विधा अन्तर्गत उपवाधाका रूपमा रहेको नेपाली भाटोमै उम्रेको सात आठ र नौ का  प्रत्येक गुच्छाले स्वतन्त्र भावलाई क्रमश कसिलो पार्दै कुनै विषयमाथि गाम्भीर्यताताका साथ भावार्थ समेट्दै प्रस्तुत गर्न चाहेको विषयवस्तुलाई बिम्ब ,लय वा अनुप्रासका मद्दतले शीर्षबिन्दुमा पुर्याउने एक कठोर ,सुललित  वा व्यङ्ग्य प्रधान कसिलो अभिव्यक्ति दिने सिर्जना  नै साइनो हो।” – खेमलाल पोखरेल

“पहिलो सात ‘दोस्रोआठ र तेस्रो नौ अक्षर समूहका तीन स्वतन्त्र अर्थवान् गुच्छा सहित समुच्चमा मन-मष्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो ।” – केशव ज्ञवाली ‘आगत’

“साइनो जुनसुकै कोणबाट लेखे पनि यसका तीनैवटा हरफको अर्थ फरक र समग्रमा एक तर बृहत् अर्थ लाग्ने हुनुपर्छ । सात ,आठ र नौ अक्षरको तीन हरफ गरी जम्मा चौबिस अक्षरको भावयुक्त मूर्त रूप नै साइनो हो।” – शाही सुरेन्द्र ‘गुलाब कान्छो’

“दुख सुख बेथितिमाथि प्रकाश पार्नु ,सामाजिक,आर्थिक,राजनैतिक विकृतिमाथि  व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौम सत्ता सम्पन्न अखण्ड नेपालको समृध्दि हेतु एकताको सूत्रमा बाँधी चौतर्फी उन्नतिका लागि बलियो भर्याङ बनेर घचघच्याइरहने पवित्र पहरेदार को नाम नै साइनो हो।”– कृष्ण पौडेल

“नेपाली संस्कार ,संस्कृति र परम्परा अनुसार नेपाली माटोमा जन्मिएको सकारात्मक प्रभाव सम्प्रेषण गर्ने कविताको उप विधा नै साइनो हो ।” – महानन्द ढकाल

“नेपाली माटो ,संस्कार र संस्कृति झल्किने साहित्यको नवीन विधा हो साइनो । तीन पदीय चौबिस अक्षरीय गहनता बोकेर आएको छ।तीनवटा गुच्छाले त्रिकोणीय अर्थ दिने  र समुच्चमा एउटा व्यापक अर्थ बोक्ने हुनु यसको भावात्मक पक्ष हो।भाव,बिम्ब र व्यङ्ग्यको सौन्दर्य झल्किनु साइनोको रूप हो।” – विष्णु पादुका

“कविताका विविध  रूप मध्ये संक्षिप्तमा गहन भाव व्यक्त गर्ने सात आठ र नौ अक्षरका तीन गुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो।” – सीता सुवेदी

“लघुतम सूत्रात्मक शैलीमा लेखिने एउटा मौलिक सशक्त धारिलो हतियार  हो जसले स्वतन्त्र भावनात्मक  तथा व्यङ्ग्यात्मक भाव सम्प्रेषण गर्दछ।” – सुरेश काफ्ले ‘विदारक’

यी परिभाषाहरूले साइनोका संरचनात्मक मानक ,भावतत्त्व र शैली तत्त्वको संकेत गरेका छन्।

साइनो कसरी लेख्ने?

‘साइनो’ भाव प्रकाशनको भाषिक कला हो।जीवन र जगतका यथातथ्य र भावानुभूतिहरूलाई कल्पना शक्ति र भाषिक सौन्दर्यले सिँगारेर  भाव र शैलीका दृष्टिले सुन्दर साइनो लेख्न सकिन्छ । प्रतिभा र रुचि छ भने  साइनो लेख्न कुनै कठिन साध्य काम हुँदैन ।अध्ययन र अभ्यासद्वारा  पनि साइनो लेख्न सकिन्छ ।प्रशस्त शब्द भण्डार,शब्दको सही अर्थबोध र प्रयोग भाषिक सीप र ज्ञान जस्ता गुणले साइनोको भाव र शैली पक्षको सौन्दर्यमा निखार ल्याउन सघाउँछन् ।साइनोका भाव तत्त्व र शैलीलाई ओजपूर्ण बनाउनको लागि विषयगत विश्लेषण, नयाँ नयाँ प्रतीक,बिम्ब र थोरै शब्दमा धेरै भाव व्यक्त गर्ने ओजस्वी शब्द चयन र प्रस्तुतिको चमत्कारमा पनि दृष्टि दिनुपर्दछ ।कविताको प्रमुख तत्त्व भने भाव नै हो।

कस्तो साइनोलाई उच्चस्तरको साइनो मान्न सकिन्छ? यस प्रश्नको सत्य- तथ्य पहिल्याउनु ज्यादै कठिन  साध्य काम हो । गुणस्तरीयताको मापन के ?प्रश्न ज्यादै  जटिल छ ।विचारको पक्षधरता (वर्गीय यता)ले सर्वमान्य उत्तर झनै जटिल बन्न पुग्छ ।भाव सौन्दर्य र शैली सौन्दर्यले   सिंगारिएको साइनो हृदय ग्राह्य हुन   सक्छ। पाठकको रुचि , उमेर,अनुभूति र ज्ञानको क्षमताले पनि प्रभाव पार्न सक्छ । भाव र शैलीद्वारा पाठकको हृदयमा स्पर्श गर्दै मस्तिष्कमा झन्कार उत्पन्न गर्ने प्रभावशाली साइनो  नै लोकप्रिय हुन सक्छ । पाठकलाई साइनोको विषय यथातथ्य आफ्नै अनुभूति जस्तो लागोस् । भाव सौन्दर्य,शैली सौन्दर्य  र लय सौन्दर्यद्वारा आनन्द प्रदान गर्नु नै साहित्यको उद्देश्य हो।साइनोकार पनि  यसको अपवाद हुन सक्दैन ।

   आख्यान, नाटक, कविता र निबन्ध साहित्यका चार विधा हुन् ।यी एक  हिसाबले अभिव्यक्तिका प्रकार पनि हुन् ।जीवन र जगतका विविध विषय र अनुभूतिलाई अलंकारद्वारा सिगार्न सकिन्छ ।प्रसंग र भाव अनुकूलता अनुसार साइनोमा नवरसको प्रयोग गर्न सकिन्छ ।

साइनो मुक्त लयमा लेखिने भएकाले भावको संवेगात्मक अनुभूतिका आधारमा लय प्रवाह र विश्राम हुनु स्वाभाविक हो।अहिलेसम्मको अनुभवको आधारमा प्रत्येक हरफको अन्त्यमा र  भाव अनुसार खासखास ठाउँमा विश्राम गर्ने र गुच्छालाई दोहोर्याएर वाचन गर्ने गरेको पाइन्छ ।साइनोमा  आवश्यकताको सिद्धान्त अनुसार प्रचलनमा रहेका चिन्हहरूको  प्रयोग गरिन्छ । सिर्जना नै मुख्य कुरा हो,व्याकरण होइन। तर साहित्यकार वा साइनोकारलाई व्याकरणको आधारभूत ज्ञान आवश्यक हुन्छ।अन्यथा शब्द,पदावली,वाक्य र समग्र लचनाको भावमा अस्पष्टता हुने ,भ्रम सृजना हुने र सिङ्गो भाव सम्प्रेषणमा समेत असर पर्ने सम्भावना हुन्छ ।

मानक सहित चमत्कारपूर्ण,  आल्हादजनक र सौन्दर्यमय भाव र शैलीले सिंगारिएको  साइनो हृदय र मस्तिष्कग्राही हुन्छ।अनुभूति  र जीवनका यथातथ्य विविध विश्लेषण गर्ने मौलिक शैली चाहिन्छ ।एउटा लेखकको सबभन्दा महत्वपूर्ण कुरा भनेको विचारको स्पष्टता र मौलिक शैली हो।शैली लेखकको पहिचान  हो।कुनै पनि रचना लेख्नु र सार्वजनिक गर्नुको उद्देश्य अरूलाई प्रभाव पार्नका लागि पनि हो।यही प्रभावका माध्यमबाट लेखकले आफ्नो सन्देश प्रभाव गर्न खोज्छ ।  भाव सौन्दर्य र शैली (पद लालित्य) द्वारा पाठकको हृदय र मस्तिष्कमा झन्कार र सन्देश दिन सक्नुमा नै साइनोकारको सफलता अन्तर निहित छ।केही साइनोहरु :

सपनाको आकाश

विचारको दरिद्रता

नालीमै डङ्ग्रङ्ग भ्यागुतो!

भोकै छन् संवेदना

नुनिला छन् आँसुहरू

भत्किछ कि आँखाको डिल!

  – केशव ज्ञावली, भक्तपुर, नेपाल

चर्चामा

सम्बन्धित समाचार