• होमपेज
  • समाचार
  • विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

उपकरण खरिदको सम्झौता सरकारको आलोचना

  • बुधबार, चैत्र १९, २०७६
विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

काठमाडौं १९ चैत–   विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो । तर विना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।

विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । यस्तै भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो तर त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालो सूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन् । उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार