शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना महामारीमा नेपाली मिडिया: प्रिन्ट संस्करण बन्द, रेडियो समाचार घरबाटै

कोरोना महामारीमा नेपाली मिडिया: प्रिन्ट संस्करण बन्द, रेडियो समाचार घरबाटै

  • शुक्रबार, चैत्र १४, २०७६
कोरोना महामारीमा नेपाली मिडिया: प्रिन्ट संस्करण बन्द, रेडियो समाचार घरबाटै

कोरोना भाइरस (कोभिड–१९) को संभावित जोखिम र बन्दाबन्दी (लकडाउन) का कारण नेपाली सञ्चारमाध्यम नराम्रोसँग प्रभावित भएका छन्। संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै केही छापा माध्यमले आफ्नो प्रिन्ट संस्करण बन्द गरेर अनलाइन पोर्टल मात्र सञ्चालन गर्न थालेका छन्। शुक्रबारदेखि कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक, दी काठमाडौं पोष्ट, साप्ताहिक र नेपाल म्यागेजिनको प्रिन्ट संस्करण अवस्था सामान्य नभएसम्मका लागि स्थगित गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपले विशेष प्रकाशकीय मार्फत कोरोनाभाइरस संक्रमणको अवस्थालाई ध्यानमा राखेर आफ्ना प्रिन्ट संस्करण बन्द गरेको जनाएको छ।

यसअघि हिमाल मिडियाले पनि साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको हिमाल खबरपत्रिका र नेपाली टाइम्सको प्रिन्ट संस्करण स्थगन गर्ने निर्णय गरेको थियो।

सरकारी स्वामित्वको गोरखापत्र दैनिकले पनि आफ्नो प्रकाशन तत्कालका लागि स्थगन गर्ने वा निरन्तरता दिने भन्नेबारे आज निर्णय गर्दैछ । गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनालले पत्रिका प्रकाशन गरे पनि वितरणमा समस्या भएको भन्दै कर्मचारी र पाठकको स्वास्थ्यलाई ध्यानमा राखेर निर्णय हुने बताए।

“कोरोनाभाइरस संक्रमण हुने भन्दै पाठकहरुबाट पत्रिका नआए हुन्थ्यो भन्ने सुझाव आएको छ” उनले भने, “अनलाइन पोर्टल मार्फत समाचार दिने गरी प्रिन्ट संस्करण हालको अवस्थामा स्थगित हुनसक्छ।”

सामान्य अवस्थामा २० पृष्ठ प्रकाशन हुँदै आएको गोरखापत्रले अहिले १० पृष्ठ मात्र निकालेको छ। त्यसैगरी १२ पेजको दी राइजिङ नेपाल आठ पेजमा झारिएको छ। दैनिक रुपमा प्रकाशन हुँदै आएका अन्य पत्रपत्रिकाले पनि पत्रकारहरुलाई घरमै बसेर काम गर्न लगाएका छन्।

घरबाटै रेडियोमा समाचार

विभिन्न एफएम रेडियोहरुले सञ्चारकर्मीहरूले घरमै बसेर समाचार पढ्ने व्यवस्था मिलाएका छन्। उज्यालो ९० नेटवर्कका पत्रकारले बन्दाबन्दी शुरु भएपछि समाचार बुलेटिन घरबाटै टेलिफोन मार्फत पढ्न थालेका छन्।

उज्यालो ९० नेटवर्कका कार्यकारी निर्देशक गोपाल गुरागाईंका अनुसार, समाचार सम्वन्धी सम्पूर्ण काम पत्रकारले घरमै बसेर गर्ने गरेका छन्। रेडियो स्टेशनमा तीन जना प्राविधिक र एक सुरक्षागार्ड मात्र रहने उनले बताए।

उज्यालो ९० नेटवर्कमा घरबाट समाचार पढ्दै मिलन तिमल्सिना।
त्यसैगरी, सामुदायिक सूचना नेटवर्क (सीआईएन) बाट प्रसारण हुने समाचार बुलेटिनका लागि पत्रकारलाई कार्यालयमै क्वारेन्टिनको व्यवस्था गरिएको छ। गएको सोमबारदेखि चार जना पत्रकार, एक प्राविधिक र एक सुरक्षागार्डलाई कार्यालयमै आवासीय व्यवस्था गरिएको छ । बाँकी पत्रकारहरुले घरमै बसेर काम गरेको समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए। बिहान र साँझ दुई वटा समाचार बुलेटिन प्रसारण गर्दै आएको सीआईएनले बिहान साढे ११ र दिउँसो साढे २ बजे गरी दुई वटा बुलेटिन थप गरेको छ।

कान्तिपुर एफएमले सञ्चारकर्मीलाई एक दिन कार्यालय आएर दुई दिन बिदा दिने व्यवस्था गरेको छ। समाचार प्रमुख पवन आचार्यका अनुसार कार्यालयमा भीड घटाउन १४ जनामध्ये ४ जना मात्र कार्यालयमा आउने व्यवस्था गरिएको छ।

यस्तै, रेडियो नेपालले अत्यावश्यक बाहेकका अन्य कर्मचारीलाई घरमै बसेर काम गर्ने व्यवस्था गरेको छ। १३ कर्मचारीमध्ये ६ जना मात्र कार्यालयमा जाने गरेका छन्। प्राविधिक र केही समाचार कक्षका पत्रकारलाई कार्यालयमै बस्ने गरी व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको पत्रकार प्रमोद दाहालले जानकारी दिए।

कान्तिपुर टेलिभिजनले पनि संवाददाताहरूलाई घरबाटै रिर्पोटिङ गर्न भनेको छ। केही प्राविधिक, क्यामेरा पर्सन र पत्रकार सहित आवश्यकता अनुसारका कर्मचारीलाई आवासीय व्यवस्था गरिएको कान्तिपुर टेलिभिजनका सहायक वरिष्ठ उपसम्पादक रामकृष्ण भण्डारीले बताए। हिमाल खवरबाट

चर्चामा

सम्बन्धित समाचार