शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • भारतमा अलपत्र नेपाली भन्छन्- सरकारले बस पठाइदिए गाउँ फर्केर दुई हप्ता आइसोलेसनमा बस्थ्यौँ

भारतमा अलपत्र नेपाली भन्छन्- सरकारले बस पठाइदिए गाउँ फर्केर दुई हप्ता आइसोलेसनमा बस्थ्यौँ

  • बिहिबार, चैत्र १३, २०७६
भारतमा अलपत्र नेपाली भन्छन्- सरकारले बस पठाइदिए गाउँ फर्केर दुई हप्ता आइसोलेसनमा बस्थ्यौँ

भारतको मुम्बईमा रहेका नेपालीले आफूहरू गाउँ फर्किन चाहेको बताएका छन् । आफूहरू गाउँ फर्किनका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने माग मुम्बईमा काम गर्दै आएका नेपालीले गरेका छन् । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै तीन हप्ताका लागि सम्पूर्ण भारत लकडाउन गरिएको छ ।

लकडाउनपछि मुम्बईमा खान–बस्नै कठिन भएको भन्दै त्यहाँ काम गर्दै आएका नेपालीले स्वदेश फर्किन चाहेको बताएका हुन् । नेपाल सरकारले भारतसँग समन्वय गरी गाडी चलाउन मिल्ने व्यवस्था गरिदिएमा आफूहरू गाउँ फर्केर गाउँमा नै दुई हप्ता आइसोलेसनमा बस्ने मुम्बईमा काम गर्दै आएका दैलेखका उपेन्द्र शाहीले बताए । ‘सम्पूर्ण व्यवसाय बन्द छन् । हामीले काम गर्ने होटेलको कारोबार पनि बन्द भयो,’ उनले भने, ‘हामीलाई खान–बस्न पनि अप्ठ्यारो भइरहेको छ ।’

होटेल सञ्चालकले वासको व्यवस्था गरिदिए पनि खाना खान होटेलमै जानुपरेको उनले बताए । होटेल र डेराको दूरी करिब १० मिनेटको भएको भन्दै बीचबाटोमा प्रहरीले देखेमा खाना खानसमेत नपाइने शाहीले दुखेसो पोखे । नेपाल सरकारले बस चलाउन मिल्ने गरी पहल गरिदिएमा आफूहरू बस बुकिङ गरेरै गाउँ फर्किने र गाउँमा नै दुई हप्ता छुट्टै बस्ने शाहीले बताए ।

त्यस्तै मुम्बईमै रहेका बैतडीका राकेश चन्दले आफूहरूको रोजगारी गुमिसकेको र मुम्बईमा खान–बस्नसमेत कठिन भएको भन्दै घर आउन चाहेको बताए । नेपाल सरकारले गाडी चल्ने व्यवस्था गरिदिएमा आफूहरू सुरक्षित साथ गाउँ फर्किने चन्दले बताए । ‘ठाउँठाउँमा, नाकामा जाँच गरेरै घर फर्किन्थ्यौँ,’ उनले भने, ‘बरु गाउँमा दुई हप्ता छुट्टै बस्थ्यौँ ।’

विगत दुई हप्तादेखि आफूहरू घरभित्रै बसिरहेको बताउँदै नेपालबाट गाडी सञ्चालनका लागि पहल गरिदिएमा सुरक्षित तरिकाले नै घर फर्किने उनको भनाइ थियो । ‘अहिलेसम्म सुरक्षित छौँ,’ उनले भने, ‘गाडी चलेमा गाडी बुकिङ गरेर सुरक्षित गाउँ फर्किन्थ्यौँ र गाउँमा पनि दुई हप्ता अलगै बस्थ्यौँ ।’

त्यसैगरी मुम्बईमै रहेका किशाेर कार्कीले होटेलको कारोबार बन्द भए पनि आफूहरूले खानाका लागि होटेलमै जानुपरेको र होटेलमा जाँदा प्रहरीले भेटेमा दौडेर जोगिनुपरेको दुखेसो पोखे । ‘बस्ने व्यवस्था साहुले गरिदिएको छ,’ उनले भने, ‘खाना खान हाइवे पार गरेर जानुपर्दा अप्ठ्यारो हुने गरेको छ । प्रहरीले देखेमा कुट्छन्, भागेर जोगिनुपर्छ ।’

पटकपटक बाहिर–भित्र गर्दा कोरोना संक्रमणको समेत डर हुने भन्दै गाउँ फर्किन पाएमा दुई हप्ता ओइसोलेसनमा बस्ने कार्कीले बताए ।

त्यस्तै, नरेन्द्र चन्दले होटेलको कारोबार बन्द भएको अवस्थामा मुम्बईमै बसिराख्न अप्ठ्यारो भएको भन्दै नेपाल सरकारले बस चल्ने व्यवस्था गरिदिएमा गाउँ फर्किने बताए । गाउँ फर्किंदा जाँच गराएरै फर्किने र गाउँमा समेत दुई हप्ता छुट्टै बस्ने नरेन्द्र चन्दले बताए ।

मुम्बईमा काम गर्दै आएका उनीहरूले फेब्रुअरीको तलबसमेत नपाएको दुखेसो गर्दै मुम्बईमा केही नगरीकनै लामो समय बस्न नसकिने बताएका छन् । साहुले गाउँ नफर्किन अनुरोध गरे पनि तलब दिने छाँट नदेखाएको उनीहरूको दुखेसो छ ।

बच्चा बोकेर दिल्लीमा अलपत्र

यता गाउँ फर्किंदै गरेका नेपाली दिल्लीमा अलपत्र परेका छन् । भारतीय सञ्चारमाध्यम एबिपीका अनुसार मुम्बईबाट नेपाल फर्किनलाई आएका नेपाली दिल्ली गाजियावादमा अलपत्र परेका हुन् । उनीहरूमा कोही बच्चासहित नेपाल आउन लागेका छन् । तर, उनीहरूले दुई दिनदेखि केही खान नपाएको दुखेसो भारतीय सञ्चारमाध्यम एबिपीलाई पोखेका छन् । नयाँ पत्रिका दैनिकबाट 

चर्चामा

सम्बन्धित समाचार