आमा र बासँग गुनासो छैन
कि वहाँहरु गाँउले हुनुमा
गाउँ बजार बन्यो र बजार शहर
शहरीया सबै साबिक गाउँले
कुनै दिन हामीपनि शहरीया
कहलिएपनि ठूलो महामारी फैलिदा
गाउँ सम्झिदो रहेछ तिनै जन्म दिने
आमाबाको याद आउँदोरहेछ
र वहाँकै माया ममता र सम्झना
अनि,
जन्मेको माटो, साथीसंगी
त्यो बालापन, मीठो अतीत
हुन त गाउँमा सुबिधा छैन
हस्पिटल छैन उपचार गर्न डक्टर छैन
छ त यहाँ जडिबुटी छ वैद्य छ
आफ्नै खोरीयामा उब्जिएको
अर्गानिक खानेकुरा छ
दु:ख बढी सुख कम
तैपनि,
गाउँ गाउँ नै भएपनि
शहर शहरै भएपनि
आकाश पातल फरक भएपनि
गाउँमा मन नजिक हुन्छ
शहरमा मन टाढा हुन्छ
घरसँगै खप्टिएर जोडिएको भएपनि ।
ग्यारेन्टी कुरो,
कुनै महामारीले धनी गरीब
कहिल्यै छुट्याएको देखिन
खासमा समानताको नारा
महामारीले मात्रै बोकेको देखें
ऊ गरीब भन्दैन धनी भन्दैन
सडकपेटीमा बस्ने भन्दैन
छाप्रोमा र महलमा बस्ने फरक देख्दैन
नत उसले औकात हेर्छ नत केही
बस ऊ सबैलाई छोइदिन्छ
बिरामी पारीदिन्छ, तड्पाइदिन्छ
यहाँ सम्मकी मारीदिन्छ ।
र,
गरिब देश त गरिबै भैहाले
विश्वलाई च्यालेन्ज गर्ने देशहरु
खै कुन दुलोमा लुकेका छन्
जसलाई सहजै जितेको छ
कोभिड-19 ले यो कोरोनाले
वुहानमा जन्मिएको यो भाइरस
न्वारान गर्ने उमेर नपुग्दै
विश्व चहार्दै उत्सव मनाइरहे छ
लकडाउनको पालना गरौं
सचेत रहौं, सचेत गराउँ
सरकारको निम्ति होइन
यो आफ्नै निम्ति हो
जीन्दगी रहे फेरि भेटौँला
कोभिड-19 सँग जित्यौं भने
कोरोनालाई परास्त गर्यौं भने
हामी मानव जातिपनि
उत्सव मनाउँला, रमाउँला, नाचौंला
©-शाही सुरेन्द्र “गुलाब कान्छो”
०७६/१२/१२