शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • भोलिदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय

भोलिदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय

  • आइतवार, चैत्र ९, २०७६
भोलिदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो ।

तर सामान आयात निर्यात भने रोकिने छैन ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदि“दा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका छन् ।

यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् ।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगतै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

एकतर्फी हो कि सहमतिमा सीमा बन्दको निर्णय लिइएको भन्ने प्रश्नमा सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘अहिले हामीले सीमालाई स्थायी रुपमा बन्द गरेका होइनौं । यात्रुहरुको अवागमन मात्र रोकेका हौं ।’

लामो समयसम्म रोक्नुपर्ने अवस्था आएमा द्वीपक्षीय वार्ताबाट निर्णयमा पुगिने उनले बताए ।

भोलिबाट नेपाल ‘लकडाउन’

यो निर्णय कार्यान्वयनसँगै नेपाल ‘लकडाउन’ हुनेछ । आइतबार मध्यरातबाट नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइसकेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गरेका थिए ।

देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि भोलि १० गतेबाट रोकिनेछ ।

चर्चामा

सम्बन्धित समाचार