शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • ६७ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

६७ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

  • आइतवार, चैत्र ९, २०७६
६७ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

सरकारले शनिबार विभिन्न प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ।

शनिबार ६४ जनालाई राखिएकोमा राति १ बजे थप तीन नेपालीलाई फेरी खरिपाटी पुर्याइएको नेपाली सेनाका महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार तीन जनालाई राति एम्बुलेन्समा खरिपाटी पुर्याइएको थियो। शनिबार नै जापान, मलेसिया र युएईबाट आएका ६२ जना नेपालीलाई क्वारेन्टाइनको लागि खरिपाटी लगिएको थियो।

पछि फेरी दुई जनालाई क्वारेन्टाइनको लागि पठाइएको विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए।

अध्यागमनले प्रतिबन्धित मुलुकबाट यात्रु ल्याइएको भन्दै उनीहरूलाई क्वारेन्टाइनको लागि खरिपाटी पठाएको हो। उनीहरूलाई थाइ एयर र एयर इन्डियाको विमानले काठमाडौं ल्याएको हो।

शनिबार नै सिल्क एयरको विमानले प्रतिबन्धित मुलुकबाट आएका ३ यात्रु ल्याएपछि विमानस्थलमा झण्डै अलमल भएको थियो। तीनघण्टापछि मात्र जहाजबाट यात्रुलाई ओर्लिन दिइएको थियो।

सुरुमा जहाजलाई फिर्ता पठाउने निर्णय भएपनि यात्रुहरूले प्रतिकार गरेपछि पर्यटन मन्त्री योगेश भट्टराईको परामर्शमा यात्रुलाई झर्न दिइएको थियो।

विमानस्थल अध्यागमन कार्यालय प्रमुख आचार्यले तत्काल ८५ यात्रुमध्ये तीन जनालाई क्वारेन्टाइनको लागि खरिपाटी पठाएको जानकारी दिए।

‘एकजना नेदरल्यान्डबाट आएका र दुईजना जापानबाट आएका नेपालीलाई एम्बुलेन्सबाट क्वारेन्टाइनको लागि खरिपाटी पठायौं’ आचार्यले भने, ‘बाँकी यात्रुलाई भने सेल्फ क्वरेन्टाइनमा बस्नु भनेर घर पठायौं।’

सरकारले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी खाडी मुलुक, जापान, मलेसिया, इरान र युरोपबाट आउने नेपालीसहित सबै यात्रुलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। सो घोषणा अनुसार ती मुलुकबाट अन्य कुनै पनि मुलुकलाई ट्रान्जिट बनाएर आउनेलाई पनि सो प्रतिबन्ध लाग्छ।

तर प्रतिबन्धित मुलुकबाट निर्वाध रूपमा शनिबार ६७ यात्रुलाई नेपाल आए। आइतबार राति १२ बजेदेखि चैतको १८ गते १२ बजेसम्म सरकारले सबै अन्तर्राष्ट्रिय उडानलाई प्रतिबन्ध लगाएको छ।

सरकारले खरिपाटी क्वारेन्टाइनमा रहेका नेपालीले खानाको खर्च आफैं व्यहोर्नुपर्ने बताएको छ। यसअघि पनि चीनको वुहानबाट १ सय ७५ नेपालीलाई उद्दार गरेर सरकारले खरिपाटी क्वारेन्टाइनमै राखेको थियो। त्यो बेला उनीहरूको बस्ने, खाने र सबै व्यवस्था सरकारले व्यहोरेको थियो।

चर्चामा

सम्बन्धित समाचार