
बाजुरा ३ चैत्र – सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) बाजुरा जिल्ला समन्वय समिति गठन गरिएको छ । रेडियो बार्जु सञ्चालक समिति अध्यक्ष शाह जिल्ला समन्वय समिति गठन तथा प्रथम जिल्ला भेलाबाट संयोजकमा माया शाह सर्वसम्मत चयन भएकी हुन् ।
महिलाहरुले सञ्चालन गर्दै आएको सामुदायिक रेडियो बार्जुका अध्यक्ष शाहलाई बाजुरा जिल्लामा संचालित अन्य तीन ओटा रेडियोका प्रतिनिधीले समर्थन गरेपछि शाह संयोजक बनेकी हुन् । एक जिल्लामा तीन ओटा रेडियो सञ्चालन भएको अवस्थामा एक जना संयोजक र अरु सदस्य रहने गरि समन्वय समिति गठन गर्न सकिने प्रावधान रहेको अकोराप प्रदेश समिति सचिव कर्ण चन्द्रले बताएका छन ।
बाजुरा सदरमुकाम मार्तडीमा एक कार्यक्रम आयोजित जिल्ला भेलाबाट संयोजक शाह सहीत सदस्यमा रेडियो बुढीनन्दाका अध्यक्ष सर्पलाल गिरी, रेडियो बाजुराका उपाध्यक्ष विमला थापा र रेडियो पौरखीका सदस्य प्रशान्तराज जोशी सदस्य चयन भएका छन् ।
सामुदायिक रेडियोको हक अधिकारबारे बहस पैरवी गर्ने र सामाजिक विकासका सवालमा सामुदायिक विकासमा आपसी सहकार्य बढाउने उदेश्यले समन्वय समिति गठन गरिएको प्रदेश समिति सचिव कर्ण चन्द्रले बताएका छन् । भेलामा प्रदेश समिति उपाध्यक्ष जनक भण्डारी र सचिव कर्ण चन्द्र प्रतिनिधीका रुपमा सहभागि थिए ।

सामुदायिक रेडियोले उठाउने सवालमा एकरुपता ल्याउन सञ्चार प्रवद्र्धनका लागि प्राप्त श्रोतको समान वितरणमा सहजिकरण गर्न, सामुदायिक रेडियोमा कार्यरत कर्मचारीको अधिकारका लागि वकालत गर्ने भूमिका समन्वय समितिको हुने प्रदेश उपाध्यक्ष जनक भण्डारीले बताएका छन् ।
निर्वा्चित संयोजक सहीत सदस्यलाई उपाध्यक्ष भण्डारीले नै अविर सहीत प्रमाण पत्र प्रदान गर्दै बधाइ दिएका छन् । जिल्लामा हाल चार वटा सामुदायिक रेडियो सञ्चालनमा रहेका छन् ।
निर्वाचित संयोजक माया शाहले समाज विकासमा सामुदायिक रेडियोको भूमिका बढाउने र सञ्चार क्षेत्रलाई विकासको साझेदार क्षेत्रका रुपमा विकास गर्ने गरि काम गर्ने बताएकी छन् । कार्यक्रममा चार वटै रेडियोका सञ्चालक समिति, सञ्चार कर्मीहरुको सहभागि रहेको थियो ।
