• होमपेज
  • विचार/ब्लग
  • साइनोको सैद्बान्तीक विमर्श, इतिहास र प्रवृति

साइनोको सैद्बान्तीक विमर्श, इतिहास र प्रवृति

  • शुक्रबार, फाल्गुन ३०, २०७६
साइनोको सैद्बान्तीक विमर्श, इतिहास र प्रवृति

१.विषय प्रवेश

                मानविय संवेगात्मक चिन्तन र व्यवहारको प्रतिबिम्ब नै साहित्य हो । यसले जीवनजगतका सकारात्मक तथा नकारात्मक पाटाहरुको विश्लेषणात्मक जाहेरी र जीवनलाई मार्गदर्शन गर्ने काम साहित्यले नै गर्दछ । साहित्यको एक प्रमुख विधा कविता हो जसमा सौन्दर्यता सहितको कल्पनाको अनिवार्य उपस्थिती रहन्छ । ‘अन्तगर्भित अर्थ संवेदना लगाएत तत्वका आधारमा मात्र कविता अवतरित हुन्छ ।’ प्रा. राजेन्द्र सुवेदी (वैजयन्ति अंक ५०) । यस्ता कवितासँग सम्बन्धित धेरै उपविधा (प्रविधा)हरु चिन्तनीय रहेका छन् । मुक्तक, तांका, हाइकु, चोखा, छेस्का, क्रिमुक, सेदोका, तप्कना, ॐ, आदि कविताका प्रविधाहरु नेपाली साहित्यकाशमा देखिएका छन् । सबै साहित्यिक भेलमा पौडीरहेको अवस्थामा नयाँ उपविधाहरु पनि जन्मिने क्रम बढ्दो छ । यस्ता विचारका अक्षरहरु सजाउने साहित्यिक विधाहरुको नयाँ अभ्यास र संरचना लिएर जन्मिनु एक हिसाबले साहित्यलाई धनि र फराकिलो बनाउनु हो । तर भेल आएर नसग्ली हराउनु चाँही राम्रो होइन । रचनाको दृष्टिले संख्यात्मक भन्दा गुणात्मक र ओजनदार रचनाको अपेक्षा पनि पाठकले गरेको हुन्छ । त्यस्ता रचना नपाएमा त्यत्तिकै हराउदै गएका पनि उदाहरण छन् ।

साहित्यिक विधा जन्माउनु ठूलो कुरो होइन, हुर्काएर परिपक्क बनाउनु नै ठूलो कुरो हो । यसै सन्दर्भलाई लिएर पंतिकारले नेपाली साहित्यकाशमा भर्खरै उदाएको कविताको प्रविधा वा उपविधा साइनोको बारेमा सैद्घान्तिक विमर्श, छोटो इतिहास र यसका सिर्जनाले अंगालेका प्रवृतिगत विशेषताहरु समेटेर यो आलेख तयार पारिएको छ । साइनो विधा नेपाली मनको नेपाली सुत्रात्मक कविता हो । ‘मूल रुख साहित्यका (कविता, कथा, नाटक, उपन्यास, निबन्ध) विधामध्ये कविताको उपविधाका रुपमा प्रयोग हुँदै आएको साइनो नविनतम प्रयोग हो ।’ छायादत्त न्यौपाने वगर (अग्निचक्र, अंक १०४, पुस २०७६) । यो साहित्यका विविध विधा मध्यको सबैभन्दा कान्छो विधाको रुपमा विकसित भएको छ ।

२.साइनोको सैद्घान्तिक परिचय

                साइनो शब्द आफैमा सरल र मिठो छ । यो शुद्घ नेपाली भाषामा प्रयुक्त साइनु नै साइनो हो । यो नाता सम्बन्धको पर्यायवाची शब्द हो । यसले एक अर्काको नाता, सम्बन्ध, आफन्तसँगको घनिष्टतालाई संकेत गर्दछ । नेपाली शब्दसागर अनुसार साइनो भन्नाले नाता, सम्बन्धलाई बुझाउछ । नेपालीबृहत शब्दकोशकामा साइनु भन्नाले सम्बन्ध, साहिनु, नातागोता बताएको छ । मानव, राष्ट्र र वस्तु विचको एक अर्काको सम्बन्धलाई पनि साइनो भनिन्छ । व्यापक अर्थमा हेर्दा यो सम्बन्ध व्यक्तिको रगत, वैवाहिक र आत्मीय सम्बन्धमा मात्र सिमित नरही वस्तु, राष्ट्र र मानव विचको सम्बन्धलाई पनि साइनो शब्दले बाधेर राखेको छ ।

                साइनो गाँस्ने क्रममा शब्द र भाववीचको काल्पनिक मित्रताले नेपाली साहित्यकाशमा एउटा नवीनतम कवितात्मक विधा उदाएको छ, त्यो हो “साइनो” । “साइनो सिर्जना आरम्भ कुनै पूर्व योजना अनुरुप नभई आकस्मिक प्रस्फुटनबाट भएको हो । यो छोटो सिर्जनात्मक अभिव्यक्ति हो ।” छायादत्त न्यौपाने ’बगर’( नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) । यसले शब्द र त्यसको भाव (अभिव्यक्ति ) विचको सम्बन्धलाई जनाउँछ । ‘यहाँ ‘मानव (सजीव) र अक्षर (निर्जीव) सँग साइनो गाँसिन पुगेको छ ।’ हरि आत्रेय । तसर्थ काव्यात्मक रुपमा शब्दले व्याख्या गर्ने विविध विषयबस्तुसँगको सम्बन्ध पनि साइनो नै हो ।

                साइनोलाई शाब्दिकरुपमा अर्थ्याउँदा साइनोकार हरि आत्रेय भन्नुहुन्छ ः–“साइनोलाई अक्षरगतरुपमा व्याख्या गर्दा ‘सा’ साहित्य, ‘इ’ इछु (सरलता, मृगतृष्णा), ‘नो’ नोखा (सर्वोत्तम) हुन्छ । साइनो जति गाढा हुन्छ, सम्बन्ध उति प्यारो हुन्छ ।” यसरी हेर्दा साइनो  सरल देखिने जीवनका मृगतृष्णालाई सर्वात्तमरुपमा प्रस्तुत गर्न सक्ने कविता हो ।

                साइनो नेपाली कविता साहित्यको उपविधा हो भने गद्यकविताको एक विधा हो । यो नेपाली मनको नेपाली माटोमा उम्रिएको बिरुवा हो । यसले छोटो समयमा नेपाली मन छुन सफल भएको देखिन्छ । यो विधाको परिकल्पनाकार, प्रध्यापक तथा वालसाहित्यकार छायादत्त न्यौपाने ‘बगर’ हुनुहुन्छ । यसलाई मन पराएर वा माया गरेर जोडीन आउनुहुने व्यक्तिहरुको संख्या दिनानु दिन बढ्दो छ । तसर्थ यसले राम्रो मलजल पाउने कुरामा विश्वास गर्न सकिन्छ ।

                साइनो एक व्याङ्ग्यात्मक कविता पनि हो । यसले समाज, देश र अन्तराष्ट्रिय रुपमा घटेका घटनाहरुलाई चोटीलो व्याङग्यात्मक शैलीमा पस्कन सकिन्छ । यो लघुत्तम र सुत्रात्मक शैलीमा लेख्न सकिने सशक्त र धारिलो हतियार हो जसले भावनात्मक तथा व्याङग्यात्मक माध्यमवाट भाव सम्प्रेषण गर्दछ । राजनितिक तथा सामाजिक विसंगति विकृतिका विषयवस्तुलाई लिएर व्यङग्यात्मक शैलीमा लेखिएका साइनो सिर्जनालाई बढी मन पराएको पनि पाईन्छ । साइनो सिर्जनाको मूख्य लक्ष्यको विषयका छायादत्त न्यौपाने ’बगर’ ( नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) विचारको घोत्ल्याइँ, प्रस्तुतीमा छरित्याइँ, बेथितिलाई प्रहार, कर्मयोगलाई सम्मान, राष्ट्रिय चेतनाको आह्वान हो भन्नुहुन्छ । “साइनोले कुनै पनि समाजमा भएका सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनितिक घटनाहरुलाई सकारात्मक वा नकारात्मक दुवै पक्षलाई साहित्यिक माध्यमवाट ओजस्वी भावमा व्याङ्ग्यात्मक शैलीमा पस्कनु र मानवको मनमस्तिष्कमा तरङ्गित गरी मन मुटुमा हलचल ल्याउनु नै यसको मुख्य ध्येय हो ।” साइनोकार सुरेन्द्र शाही”गुलाब कान्छो” । यसका रचनाहरु बढी माक्र्सवादी चिन्तनवाट प्रभावित भएका पाइन्छन् । त्यसैले यसमा प्रगतिशिल विचारको हावी बढी पाईन्छ । यसको छोटो तथा सुत्रात्मक शैलीले गर्दा आजको व्यस्त समयमा बढी उपयुक्त पनि देखिएको छ । यसलाइ रचना गर्न, पढ्न कुनै विशेष ठाउँ र समय चाहिँदैन । यसलाई हिड्दा –हिड्दै, थकाइ मार्दा–मार्दै कुनै पनि समयमा रचना गर्न सकिन्छ ।

२.१ परिभाषा

कविता ‘साइनो’ वालक कालमै छ । यसले आफ्नो स्वरुप र परिचयमा पूर्णता ल्याउन सकेको छैन । यसको सैद्वातिक खोजी, विचार र विर्मश भैरहेकोनै छ । यसै सन्दर्भमा साइनोका अभियन्ता तथा साइनोकारहरुले आफ्ना फेसबुक मार्फत टाँस्नु भएका वा विचारकाक्रममा आएका अवधारणालाई यसको परिभाषको रुपमा पस्तुत गरिएको छ ।

“साइनो नविनतम् गद्य कवितात्मक विधा हो जसका तीन पङ्क्तिको समग्र अन्तर सम्बन्धवाट पूर्ण साहित्यिक विधाको संरचना तयार हुन्छ ।”

आफन्त भन्ने को हो?

अन्य भनौ कसलाई

खुट्टा तान्ने र बुई चढ्ने ।–हरि आत्रेय

“मानवहृदय छुँदै मन–मस्तिष्क हुँडलेर गहन सूचनासँग सात, आठ र नौ अक्षरे तीन पङ्क्तिमा संरचित स्वतन्त्र अनि समुच्च अर्थदिने कविताको उपविधालाई साइनो भनिन्छ ।”

कति बाठा छौं हामी !

देखासिकी गरे पुग्ने !

फूल टिपेर खुसी हुने ? –छायादत्त न्यौपाने ‘बगर’

“पहिलो सात, दोस्रो आठ र तेस्रो नौ अक्षर समूहका स्वतन्त्र तीनपङ्क्तिका अर्थवान् शब्दगुच्छाहरु सहित समुच्चमा मन–मस्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो ।”

छुरी छातीमै धस्छ

शत्रु छिमेकमै बस्छ

नाता चेलीबेटीको गाँस्छ । –केशव ज्ञवाली

“नेपाली वाङ्मयभित्रको कविता÷काव्य विधाअन्तर्गतउपविधाको रुपमा नेपाली माटोमै उम्रेको ७, ८ र ९ = २४ शब्दगुच्छाहरुको माध्यमबाट काव्यिक भाव सम्प्रेषित गर्ने कवितालाई साइनो भनिन्छ ।”

जन्माएँ प्रान्तहरु

न्वारन गर्ने भएनन्

साइनो भएका टाक्सिए । –खेमलाल पोखरेल

“सुख दुख तथा बेथितिमाथि प्रकाश पार्नु, सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य

चेतनाले खबरदारी गर्दै सार्वभौमसत्ता सम्पन्न अखण्ड नेपालको समृद्धि हेतु देशभक्त नेपालीलाई एकताको सूत्रमा बाटी चौतर्फी उन्नतिका लागि बलियो भर्याङ बनेर घचघच्याइरहने पवित्र नातेदारको नाम नै साइनो हो ।”

अँध्यारो छ मझेरी

रित्तो गाग्री हल्लाउँदै

अनन्त यात्रामा मेलम्ची । –कृष्ण पौडेल

“कविताका विविध रुपमध्ये सङ्क्षिप्तमा गहन भाव सम्प्रेषण गर्ने ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो ।”

छातीभरि बज्रिँदा

परचक्रीका ती पाउ

असह्य पीडामा छु आज । –सीता सुवेदी पन्थी

“साइनो भनेको कविताको उपविधा सात, आठ र नौ अक्षरसंरचनामा रचित स्वतन्त्र अर्थका तीन लाइन हुन् जसले समग्रमा पूर्ण र विशिष्ट अर्थ दिन्छ ।”

बुढ्यौलीको सहारा

बिर्सिए दुधको भारा

उम्रे पखेटा पुगे टाढा । –धतानन्द शर्मा

“शब्द सुन्दैमा आत्मीय र कर्णप्रिय लाग्ने साइनोले सात, आठ र नौ अक्षरमा रचिएर व्यापक अर्थबोध हुने गरी साहित्यिकरसास्वादन गराउँछ ।”

संवेदनशीलता

मानव अस्तित्व चेत

सभ्यताको अनन्त गति । –बाबुराम न्यौपाने उत्स ।

“लधुत्तम सुत्रात्मक शैलीमा लेखिने एउटा सशक्त र धारिलो हतियार हो जसले भावनात्मक तथा व्यङ्यात्मकताको माध्यमवाट भाव सम्प्रेषण गर्दछ ।”

पूजा गर्छ मानिस

आत्मा निचोर्छ मानिस

खरानी भै उड्छ मानिस ।।

यी माथिको परिभाषाहरु तथा अवधारणले साइनोका निम्न आवश्यक विशेषताहरुलाई संकेत गर्दछ ः

नेपाली मौलिक सिर्जना हो ।

यो सात, आठ र नौ को तीन भिन्न र स्वतन्त्र तथासमुच्य अर्थयुक्त पङ्क्तिमा रचना गर्दछ ।

यो लधुत्तम सुत्रात्मक हुन्छ ।

यसमा व्यङ्यात्मक भाव वढी प्रबल रहन्छ ।

यो आख्यान विहीन रचना हो ।

अर्थमा व्यापकता र साङ्केतिक भाव

यसले पूर्ण तथा विशिष्ट अर्थ दिन्छ ।

माथिको बुँदाहरुलाई हेर्दा यो  प्रगतिशील विचारलाई प्रश्रय गर्ने लद्युत्तम सुत्रात्मक बिशेष भन्ने बुझिन्छ । यसले गर्दा यसको आयाम पनि लद्युत्तम सुत्रात्मक र भाषा क्लिष्ट र व्यङ्ग्यपूर्ण हुने गर्दछ । साइनो भनेको बौद्विक भावले मनमस्तिष्कलाई घोच्ने गरी सात, आठ र नौ को तीन भिन्न र स्वतन्त्र तथा समुच्य अर्थयुक्त लद्युत्तम सूत्रात्मक नेपाली मौलिक कवितात्मक सिर्जना हो । अझैं पनि यसलाई पूर्ण परिभाषामा बाध्न सकिएको छैन । विद्वानहरुद्वारा यसका विचार सिद्वान्त थपिदै र परिष्कृत हुँदै गईरहेको छ । यसले विषयवस्तुमा व्यापकता र संवेगात्मक भावनालाई पनि समावेश गर्न सक्नुपर्दछ ।

२.२ साइनोको उत्पतिगत पृष्टभूमि

साइनो कुनै बहस विशेष तथा योजनाद्वारा निर्मित कविता होइन । हृदयले संकेत गरेअनुसार बौद्विक मस्तिष्कद्वारा स्वस्फूर्त जन्मिएको रचना हो । रचना पश्चात यसलाई न्वरानमा ‘साइनो’ नाम जुराइयो । यो रचना वि.स. २०७६ साउन १६ गते तदनुसार १ अगष्ट २०१९ मा प्रध्यापक तथा वालसाहित्यकार छायादत्त न्यौपाने ‘बगर’ ले परिकल्पना गरी फेसबुक मार्फत सार्वजनिक गर्नुभएको हो । उहाँको स्वस्फूर्त रचना हो यो साइनो  ।

मान्छे छैन इमानी

न सहरमा छ धन

न त झुपडीमा पिसानी । (२०७६÷०४÷१६ मा रचना गरीएको पहिलो साइनो )

स्वतस्फूर्त विकास भएको साइनाको सम्बन्धमा यसका परिकल्पनाकार भन्नुहुन्छ –“ जीवनमा कति कुरा आकस्मिक भेटिन्छन् । कुनै पूर्वानुमान विना स्वतस्फुर्त सिर्जना भएको तीन पङ्क्तिको सिर्जनात्मक भुल्कालाई साइनो नाम जुराइएको हो । यो योजनाबद्ध सोच–विचारसबाट सिर्जिएको विधा होइन । शोक न सुर्ता भोक न भकारी भनेझैंएक्कासि प्रस्फुटन भई आएको हो ।” अग्निचक्र ( पूर्णाङ्क १०४,पुष, २०७६ ) । वास्तवमा यो सिर्जना अकस्मिक प्रस्फुटनवाट भएको हो ।

२.३ साइनोको रचना प्रक्रिया

“साइनो शाब्दिक अर्थजस्तै स्वतन्त्र अस्तित्वबिचको अन्तर्सम्बन्ध हो । यस सिर्जनात्मक साइनोका प्रत्येक शब्दगुच्छाको स्वतन्त्र अर्थपछि तीनैवटाको समुच्य अर्थ लाग्दा साख सबल बन्छ, संरचना सुरक्षित हुन्छ । यी तीन शब्दगुच्छा एक अर्कामा आश्रित नभई स्वतन्त्र अर्थ वाहक हुन्छन् ।” छायादत्त न्यौपाने ’बगर’(नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) ।

साइनो आफ्नै मोलिक रचना प्रक्रिया भएको प्रभावशाली नेपाली सुत्रात्मक गद्य कविता हो । यसलाई पहिलो गुच्छा (पंक्ति)मा सात पूर्ण अक्षर, दोश्रो गुच्छा (पंक्ति)मा आठ पूर्ण अक्षर र तेस्रो गुच्छा (पंक्ति)मा नौ पूर्ण अक्षर सहित जम्मा चौविस अक्षरमा रचना गरिन्छ । ति तीन गुच्छाहरुको आ–आफ्नो  स्वतन्त्र अर्थ तथा तिनै गुच्छाको एक समष्टिमा समुच्य अर्थ पनि बहन गर्नुपर्दछ । यसरी रचना गरिएको साइनो सिर्जनाले प्रबल तथा गहन भाव सहित पाठक मनमस्तिकलाई प्रभाव पार्न सक्नुपर्दछ । यसले पाठकको मस्तिष्कमा एउटा नविर्सने छाप छोड्न सक्नु साइनोको सफल सिर्जना हुनेछ ।

“साइनोमा प्रयोग गरिएको सात अक्षरले सात वार (समय प्रवाह) भित्र भए गरेका घटना, आठ अक्षरले आठै दिशाका विषयवस्तु र नौ अक्षरले साइनोमा उठान गरेका विषयवस्तुलाई नवरसको माध्यमवाट पाठकमा रस उत्पति गर्ने भन्ने सांकेतिक भाव व्यक्त गर्दछ । यसरी सिर्जना भएको साइनोमा जम्मा ७+८+९=२४ अक्षरले प्रत्येक दिनको २४ घण्टाभित्रको विषयबस्तु नै समेटेको हुन्छ भन्ने भाव व्यक्त गर्दछ ।” छायादत्त न्यौपाने ‘बगर’ । यसरी हेर्दा साइनोले कुनै पनि समयको कुनै पनि विषयबस्तुलाई नवरसको स्वादमा व्यक्त गर्न सक्दछ ।

साइनो व्यङ्यात्मक होस् वा भावनात्मक वासंवेगात्मक जुनसुकै अवस्थावाट लेखेपनि यसले गहन भाव सहित पाठक मस्तिष्कमा प्रभाव पार्न सक्नुपर्दछ । साथै “जीवनको मूल्यवोध पनि गराउन सक्नुपर्छ ।” छायादत्त न्यौपाने ‘बगर’ (शब्दाङ्कुर) । “यसलाई जुनसुकै कोणवाट लेखे पनि सन्देशमूलक र सान्दर्भिक हुनु आवश्यक छ ।” साइनोकार सुरेन्द्र शाही”गुलाब कान्छो” । विशेषतः यसले प्रगतिशिल सोचको आधारमा सकारात्मक समाज परिर्वतन तथा मानविय मूल्यमान्यतालाई परिष्कृत गर्दै सुन्दर मानव सभ्यताको विकासमा सन्देशमूलक खवरदारी गर्नु मूख्य रचनाको गर्भ हो ।

साइनो वाचन गर्दा प्रत्येक शब्दगुच्छको अन्यमा विश्राम वा भाव र विषयले मागे अनुसार पङ्क्ति दोहोर्याउँदै भाव सम्प्रेषणको आधारमा वाचन गर्नु उत्तम हुनेछ । सन्देश तथा भाव सम्प्रेषणका आधारमा स्वरलाई उच्च, मध्यम र निम्न गर्दै वाचन गरिएमा मिठास तथा बढी प्रभावकारी बनाउन सकिन्छ ।

साइनो रचना गर्दा साइनो नै शीर्षक राख्दै शब्दको चयन तथा भाव अनुसार प्रश्नवाचक (?), पूर्णविराम (।) र विस्मादिवोधक (!) चिन्ह राख्न सकिन्छ । यसको अन्तिममा पूर्ण विराम तथा विषयप्रस्तुतीले मागेअनुसार अन्य स्थानमा पनि अन्य चिन्हको प्रयोग गर्न सकिन्छ । जस्तै:-

साइनो-२०८.

मुस्कानको व्यापार

आमदानी आँसु मात्रै

कर्म जिवनको सोपान! – बालकुमार क्षेत्री

देखायौयोसंसार

आमाममताकीखानी

झुपडीनैमहलमेरो।- सुरेन्द्र शाही “गुलाब कान्छो”

कहिले आउला खै ?

त्यस्तो कुनै भाइरस!

दुर्जन आतङ्कित हुने !!- प्रमोद भट्टराई

३. विकासक्रम

साइनोले नेपाली साहित्यिक मनमस्तिष्कमा छिट्टै घर बनाएको छ । यसले छोटो समयमै नेपाली साहित्यिक पाठकको विचमा लोकप्रियता कमाउनु चानचुने कुरो होइन । ‘यो सागरमा गागर भर्ने सुत्रात्मक विधाको रुपमा चर्चित छ ।’ छायादत्त न्यौपाने ‘बगर’ । समयको व्यस्तताको बाबजुत पनि रचनात्मक सोच भएका सर्जक तथा पाठकलाई यसले कज्याएको छ । रचनाको मौलिकता र समयको व्यस्तताविच पनि रचना गर्न सक्नु नै यसको सफलता हो ।  यसले नेपालका प्रतिष्ठित प्रध्यापक देखि सामान्य सर्जकको हातमा सजिने सौभाग्य पाएको छ । त्यस्तै गरी प्रार्दूभाव भएको केही महिनामै देश–विदेशमा छरिएर रहनुहुने नेपाली भाषी सर्जक तथा पाठकको विचमा पनि प्रिय भैसकेको छ ।  त्यसैले यो पाठक तथा सर्जकहरुको रोजाइको केन्द्रविन्दुमा रहेको छ भन्दा पनि अनुपयुक्त नहोला ।

प्रयाप्त देशी तथा विदेशी नेपाली साहित्यिक व्यक्तिहरु पाएर साइनो गतिशील बनेको पाईन्छ । “केही साइनो कविता सार्वजनिक भएपछि केशव ज्ञवाली र छायादत्त न्यौपाने ‘बगर’ वाट मेसेन्जर प्रविधिबाटै आपसमा छलफल गरेर सहमति भए अनुरुप अलि व्यापक रुपले अघि बढाउने प्रयत्न गरिएको हो ।” छायादत्त न्यौपाने ‘बगर’ (अग्निचक्रः पुष, २०७६) । हाल यसको अनुयायी भई फेसबुक तथा विविध पत्रिका मार्फत छायादत्त न्यौपाने ‘बगर’, केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल, वालकुमार क्षेत्री, हरिप्रसाद चौलागाई, उद्घवप्रसाद प्याकुरेल, आकाश पौडेल, सीता सुवेदी पन्थी, धतानन्द शर्मा, शम्भुराम जोशी, सविता भट्टराई, मिना डाँगी, सुरेन्द्र शाही”गुलाब कान्छो”, हरिभक्त पौडेल, विष्णु पादुका, महानन्द ढकाल, सीता पौडेल, घन थापा, शम्भुराम जोशी, सुरेश काफ्ले “विदारक”, कमला भण्डारी ढकाल, प्रमोद भट्टराई, बद्री उप्रेती, लालचन्द्र लम्साल, विनोद नेपाल, चेतनारायण शर्मा, शोभाकान्त रिजाल आदि लगायत धेरै स्रष्टाहरु साइनो रचना तथा लेखहरुमा साधनारत हुनुहुन्छ । यसले यति छोटो यति धेरै पाठक र सर्जक प्राप्त गर्नु चानचुने कुरो होइन । ‘साइनोको पास्निको लागि मान्य हुने उमेर नपुग्दै पर्याप्त लोकप्रियता हासिल गरेको छ ।’ छायादत्त न्यौपाने ‘बगर’ (शब्द संयोजनः पूर्णाङ्क १८८, पुष २०७६) । यसले पाएको लोकप्रियता यसको रचना विधान र यसले सम्प्रेषण गर्ने प्रवल भाव पनि हो ।

साइनोको विकासक्रममा अनलाईन, स्थानिय तथा राष्ट्रिय पत्रिका तथा रेडियोले खेलेकोे भूमिकालाई सूचिगतरुपमा प्रस्तुत गरिएको छ ।

-शब्दाङ्कुर सा. मासिक (वर्ष १८, अंक १२, पूर्णाङ्ग ११६, असोज, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले साईनो सम्बन्धि आलेख तथा यसैको पछिल्लो अंकमा साइनो सम्बन्धि पाठक प्रतिक्रिया पनि प्रकाशित

– श्रृङखला सा. मासिक (वर्ष ४१, अंक ४, पूर्णाङ्ग १४६, कात्तिक, २०७६) मा असिमले ‘साइनो वारे अलिकति कुरा’ शीर्षकमा आलेख प्रकाशित

– गाउँले देउराली साप्ताहिक कात्तिक, २०७६ महिनाको पछिल्लो शुक्रवार ……ले ‘………’ शीर्षकमा आलेख प्रकाशित)

– शब्दसंयोजन सा. मासिक (वर्ष १६, अंक ९, पूर्णाङ्ग १८८, पुष, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘नयाँ विधाको सैद्वान्तिक विर्मश’ शीर्षकमा आलेख प्रकाशित

– अग्निचक्र राष्ट्रिय मासिक (वर्ष ११, अंक ४, पूर्णाङ्ग १०४, पुष, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘ साइनो सम्बन्धि सैद्वान्तिक विर्मश’ शीर्षकमा आलेख प्रकाशित

– जनमत सा. मासिक (वर्ष , अंक , पूर्णाङ्ग , पुष, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘नयाँ विधाको सैद्वान्तिक विर्मश’ शिर्षकमा आलेख प्रकाशित

– नवप्रज्ञापन त्रैमासिक (पूर्णाङ्ग ८७, माघ–चैत्र, २०७६) मा छायादत्त न्यौपाने ‘बगर’ले ‘साइनोःसिर्जनात्मक सन्दर्भ’ शीर्षकमा निबन्ध प्रकाशित

त्यस्तै गरी जनमत, लोक भावना, भानु, पुस्तकालय आवाज जस्ता मासिक पत्रिका लगायत साप्ताहिक पत्रिकाहरुमा कपन वानेश्वर, गाउँले देउराली (पाल्पा), मिसन टुडे दैनिक(कोहलपुर, बाँके), दैनिक (नेपालगञ्ज), इ–हुलाकी अनलाईन, मूलधार पोष्ट (वाजुरा), बडिमालिका दैनिक अनलाइन(बाजुरा), बलास्ट (धरान, सुनसरी), सप्तरंगी साहित्य पत्रीका (काठमाडौं)आदि जस्ता पत्रिकाहरुले साइनो सम्बन्धि लेख तथा रचना स्वीकार गरी यसको विकासमा अमूल्य योगदान गर्नुभएको छ । साइनो सम्बन्धि छलफल तथा रचना वाचन गरेर मिसन रेडियो –कोहलपुर, बाँके) तथा टाईम्स एफ.एम. काठमाडौंले पनि सहयोग गरेको छ ।

                साइनोको विकास तथा सैद्वान्तिक छलफलका लागि वालकुमार क्षेत्रीले फेसवुकमा साइनो चौपारी नामको समूह संचालन गर्नुभएको छ । त्यस्तै यसकै विकास, प्रचार तथा सिर्जनालाई सबैका सामू पुर्याउने र अभ्यास पाठशालाको रुपमा विकास गर्ने हेतुले मिति २०७६ पुष ३ गते शुक्रवारका दिन सुरेश काफ्ले “विदारक”ले साईनो मञ्च नामको फेसबुक समूह संचालन गर्नुभएको थियो । हाल यो समूह साइनो संसार नामवाट संचालित छ जसमा छायादत्र न्यौपाने, बालकुमार क्षेत्री, सुरेश काफ्ले “विदारक”र सुरेन्द्र शाही “गुलाब कान्छो”व्यवस्थापक (admin) को भूमिका निर्वाह गरिरहनु भएको छ ।

साइनो इतिहासमा विष्णु पादुकाले “साइनो”(२०७६) नामक पहिलो साइनो सङ्ग्रह कृति प्रकाशन गरी इतिहास रच्नुभएको छ । “साइनो नयाँ विधाका रूपमा लेखन आरम्भ भएको आधा वर्षमै सिङ्गै कृति प्रकाशनले यसको जीवन दर्शन, सिर्जनात्मक विशिष्टता, अर्थगत गहिराई, वैज्ञानिक संरचनाले जनमतमा पारेको गतिलो प्रभाव हो भन्ने प्रमाण दिन्छ ।” छायादत्त न्यौपाने ‘बगर’ ( नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) । त्यस्तै गरी ‘साइनो र सारथि’ नामको संयुक्त साइनो संग्रह प्रकाशनको तयारी सम्पादनको चरणमा पुगेको जानकारी छ जसमा साइनोको सैद्वान्तिक विचार सहित सयौं स्रष्टाका हजारौं सिर्जनाहरु समावेश हुनेछन् । यसरी हेर्दा साइनोले थारै समयमै सफल इतिहास रच्न सक्ने सम्भावना रहेको छ ।

साइनोका अनुयायिहरु वीच सैद्वान्तिक बहस हुँदै आएको कुरा साइनो परिकल्पनाकार छायादत्त न्यौपाने ‘बगर’ बताउनुहुन्छ – यसमा साइनो केहो ? कसरी सिर्जना हुन्छ ? वाचन शैली कस्तो रहन्छ ? यसको उन्नयनका लागि भावि योजना के हुने ? आदि जस्ता प्रकट हुने जिज्ञासाहरुको खोजी आपसी छलफलबाट हुन्छ । यस्तो छलफल साइनो चौपारी समूहगत तथा व्यक्तिगत रुपवाट अगाडी बढेको पाईन्छ । यस्तो छलफल तथा बहसमा  केशव ज्ञवाली, खेमलाल पोखरेल, वालकुमार क्षेत्र, मिलन समिर, कृष्ण पौडल, सीता सुवेदी पन्थी, हरिप्रसाद चौलागाई, डा. श्याम न्यौपाने, धतानन्द शर्मा, उषा बास्ताकोटी खनाल, शम्भुप्रसाद जोशी, सुरेन्द्र शाही”गुलाब कान्छो”, नैना वराइली, महानन्द ढकाल, छायादत्त न्यौपाने, सुरेश काफ्ले लगाएत धेरै स्रष्टा सक्रिय सहभागीता रहेको पाईन्छ ।  “यसको छलफलमा रहँदा एउटा छुट्टै साहित्यिक झंकार तथा नेपाली भाषाप्रतिको माया र सद्भाव झल्किएको महसुस हुन्छ । यसै गरी यस विषयमा जिज्ञासा राखेर छलफलमा सहभागी हुने तर सिर्जनाका लागि पर्खिरहनेहरुमा डा. श्याम न्यौपाने, बाबुराम न्यौपाने उत्स, चेतनाथ धमला, शीतल गिरी हिम चापागाई, प्रेम आचार्य, पुण्य धिमिरे लगायत धेरै जना हुनुहुन्छ ।” छायादत्त न्यौपाने ‘बगर’ (नवप्रज्ञापन,पूर्णाङ्क ८७ ) ।

४. प्रवृति

साइनो लद्युत्तमभित्रको सुत्रात्मक गणितिय संरचनामा सिर्जनाहुने गद्य कविता हो । यसले चौवीस पूर्ण अक्षरका सात, आठ र नौ अक्षरमा तीन गुच्छाहरुले एउटा पूर्ण, गर्भिलो र गहकिलो प्रस्तुति राख्न सफल देखिन्छ । “सरल अर्थ सम्बन्ध बताउने साइनोले समाजका बेथिति र विसंगतिसँगको सम्बन्धमा गुलेली र मट्याङ्ग्रा चलाउँछ । यसको मर्म भनेको विकृतिलाई व्यङ्ग्य वाण ठोक्नु नै हो । यसले समाजबाटै विषयवस्तु लिन्छ ।” छायादत्त न्यौपाने ’बगर’, ( नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) । यसको सिर्जनाको मूल स्रोत समाज हो । त्यसैले यसले समाज संचालन गर्ने प्रशासनिक निकाय राजनितिमा देखिएका विकृती विसंगती र असन्तुष्टि माथि व्यङ्ग्य प्रहार गरेको पाईन्छ । राजनितिलाई सेवामूलक कामको रुपमा नलिई कमाई खाने भाडोको रुपमा प्रयोग गरेकोमा स्रष्टाहरुको बढी आक्रोस पाईन्छ । राज्यको दोहन गर्नेप्रति रोष प्रकट गरेका रचनाहरु पनि प्रशस्त पाईन्छन् ।

यो मरिहत्ते किन ?

पराई अभिष्ट पूरा

जनता–आँखाभरि धुलो ??–छायादत्त न्यौपाने

समृद्विकोभाषण

झुठरभ्रमकोखेती

सत्ताकोझुसिलोडकार।।–केशवज्ञवाली

साइनोले समाजमा देखिएको बेमेल, सामाजिक विकृति विसंगती माथि सशक्त प्रहार गरेको पाइन्छ । समाजमा झाँगिदै गएको महिला पुरुषवीचको अनैतिक सम्बन्ध, झुटो प्रेम, अभावले विदेशिनु परेको पीडा र त्यहाँको नारकीय जीवन, जीवनका नारा तथा वितृष्णाहरु, वलत्कार जस्ता विकृती विसंगति पनि यसका विषयवस्तु बनेका छन् ।

* यो अभावमा दुख्छ

आत्मा विनाको विचार

भमरा नभएको फूल ।।

*पूजागर्छमानिस

आत्मानिचोर्छमानिस

खरानीझैंउड्छमानिस।।–सुरेशकाफ्ले‘विदारक’

जनताका दुख तथा नेताका मपाईत्व झन मज्जाले यसका सामग्री बनेका छन् । “आंशिकरुपमा सांस्कृतिक गतिविधि र राष्ट्रिय चेतना सम्प्रेषणको प्रयत्न गरेको पाईन्छ  तापनि मुलभूतरुपमा विसङ्गति–विकृतिलाई घोचपेच गरी सुसङ्गत समाज निमार्ण गर्नु नै साइनो स्रष्टाको अभिष्ट देखिन्छ ।” छायादत्त न्यौपाने ‘बगर’ (अग्निचक्र, अंक १०४) । यसले समाजका समस्याहरुलाई पनि जस्ताको तस्तैरुपमा पस्तुत गरेको छ भने जीवनका वितृष्णा र खुशीहरु पनि प्रस्तुत गरेको पाईन्छ । यसले धर्मको नाममा हुने व्यभिचारलाई पनि उछितो काटेको देखिन्छ ।

खुशी राख्ने ठाँउछ

मान्छे आफैभित्र स्वर्ग

सुन्दर सृष्टिको नियति ।–छायादत्त न्यौपाने

व्यस्तसधैंजिन्दगी

कहीँनपुगेकोयात्रा

बख्याचाहरुकोहतारो।–केशवज्ञवाली

रुद्राक्षमालाजप्छन्

अहिंसापरमोधर्म

हात्तिकादेखाउनेदाँत।–हरीप्र.चौलागाई

प्रेमका बान्किला विचारहरुलेपनि साइनो सजिएको छ । विकृत प्रेमलाई उजागर गर्दै प्रेमिल विषयवस्तुलाई पनि यसले समेटेको छ । यसले समयको परिवेशसँग समय सन्दर्भका आधारमा पनि विषयवस्तुमा व्यापकता पाएको छ । मूख्यतः जीवन, राजनीति, संस्कृति, प्रकृति, समाज आदिलाई विषयबस्तु बनाएर यसको सिर्जना भएको देखिन्छ ।

हिजोआजको माया

आज जोड्यो भोली तोड्यो

दुईदिनको रामछायाँ ।–सविता भट्टराई

मनकोकोलाहल

मुस्कानभित्रकोपिडा!

बन्लाकुनैमापनयन्त्र।–सीतापौडेल

फुलकोसुन्दरता

अनुहारकोमुस्कान

किनेरनपाइनेप्रेम।–सुरेशकाफ्ले‘विदारक’

५. निष्कर्ष

नेपाली साहित्यमा पल्लवित जीवन र जगतलाई नजिकवाट नियाल्ने र सन्देशमूलक चेतना सम्प्रेषण गर्न सक्ने सूत्रात्मक गद्य कविता हो । यसले विहानीले दिनको संकृत गरेजस्तै छोटो समयमा यति धेरै प्रेम पाउन सफल भएको छ । यसको मूख्य कारण यसले चटपट रुपमा मस्तिष्कलाई झङकृत गर्न सक्दछ । थोरैमा धेरै भन्नसक्ने औकात योसँग छ । सुत्रको माध्यमबाट धेरैलाई एकै पटक सूचना सम्प्रेषण गर्न सक्दछ । यो बौद्विक  र तार्किक सोचका आधारमा अर्थिन पनि सक्दछ । यसको बहुरुपी भाव र अर्थ संवाहन गर्न सक्ने भएकोले पनि लोप्रियता बढेको कुरामा दुई मत नरहन सक्छ ।

साईनोले अब संग्लिदै आफ्नो एउटा छुट्टै पहिचान राख्नुपर्छ । यसको इतिहास रच्दै विशिष्ट मानक तयार गर्नु आबश्यकता छ । यसको लागि बहस÷विमर्श र गुणत्मक सिर्जनाका अग्रसर हुनुपर्दछ ।

सन्दर्भ सामाग्रीहरु:

अग्निचक्र राष्ट्रिय मासिकःकाठमाण्डौ (पूर्णाङ्क १०४, पुस, २०७६)

नवप्रज्ञापन साहित्यिक पत्रिकाःवारा ( पूर्णाङ्क ८७, माघ–चैत्र, २०७६)

शब्द संयोजन साहित्यिक मासिक पत्रिकाःकाठमाण्डैं ( पूर्णाङ्क १८८,पुस, २०७६)

शब्दाङकुर मासिक लगायत विविधपत्रपत्रिकाहरुमा प्रकाशित साइनो सम्बन्धि लेखहरु ।

चर्चामा

सम्बन्धित समाचार