• होमपेज
  • देश
  • प्रधानमन्‍त्री सक्रिय भएर काम गर्न ६ महिनादेखि एक वर्ष लाग्छ : चिकित्सक

प्रधानमन्‍त्री सक्रिय भएर काम गर्न ६ महिनादेखि एक वर्ष लाग्छ : चिकित्सक

  • मङ्लबार, फाल्गुन २७, २०७६
प्रधानमन्‍त्री सक्रिय भएर काम गर्न ६ महिनादेखि एक वर्ष लाग्छ : चिकित्सक

काठमाडौं : एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सक्रिय भएर काम गर्न ६ महिनादेखि एक वर्षसम्म लाग्ने चिकित्सकले बताएका छन्। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सकले यस्तो बताएका हुन्।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी डा. दिव्यासिंह शाहले  प्रधानमन्त्रीलाई सक्रिय भएर काम गर्न ६ महिनादेखि एक वर्षसम्म लाग्ने बताइन्।

‘पब्लिकमा गएर भीडभाडमा काम गर्ने सल्लाह हामी दिँदैनौँ। पहिलो एक महिना सावधानी अपनाउनुपर्छ। औषधिको डोज बढी भएकाले उहाँलाई संक्रमणको सम्भावना रहन्छ। दैनिक काम सचिवालयबाट गर्न सक्नुहुन्छ’, डा. सिंहले भनिन्, ‘एकदमै सक्रिय भएर उहाँले अरु साधारण मान्छे जसरी काम गर्न चाहिँ मेरो विचारमा ६ महिनादेखि एक वर्षपछि मात्र सक्नुहुन्छ।’

प्रधानमन्त्रीले चाँडो डिस्चार्ज चाहनु भए पनि परिवारको अनुरोधमा तत्काल डिस्चार्ज नदिएको समेत डा. शाहले जानकारी दिइन्। घरमै केयर गर्ने अवस्था बनेपछि प्रधानमन्त्रीको डिस्चार्ज हुने उनको भनाइ छ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ६९ वर्षीय प्रधानमन्त्री ओलीको सफलतापूर्वक दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि २०६४ सालमा भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सक सहभागी थिए। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक सहभागी भएका थिए।

प्रधानमन्त्रीको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमारलगायत सहभागी थिए। अनन्तकुमार प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक हुन्।

मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी प्रा.डा दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा। मुकुन्द्र काफ्ले र डा. रविन नेपालीलगायतको टोली रहेको थियो ।

त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा। अनिल श्रेष्ठ र प्रा.डा. सुवा आचार्यलगायतको टोली सहभागी थिए ।

प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएकी थिइन् । प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनको’प्लाज्माफेरेसिस’ गरिएको थियो।

त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित डायलासिस गर्दै आएका थिए। मिर्गौला दाता संग्रौलाको स्वास्थ्यमासमेत उल्लेखीय सुधार भएको चिकित्सकले बताएका छन् । साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार