प्युठान : मेला महोत्सवमा कलाकारको गीतमा दर्शक मन्त्रमुग्ध हुन्छन्। तर प्युठानको स्वर्गद्वारी महोत्सवमा आइतबारको माहोल निकै फरक थियो। दर्शक कलाकारको गीत र कमेडीमा नभई सांसदको प्रेरणादायी भाषणमा मन्त्रमुग्ध थिए। त्यसरी प्रेरणादायी भाषण गर्ने नेत्री थिइन्, सांसद शान्ता चौधरी।
शान्ताको भाषण सुन्दै जाँदा दर्शक डग्मगाएनन्। उनले सुरुमै प्युठानसँग आफ्ना बुवाको सम्बन्ध रहेको सुनाइन्। उनका बुवाले प्युठानको उदयपुरकोट र चकचकेको बारेमा आफूलाई बताइरहने गरेको उनले स्मरण गरिन्।
जब उनले बाल्यकालमा आफूले भोगेको कमलरी पीडा सुनाउँदै गइन्, त्यसपछि दर्शकले उनको भाषण निकै चासोका साथ सुने। टाढाटाढा बसेका दर्शक उनको मन्तव्य सुन्न नजिक आएको देखिन्थ्यो। चौधरीको त्यो मन्तव्य नेताले बोलिरहने झुट्टा आश्वासनजस्तो थिएन्। उनले दर्शकलाई प्रेरणा बाँडिरहेकी हुन्थिन्। कमलरी जीवनमा आफूले पाएको पीडा, पढ्न नपाएको दुःखेसो र संघर्षले दिलाएको सफलताका बारेमा उनले निकै सरल र मिठासपूर्ण शब्दमा व्यक्त गरिन्। महोत्सवमा आएका दर्शकलाई उनको झन्डै आधा घण्टाको त्यो मन्तव्य प्रेरणादायी बन्यो।
आठ वर्षको उमेरदेखि जमिनदारीको घरमा दासी जीवन बिताएको संघर्ष पोख्दा धेरै दर्शकको आँखा रसाए। उनले १८ वर्ष कमलरी पीडा भोगेको सुनाइन्। त्यो बेलाको संस्कारलाई उनले दोष दिइनन्। तर अझै पनि त्यो बेलाको सोचबाट परिवर्तन हुन् भने महिला दिदीबहिनीहरूलाई सन्देश छाडिन्। ‘महिलाहरू सधैं पछाडि पर्नुपर्छ भन्ने छैन्’, उनले भनिन्, ‘संघर्षले नै हो मेरो जीवन फेरिएको हो।’
उनी २०६३ सालमा कमलरी प्रथाबाट मुक्त भइन्। २०६४ सालमा संविधानसभामा प्रवेश गरिन्। ‘संविधानसभामा छिर्दा आफ्नै नाम शान्ता राम्रोसँग लेख्न जान्दैन्थे’, विगत सम्झँदै दर्शकलाई उनले भनिन्, ‘अहिले एसईई पनि पास गरे। कानुन विषय पढ्दै छु। संघर्ष गरे असम्भव भन्ने केही रहेनछ।’ कानुन बनाउने ठाउँमा आफू भएको बताउँदै उनले पिछडिएका महिलाहरूको मुक्तिका लागि आवाज उठाइरहने बताइन्। इच्छा शक्ति भएपछि अप्ठ्यारो देखिने सबै कुरा सहज बन्दै जाने उनको विगतको अनुभवले सिकाएको छ। मेला महोत्सवलाई रमाइलोमा मात्र सीमित नराखी ज्ञानका कुरा बाँड्नलाई पनि उपयोग गर्न उनले आयोजकलाई सुझाव दिइन्। राजनीतिक क्षेत्रमा समेत आफूले धेरै छलाङ मारेको उनले सुनाइन्। दाङ निवासी चौधरी हाल नेकपाकी केन्द्रीय सदस्य र नेकपा संसदीय दलकी सचेतकसमेत हुन्।
पीडा र सफलता सुनाउँदा महिला दिदीबहिनीहरूलाई हौसला थपिने आशाले आफ्नो विगत कोट्ट्याएको उनको भनाइ छ। बुवाले खाली खुट्टा जमिनदारको छोरीचेलीको भारी बोकेर प्युठानको चकचके, बिजुवार र उदयपुरकोटमा आएको विगत सुनाउँदा उनी आफैं भावुक थिइन्। ‘मेरो बुवाले भारी बोकेर पैंतालामा ठेला उठाएको ठाउँ आउँदा हर्षका आँसु झरेका छन्’, उनले भनिन्, ‘जीवन परिवर्तन भए पनि विगत भुलिँदो रहेन्छ।’ उनले महोत्सवमा आउने जनप्रतिनिधिहरूलाई आफूले बोलेका वाचा पूरा गरे, नगरेको बारे प्रश्न गर्नसमेत दर्शकलाई सुझाव दिइन्।
अन्नपूर्ण पाेष्टबाट साभार