• होमपेज
  • देश
  • गर्भभित्रैबाट बाबालाई चिठी

गर्भभित्रैबाट बाबालाई चिठी

  • बिहिबार, फाल्गुन १५, २०७६
गर्भभित्रैबाट बाबालाई चिठी

बैतडी : बैतडीको पाटन नगरपालिकाले नगरपालिकाका गर्भवतीलाई ‘मेरो बाबालाई चिठी’वितरण गर्ने कार्य सुरु गरेको छ । गर्भावस्था विशेष अवस्था भएकाले पेटभित्रको बच्चाको आग्रहसहितको चिठी वितरण गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

गर्भमा बच्चा भएको बेला आमाको स्याहार सुसार गर्नुपर्ने भएकाले परिवारका सदस्यलाई जिम्मेवार बनाउन चिठी वितरण गर्न थालिएको उनले बताए । उनले भने, ‘गर्भावस्थामा आमाको हेरविचार गर्नुपर्छ भन्ने कुरातर्फ परिवारका सदस्यलाई जिम्मेवार बनाउनका लागि चिठी वितरण गर्न थालेका हौं ।’

चिठीमा बच्चाले आफू आमाको पेटमा हुर्किरहेको र यो बेला आमालाई पोषिलो खानेकुरा दिनुपर्छ भनेर बाबालाई भनेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । गर्भवती भएको बेलामा आमाले नियमित गर्भजाँच गराउनुपर्ने, अन्य समयको तुलनामा बढी पोषिलो खानेकुरा खानुपर्ने, बढी आराम गर्नुपर्ने चिठीमा छ ।

‘चिठीमा भएको सन्देशले आमाको स्वास्थ्य र पोषणका विषयमा बढी जिम्मेवार हुन प्रेरित गर्नेछ’, उनले भने, ‘ग्रामीण क्षेत्रमा अझै पनि नियमित गर्भजाँच गराउने आमाहरूको संख्या कम छ । गर्भवती भएको बेला आमालाई जोखिम नहोस् र परिवारका सदस्यहरु जिम्मेवार बनुन् भनेर यो अभियान सुरु गरेका हौं ।’

नगरपालिकाले सबै स्वास्थ्य संस्थामार्फत प्रत्येक गर्भवती महिलाको घरमा चिठी पुर्‍याउने काम गरिरहेको हो । चिठीमा गर्भवती आमाले कुन कुन महिना गर्भजाँच गर्नुपर्छ भन्ने कुरा पनि उल्लेख गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

चिठीमा घरबाहिर भएका बुवाहरूलाईसमेत घर फर्केर आमाको स्वास्थ्यको ख्याल गर्न बच्चाले आग्रह गरेको छ । गर्भावस्थामा आमाले खाएको खाना बच्चाले पनि पाउने भएकाले यो बेला ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । पेटभित्रको बच्चाको बाबालाई चिठी पुगेपछि गर्भवती आमा र स्वास्थ्य र पोषणका विषयमा घरपरिवार जिम्मेवार हुने सुआहाराका फिल्ड सुपरभाइजर निर्मला भट्टले बताइन् ।

‘कतिपय बुवाहरू रोजगारका लागि बाहिर जाने गरेका छन् । पेटमा बच्चा भएको बेला आमालाई सहयोग गर्नुपर्छ भन्ने सन्देश चिठीले दिएको छ’, उनले भनिन्, ‘चिठीमार्फत भनिएका कुरालाई मनन गर्न सके गर्भावस्थामा आउन सक्ने जोखिम कम गर्न सकिन्छ र पेटभित्रको बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ ।’

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार