शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा नेकपाभित्र कोर्स चेन्जको संकेत

बाजुरामा नेकपाभित्र कोर्स चेन्जको संकेत

  • बिहिबार, फाल्गुन १, २०७६
बाजुरामा नेकपाभित्र कोर्स चेन्जको संकेत

अर्जुन शाह / बाजुरामा नेकपाको कार्यालय गठन, सचिवालय, विभागहरु, निर्वाचन क्षेत्र, पालिका संगठनसहित जिल्ला कमिटीमा सदस्यहरु मनोनयनमा देखिएको सिनारियोसंगै नेकपा बाजुराको राजनीतिक तथा सांगठनिक शक्ति संरचनामा नयाँ कोर्स आरम्भ हुने संकेत देखापरेको छ ।
यसअघि पूर्व नेकपा माओवादीका नेताहरुले तुलनात्मक रुपमा एकतावद्ध भएको संदेश र रणनीति अख्तियार गर्दै आए । उनीहरु पूर्व नेकपा एमालेका नेताहरुबीचको रडाकोको बीचमा नपर्ने तर जमेर दर्शक बन्ने नीतिमा थिए र आगामी दिनमा पनि सम्भवतः त्यही रणनीतिमा उनीहरुले फ्लो गर्ने छन् । उनीहरुलाई उपल्लो तहबाट निर्देशन पनि त्यही थियो ।
यता पूर्व एमालेका नेताहरुकै बीच चरम शक्ति संघर्ष जारी थियो । बुधबार गरिएको संगठनमा पुर्णताका क्रममा पनि त्यही दोहोरिने छनक देखिएको छ । यति मात्रै हैन आगामी दिनमा शक्ति सन्तुलनको अवस्था झन चर्कोगरि सतहमा देखिने अनुमान गर्न कठिन छैन । किन कि त्यसता प्रसस्त संकतेहरु देखिएका छन् । संरचनागत शक्ति सन्तुलनको अवस्थामा हिजोको भन्दा कोही माथि र कोही तल पनि पर्न सक्ने संकेतहरुपनि संगसंगै विकसित भएर जवरजस्त आएका छन् ।
किन कि एकातिर बुधवार गठित संरचना निर्माणमा को हावी रह्यो भन्ने कुरा बुझ्न कठिन छैन । अर्कोतिर बाजुरा नेकपाभित्रको राजनीति जान्न र बुझ्नका लागि कुन दृष्टिकोण र योजनाका साथ पछिल्ला घटनाक्रमहरु विकास भइरहेका छन् ? सदस्यहरुको मनोनयन तथा जिम्मेवारीको चरित्र के रह्यो भन्नेकुराको जरैमा पुग्नु पर्ने हुन्छ ।

अब स्वभाविक रुपमा कार्यालय संरचनाले पुरै बाजुराको नेकपालाई चलाउने छ । अर्थात निर्णायक संरचना त्यही हो । त्यसभित्र पूर्व एमालेका ४ र पूर्व एमाओवादीका ३ जनाको प्रतिनिधित्व छ । पूर्व एमाओवादीका प्रतिनिधिहरु आगामी दिनमा पनि कतै पनि नलहसिने रणनीति अख्तियार गर्ने छन् । अर्थात पूर्व एमालेका नेताहरुबीचको संघर्षको बीचमा उनीहरु आफुलाई पार्ने छैनन् । तथापी उनीहरुभित्रै पनि केही असन्तुष्टिका स्वरहरु नसुनिएका भने हैनन् । तर ती त्यति मजबुत देखिन्नन् । यसर्थ विगतलाई हेर्दा आगामी दिनमा पनि उनीहरु सबैसंग ठिक्क को रणनीतिमा लाग्नेछन् ।
यता अध्यक्ष कालीबहादुर शाहीले संघीय सांसद लालबहादुर थापालाई च्याप्ने देखिएको छ । गगन रावलले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई साथ दिने छन् । र जनक कुमार बोहराले प्रदेश अध्यक्ष कर्ण थापालाई डटेर काँध थाप्ने प्रष्टै देखिन्छ । अर्का कार्यालय सदस्य लालबहादुर ओली सम्भवतः तटस्थ रहने योजनामा छन् । किन कि एउटा सत्य के हो भने कार्यालयमा आएका सदस्यहरु जिल्ला कमिटिमा जसतो कसैको कृपाले नभई पद्धतिले आएकाहरु छन् । त्यसैले पनि यही पेरिफेरिमा नेकपाभित्रको राजनीति घुम्ने देखिन्छ । र अहिलेसम्मको अवस्था हेर्दा प्रकाश शाहप्रति लोयल देखिदै आएका पूर्व एमाओवादीतर्फबाटका कार्यालय सदस्यहरुकै निर्णायक रोल रहने छ । अर्थात उनीहरु जता ढल्क्यो उतै बहुमत हुने छ । साथै यस हिसावले अबको शक्ति सन्तुलन अस्थिरता, ऐजेण्डावेस पनि हुनसक्ने छाँट देखिन्छ । कार्यालय सदस्य बाहेक सचिवालयमा रहेका पुरबहादुर रावतलगायतका केही नेताहरुको भूमिका पनि जवरजस्त हुनेछ ।
यस बाहेक शीर्ष नेताहरुबीच कस्तो सम्बन्ध विकास हुन्छ भन्ने कुराले पनि प्रभाव पार्ने छ । जिल्ला इन्चार्जसमेत रहेका लालबहादुर थापा र प्रदेश अध्यक्ष थापाबीच यसअघि कायम रहेजस्तो ‘अविश्वास र बाध्यताको राजनीति अब एउटै बुँदा झर्न सक्छ । कि त अविश्वास बढेर टकरावमा जान सक्ला वा केही समय बाध्यताकै रुपमा पनि रहिरन सक्ला । अर्का नेता प्रकाश शाहले अख्तियार गर्ने रणनीति जान्न अझै केही समय पर्खनै पर्नेछ । 
सचिवालय र जिल्ला कमिटीको संरचनाले पनि अर्थ नराख्ने भन्ने हुदैन । अहिलेकै बिन्दुबाट सचिवालय र जिल्ला कमिटीमा ल्याइएकाहरु थोरै बाहेक धेरैजसो कुनै न कुनै नेताको कृपाबाट आएकाहरु हुन् । आगामी दिनमा उनीहरुलाई शीर्ष नेताहरुले आफुतिर झन धेरै च्याप्न खोज्ने छन् । आजकै बिन्दुबाट विष्लेषण गर्दा पनि आम कार्यकर्ताहरुले एकतावद्ध र सुदृढ नेकपाको चाहना राखिरहेका भएपनि तत्काल त्यो सिनारियो नदेखिनु तितो यथार्थ हो । त्यसक्रममा पनि नेकपाभित्रको कोर्सले कोल्टे फेर्नसक्ने संकेतहरुको अनुमान गर्न सकिन्छ ।
सचिवालय गठन र विभागहरुमा ल्याइएका प्रतिनिधि तथा जिल्ला कमिटिमा मनोनित गर्दाको अवस्था हेर्दा पनि नेताहरुले हदैसम्मको रुग्णता देखाएका छन् । नेताहरुको ब्रम्ह्रले आफु अनुकुल नठानेका कार्यकर्ताहरुलाई बेस्सरी मुक्याएर पर धकेलेका छन् ।

कतिपय कार्यकर्ताका लागि न्याय मरे सरह भएको छ । नेताहरु यतिधेरै साँघुरो चित्तका देखिए कि मार्तडीकै कुरा गर्ने हो भने मानबहादुर कार्की, धर्मराज पाध्याय, जंग बिकहरुलाई बेहिसाव कर्नरमा पारिएको छ । उनीहरु मध्ये कम्तीमा एकजनालाई त अवश्य सम्बोधन हुर्नै पर्ने थियो । तर भएन । उता नीरबहादुर  शाही लगाएतका सिनियर कार्यकर्तालाई पनि नराम्ररी पाखा लगाईएकाे छ । याेग्दान गरिरहेका र गर्दै आएका तमाम महिला कार्यकर्ताकाे पनि उस्तै हालत गराईयाे ।  प्रवृति र मनस्तिथीको परिणाम शक्ति संघर्ष बढ्दै जाने निश्चित छ । एउटा तथ्य के हो भने कसैलाई साफ पार्ने दुराभावना राजनीतिमा जहिल्यै सफल भइरहला भन्ने हुदैन । कहिले काही ठिक उल्टो नजिता पनि आइलाग्छ । बाजुरामा नेताहरुले त्यो ख्याल गरेको देखिन्न । नरेश रोकाया, शुरेश बिक, चेतन अयडी, हिरेन्द्र बाँनियालगायतले बुधबार सामाजिक सञ्जालमार्फ सार्वजनिक गरेका टिप्पणीहरुले पनि आफैमा गहिरो अर्थ झल्काइरहेको छ । र अवस्था बुझ्न सकिन्छ ।
यसरी अन्तरसंघर्षमा रुमल्लिदै गर्दा सत्तामा रहेको नेकपाले आफ्ना चुनावी घोषणापत्रहरु बिर्सन सक्ने जोखिम पनि उत्तिकै छ । विगतको तुलनामा विकासका योजनाहरु प्रसस्तै भित्रिएका भएपनि २ बर्षको अवधिलाई हेर्दा रणनीतिक तथा दिगो विकासको मार्ग उनीहरुले समातेको देखिन्न । आगामी ३ बर्षपनि उनीहरु व्यवस्थित श्रोत परिचालनमा ख्याल नगरे नेकपाबाट आम जनताले सोचेजस्तो लाभ नपाउने सक्ने खतरा पनि उत्तिकै विकास हुन सक्छ ।

  • आगामी दिनमा शक्ति सन्तुलनको अवस्था झन चर्कोगरि सतहमा देखिने अन’मान गर्न कठिन छैन  ।
  • आगामी दिनमा शक्ति सन्तुलनको अवस्था झन चर्कोगरि सतहमा देखिने अनुमान गर्न कठिन छैन ।
  • संरचनागत शक्ति सन्त’लनको अवस्थामा हिजोको भन्दा कोही माथि र कोही तल पनि पर्न सक्ने संकेतहरुपनि संगसंगै विकसित भएर जवरजस्त आएका छन् ।
  • अहिलेसम्मको अवस्था हेर्दा पूर्व एमाओवादीतर्फबाटका कार्यालय सदस्यहरुकै निर्णायक रोल रहने छ । अर्थात उनीहरु जता ढल्क्यो उतै बहुमत हुने छ । साथै यस हिसावले अबको शक्ति सन्तुलन अस्थिरता, ऐजेण्डावेस पनि ह’नसक्ने छाँट देखिन्छ ।
  • आम कार्यकर्ताहरुले एकतावद्ध र सुदृढ नेकपाको चाहना राखिरहेका भएपनि तत्काल त्यो सिनारियो नदेखिन’ तितो यथार्थ हो ।
  • नेताहरुको ब्रम्ह्रले आफु अनुकुल नठानेका कार्यकर्ताहरुलाई बेस्सरी मुक्याएर पर धकेलेका छन् । कतिपय कार्यकर्ताका लागि न्याय मरे सरह भएको छ । कार्यालयमा आएका सदस्यहरु कसैको कृपाले नभई पद्दतिले आएका हुन् ।

लेखकका यी व्यक्तिगत विचार हुन् ।

चर्चामा

सम्बन्धित समाचार