शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना भाइरसले मर्नेको संख्या २१३ पुग्यो, संक्रमितहरुको संख्या ९,८०९

कोरोना भाइरसले मर्नेको संख्या २१३ पुग्यो, संक्रमितहरुको संख्या ९,८०९

  • शनिबार, माघ १८, २०७६
कोरोना भाइरसले मर्नेको संख्या २१३ पुग्यो, संक्रमितहरुको संख्या ९,८०९

चीनमा कोरोनोभाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ भने संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको छ । यतिखेर १०२,००० जना मानिसहरुलाई सम्भावित संक्रमणको आशंकामा चिकित्सीय निगरानीमा राखिएका छन् ।

चीनको हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको मानिएको नोबेल कोरोनाभाइरसको संक्रमणले यतिखेर करिब करिब चीनको ३१ वटै प्रान्तहरुलाई चपेटमा लिएको छ । यो महामारी विश्वभरिनै फैलिँदै जाँदा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

चीनको मुख्यभूमिभन्दा बाहिर अन्य देशहरुमा यो नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमितको संख्या १४० पुगेको छ । तीमध्ये ६ वटा अमेरिकामा, दुई वटा बेलायतमा छन् । त्यसैगरी, रुसमा पनि कोरोनाभाइरसका संक्रमित फेला परेका छन् ।

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने वा कम गर्ने प्रयासको सिलसिलामा अहिले चीनका विभिन्न शहरहरुमा विगत एक हप्तादेखि ६ करोड जति मानिसहरु आंशिक या पूर्णतः आवातजावातमाथिको प्रतिबन्ध खेपिरहेका छन् । कोरोनाको संक्रमणका डरले वुहान लगायत चीनका कतिपय शहरहरु सुनसान बनेका छन्, मानिसहरु घरभित्रै आफूलाई ‘कैद’ गरेर बसेका छन् ।

नयाँ कोरोनोभाइरसको उत्पत्ति थलो भनिएको वुहान शहरमा फसेका विदेशी नागरिकहरुलाई उद्दार गर्ने क्रम जारी छ र विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई विशेष विमान पठाएर उद्दार गरिरहेका छन् ।

टर्कीबाट २० करोड मास्क मगाइयो

संसारभरि नै सबैभन्दा बढी मास्क उत्पादन गर्ने देशमा चीन अग्रपंक्तिमा आउँछ । तर मास्क उत्पादनमा अग्रणी मुलुक चीनले नै टर्कीबाट २० करोड मास्क मगाएको छ ।

वुहान भाइरसको संक्रमणलाई रोक्नका चीनले विगत १० दिनमा त्यति ठूलो संख्यामा मास्क मागाएको हो । स्मरणीय कुरा के छ भने टर्कीले वार्षिक रुपमा १५ करोड मास्क उत्पादन गर्दै आइरहेको छ ।

त्यसो त त्यस्ता रक्षात्मक फेस मास्कको माग चीनबाट मात्रै हैन, इटाली, नेदरल्याण्ड, फ्रान्स, पोल्याण्ड र जर्मनीबाट पनि आइरहेको छ । त्यो मागका कारण यतिखेर टर्कीका मास्क उत्पादक कम्पनीहरु दिनको २४घण्टा र हप्ताको सातै दिन मास्क उत्पादनमा लागिरहेका छन् ।

भारतले सुरक्षात्मक मास्क र कपडाहरु निर्यातमा प्रतिबन्ध लगायो

भारतले मास्क र कपडाहरु जस्ता व्यक्तिगत सुरक्षाका सामग्रीहरुको निर्यातमा प्रतिबन्ध लगाएको हो । उसले कोरोनाभाइरसको महामारी विश्वभरि नै फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उक्त कदम चालेको हो ।

ग्वाटेमालाले प्रतिबन्ध लगायो

ग्वाटेमालाको सरकारले भरखरै चीनबाट आएका मानिसहरुलाई यात्रा गर्नमा पूर्णतः प्रतिबन्ध लगाएको छ । त्यसैगरी, विगत १५ दिनदेखि चीनमा रहेका मानिसहरुलाई पनि मुलुकको बन्दरगाहा, हवाइअड्डा, स्थल मार्गहरुबाट प्रवेश गर्न प्रतिबन्ध लगाइने भएको छ । त्यसैगरी, गत १५ दिनमा चीन भ्रमण गरेका जहाजका कर्मचारीलाई पनि ग्वोटमाला प्रवेशमा रोक लगाइने र कदाचित प्रवेश गरेको पाइएमा तुरुन्तै अलगथलग पारेर राखिने भएको छ ।

२०२१ सम्ममा खोप बन्ने आशा

फ्रान्सको पाश्चर इन्स्टिच्यूट फाउण्डेसनले आगामी २० महिनाभित्रमा वुहान नोबेल कोरोनाभाइरसका विरुद्ध खोप बनाउने लक्ष्यका साथ एउटा विशेष टीम तयार गरेको छ ।

पाश्चर इन्स्टिच्यूटका एकजना साइन्टिफिक डाइरेक्टर क्रिस्टोफ दे’इन्फर्टले पेरिसमा पत्रकारहरुलाई जानकारी दिए अनुसार, सबै कुरा सही ढंगले अघि बढ्यो भने २० महिनाभित्रमा खोप उपलब्ध हुनेछ । ‘आगामी अगस्तको अन्त्यतिर हामीले क्लिनिकल ट्रायलहरु गर्न सक्नेछौं र सबै कुरा ठीकठाक भयो भने २० महिनाभित्रमा भ्याक्सिन पाउनेछौं ।’

केही महिनामा खोप बन्ने जर्मनीको आशा

उता जर्मनीका अनुसन्धान मन्त्रीले चाहिँ कोेरोनाभाइरसका विरुद्धमा केही महिनाभित्रमै खोप बन्न सक्ने आशा व्यक्त गरेकी छिन् ।

मन्त्री अन्जा कार्लिजेक भन्छिन्, हामीले यो बिरामीलाई नियन्त्रण गर्न चाहन्छौं भने हामीले सक्दो चाँडो खोप बनाउनै पर्छ र हामी आशा गर्छौं त्यो केही महिनाभित्रमै हुनेछ ।’

पाकिस्तानले सहयोगको प्रस्ताव गर्यो

सारा संसारले चीनबाट आफ्ना नागरिकहरुलाई निकाल्न खोजिरहेको बेलामा चीनका असल छिमेकी पाकिस्तानले चाहिँ चीनमा स्थलगत अस्पताल तथा डाक्टरहरुको एउटा समूह पठाउने प्रस्ताव गरेको छ ।

पाकिस्तानको विदेश मन्त्री मकदुम शाह कुरेशीले आफ्ना समकक्षी वाङ यीसँगको कुराकानीमा सो प्रस्ताव गरेको हो ।

अमेरिकी विमान कम्पनीले सबै उडानहरु स्थगन गर्यो

अमेरिकाको डेल्टा एयरलाइन्स इंकले आफ्ना सबै अमेरिका–चीनका सबै उडानहरु स्थगित गरेको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले कोरोनाभाइरसका विरुद्ध ट्राभल एडभाइजरीलाई कडाइका साथ जारी गरेपछि विमान कम्पनीले सो कदम चालेको हो ।

यसअनुसार, सो कम्पनीले आफ्नो अन्तिम उडान चीनका लागि अगामी फेबु्रअरी ३ का दिन गर्नेछ र त्यहाँबाट फर्किने अन्तिम उडान फेब्रुअरी ५ का दिन गर्नेछ । यो उडान स्थगन आगामी अप्रिल ३० सम्म गर्ने भएको छ ।

भियतनामले पनि उडान स्थगन गर्ने

भियतनाम एरलाइन्सले पनि चीनका लागि आफ्ना सबै उडानहरुलाई आगामी हप्तादेखि स्थगन गर्ने जनाएको छ ।

यसले बेजिंग, सांघाई, ग्वान्जाओ, र सेनजेनका सबै उडानहरु मंगलबारदेखि, छेन्दको बुधबार र मकाओको बिहीबारदेखि आफ्ना सबै उडानहरु स्थगन गर्ने जनाएको छ ।

त्यसैगरी, भियतनाम एयरलाइन्सले हंगकंगको उडान पनि स्थगन गर्ने भएको छ ।

रुसले चीनबाट नागरिकहरुलाई उद्दार गर्ने

आफ्ना सुदुुर पूर्वी क्षेत्रको बाटो भएर रुसले आफ्ना नागरिकहरुलाई चीनबाट उद्दार गर्ने भएको छ ।

भाइरसका बारेमा अनावश्यक आतंकित हुनुपर्दैन

यसबीच चीनले कोरोनाभाइरसलाई लिएर अनावश्यक आतंकित नहुन विश्व समुदायलाई आग्रह गरेको छ । जेनेभामा चीनका राजदूृत चेन झुले सो आग्रह गर्दै सीमा बन्द गर्ने जस्ता कदमहरु लिइबस्नु जरुरी नै नभएको बताएका छन् ।

भाइरसमाथिको नियन्त्रण अझै जटील

वुहानमा कोरोनाभाइरसलाई नियन्त्रण गर्ने कार्य अझै पनि ‘गम्भीर र जटील’ रहेको कुरा त्यहाँको मेयर झ जियानवाङले बताएका छन् ।

उपमेयर झु होङलानले बताएअनुसार त्यहाँ मास्क र अन्य स्वास्थ्य सामग्रीहरु पर्याप्त मात्रामा छैनन् ।

२०२० को ओलम्पिक रद्द नहुने

कोरोनोभाइरसको महामारीकै कारण २०२० मा टोकियोमा हुने भनिएको ओलम्पिक रद्द हुने हल्ला पनि चल्न थालेको छ । तर आयोजकहरुले उक्त कुराको खण्डन गरेको छ ।

इटालीले आपतकाल घोषणा गर्यो

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन तथा त्यसका विरुद्ध लड्नका लागि इटालीले आपतकालको घोषणा गरेको छ ।

इटालीमा कोरोनाभाइरसका दुईजना संक्रमित फेलापरेपछि त्यहाँको सरकारले उक्त कदम चालेको हो ।

चर्चामा

सम्बन्धित समाचार