राष्ट्रिय राजनीतिको सरगर्मी बढेका बेला देश चिसोले कठ्यांग्रिएको छ । तराईका जिल्लाहरूमा शीतलहर बढेको बढेकै छ । मान्छेहरूलाई रात र दिन छुट्याउन गाह्रो भइरहेको छ । घामको मुख देख्न नपाएको धेरै दिन भइसक्यो । अझ कति दिन देख्न नपाइने हो, ठेगान छैन । बेलुका सद्दे सुतेको मान्छे बिहान कहिल्यै नब्युँझने चिर निद्रामा डुब्नेहरूको संख्या दिनानुदिन बढेको बढेकै हुन्छ ।
जनता चिसोले मैदानमा कठ्यांग्रिएका बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस गरिरहेका हुन्छन् । एउटा ताजा जनादेशको कुरा गर्छन्, अर्को संविधानको धारा, उपधारा पढीबाँची सुनाउँछन् ।
झाडापखालाको प्रकोप जाजरकोटले थेग्न नसक्दैँ जीवनजल नपाएर जाजरकोट जर्जर भइरहेका बेला शीतलहरले दिनदिनै ज्यान गुमाइरहेका ती निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश चमार, डोम, दुसाध,….गरिब दलितहरू यो देशका नागरिक हुन् कि होइनन् ?
आफ्नो परिश्रमको लागि आँशु चुहाँउने किसान हजुरहरुको अन्नदाता हो या होइनन् ? जीवनजल नपाएर ज्यान गुमाइरहने जाजरकोटका ती दुखी गरीबहरू यस देशका मतदाता हुन् कि होइनन् ? यदि हुन् भने कम्तिमा हजुरहरू वातानुकूलित बंगलामा राज हुँदा उनीहरूले शीतलहरबाट बच्न एकसरो कपडा र राति ज्यान छोप्ने कम्बल पाउनुपर्छ कि पर्दैन ? हजुरहरू जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा जाजरकोटका जनताले जीवनजल पाउनु पर्छ कि पर्दैन ? पसिनाको कमाइले हात मुख जोड्दै गरेका आजको दिन सम्म मण्डलामा कठ्यांग्रिएका उखु किसानले न्याय पाउँनु पर्छ पर्दैन ? कि जनता हजुरहरुको भोट बैंक मात्रै हो ?”
मुखिया हजुर ! के हामी जनता मदारीले नचाउने बाँदर हौं ? हजुरहरूले जता नचायो त्यतै नाचिदिनुपर्ने ?
मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ- के हाम्रो देशमा सरकार छ ? देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।
आफ्नो पसिनाको कमाइले हात मुख जोड्दै आएका उखु किसान न्यायको खोजीमा काठमाडौँ आएका छन्। उफ! कस्तो बिडम्बना !! हे पशुपतिनाथ ! मेरो देशलाई के भइरहेको छ ? बचाऊ प्रभु बचाऊ !
नागरिक विनाको राज्य हुँदैन । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानवअधिकार हो । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो ।ऋण काडेर काठमाडौँ आउन विवश उखु किसानको पीडामा सरकार मूकदर्शक नबनोस्।