बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मारियो, ४५ करोडको अण्डा नष्ट

मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मारियो, ४५ करोडको अण्डा नष्ट

  • बुधबार, पुस २, २०७६
मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मारियो, ४५ करोडको अण्डा नष्ट

आज पुस २ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा समाचारहरुको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको समाचार छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । तीन चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ । संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरुको छ । व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरुले खेद व्यक्त गरेका छन् । संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ । यसै क्रममा काठमाडौँ, चितवन, पोखरा, बुटवल, धनगढीलगागत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो । संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत गाडेको छ ।

पत्रिकामा काँग्रेसभित्र जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको समाचार पनि छ । १४ औँ महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समायवधि थपसँगै समितिलाई पूर्णता दिन छलफल सकारात्मक बन्दै गएको नेताहरुले बताए । सहमति निर्माणका लागि संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको कार्यदल बैठक दिनहुँ बसे पनि टुङ्गोमा पुग्न सकेको छैन । मंगलबार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको दाबी नेताहरुले गरेका छन् । बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि ठोस सहमतिमा पुग्न सकिने विश्वास उनीहरुको छ ।

पत्रिकामा नेकपा स्थायी समितिमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पक्षधर नेताहरु राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएको समाचार पनि छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता विरोधमा उत्रिएका छन् । सोमबार र मंगलबारको बैठकमा २५ जना नेताहरुले धारणा राखेका छन् । जसमा नेपाल पक्षधर नेताहरुले सरकार र पार्टी नेतृत्वको कार्यशैलीको खुलेर विरोध जनाए । ओली पक्षधर नेताहरुले सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन् ।

कान्तिपुर दैनिकमा सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामाकरण गरिएको समाचार छ । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम ‘लालगुराँस’ भएको छ । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १०० औँ वार्षिकोत्सवका अवसरमा सौर्यमण्डलबाहिर रहेका तारा र ग्रह नामाकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन् । सगरमाथा तारालाई नेपालबाट सानो टेलिस्कोपबाट समेत राम्ररी देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवम् आईएयूका नेपाल प्रतिनिधि सुरेश भट्टराईले बताए । ‘सगरमाथा तारालाई परिक्रमा गर्ने ग्रह पत्ता लागे नेपालीबाट नामाकरण गरिनेछ,’ उनले भने । सोसाइटीका अनुसार सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ । यो तारा सूर्यजस्तै छ । यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ । लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवनको सम्भावना छैन । यसको चन्द्रमा भेटिए त्यहाँ जीवन हुन सक्ने सोसाइटीले जनाएको छ ।

पत्रिकामा विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि सत्तारुढ दलका नेताहरुले नै प्रश्न उठाइरहेको बेला अमेरिकाले भने यससम्बन्धी परियोजना नेपाल सरकारकै पहल र अनुरोधमा आएको खुलासा गरेको समाचार छ  अमेरिकी राजदूत -यान्डी डब्लु बेरीले एमसीसी सम्झौता कार्यान्वयनले नेपाल छिट्टै आर्थिक समृद्धिको बाटोमा जाने प्रतिक्रियासमेत दिएका छन् । एमसीसीसँगको सम्झौता यो साता सुरु हुने संसद्को हिउँदे अधिवेशनमा अनुमोदन गराउने सरकारको तयारी छ तर सत्तारुढ नेकपाभित्रै विपक्षमा पनि आवाज उठिरहेको छ । अमेरिकी राजदूत बेरीले भने सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनेमा विश्वस्त रहेको बताए । एमसीसी नेपाल कार्यालय अन्तरगत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले पनि एमसीसी सम्झौतालाई संसद्बाट अनुमेदन गराइछाड्ने नेपाल सरकारको प्रतिबद्धता यथावत रहेको प्रतिक्रिया दिए ।

नागरिक दैनिकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको समाचार छ। सोमबार दिउँसो स्थायी कमिटी बैठक सुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो। स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीभित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ। आफैंले तयार पारेका प्रतिवेदनलाई चुनौती दिँदै दाहाल स्वंयले पूर्वमाओवादी खेमाका नेतालाई निवासमा बोलाएर बैठक गरेको स्रोतले जनाएको छ। यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जानकारी दिइएको छैन। स्वास्थ्यका कारण ओली स्थायी कमिटी बैठकमा उपस्थित भएका छैनन्।

यता, प्रतिनिधिसभाका सांसद भैरवबहादुर सिंहले समानुपातिक संसदसँग राय परामर्श तथा छलफल नगरी एकलौटी ढंगले योजना विनियोजन गरेको भन्दै सिंह र सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सिंहले आर्थिक वर्ष ०७६/७७ का लागि आएको स्थानीय निकाय पूर्वाधकार विकास कार्यक्रमको ६ करोड रुपैयाँ एकलौटीरुपमा विनियोजना गरेको भन्द्यै नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद तथा प्रतिनिधिसभा सदस्य प्रकाश रसाइलीले मुद्दा दायर गरेका हुन् ।

नयाँ पत्रिका दैनिकमा १० करोड बजारमूल्यबराबरको तीन केजी कोकिनसहित बोलेभियन महिला पक्राउ परेको समाचार छ । नेपाली बजारलाई लक्षित गरेर काठमाडौं भित्र्रयाइएको तीन किलो कोकिनसहित प्रहरीले एक बोलिभियन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी ब्राजिलबाट दुबई हुँदै काठमाडौं उत्रिएकी थिइन् । ज्याकेटमा फल्स बटन बनाई उनले कोकिन ल्याएको प्रहरीको भनाइ छ । ब्युरोका एसएससपी वसन्त लामाले बरामद लागुऔषध काठमाडौंमै खपत हुने उद्देश्यले ल्याइएको बताए । तर, उनले कसका लागि ल्याएको भन्ने खुलिसकेको छैन । ‘ज्याकेटभित्र फल्स बनाई तीन किलो कोकिनसहित पक्राउ परेकी महिलाले काठमाडौंमा कसैलाई जिम्मा दिने उद्देश्यले लागुऔषध ल्याएको बताएकी छिन् । तर, ती व्यक्ति को हुन्, त्यसको सम्बन्धमा भने केही खुलेको छैन । अनुसन्धान जारी छ,’ उनले भने । प्रहरीका अनुसार अवैध बजारमा कोकिन प्रतिग्राम न्यूनतम ३५ हजार रुपैयाँमा बिक्छ । यस आधारमा बरामद कोकिनको मूल्य १० करोड पचास लाख रुपैयाँ हुन्छ । एसएसपी लामाले अवैध बजारमा कोकिनको मूल्य निकै महँगो पर्ने बताए । यसअघि प्रहरीले अवैध कोकिनसहित आइभोरिकोस्टका नागरिक मार्केल गुही र बाज्रिलियन नागरिक सर्गिओ त्रुसलाई पक्राउ गरेको थियो । पक्राउमध्ये गुहीबाट एक किलो ६ सय ग्राम र त्रुसबाट दुई किलो एक सय ग्राम कोकिन बरामद भएको थियो । बरामद कोकिनको मूल्य १२ करोड ९५ लाख रुपैयाँ पर्छ ।

पत्रिकमा हुम्लामा ६ दिनदेखि हवाई सेवा ठप्प भएको समाचार पनि छ । हुम्लामा एक मात्र यातायातको साधन हवाई सेवा ६ दिनदेखि ठप्प छ । बिहीबार र शुक्रबार लगातार परेको हिमपातले सिमकोट विमानस्थलमा दुई फिटसम्म हिउँ जमेपछि हवाई सेवा ठप्प भएको हो । हुम्लाबाट नेपालगन्ज र सुर्खेत जाने यात्रु तथा नेपालगन्ज र सुर्खेतदेखि हुम्ला आवत–जावत गर्ने यात्रु र अन्य दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने नसिकएकाले सिमकोटमा उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । हिमपातले जहाज रोकिएपछि सेताक चिनी, जटामसीलगायतका जडीबुटी विमानस्थलमै थन्किएका छन्

चर्चामा

सम्बन्धित समाचार