शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • सुदूरपश्चिमका ६ खेलाडी, जस्ले सागमा नेपाललाई जिताए ८ स्वर्ण

सुदूरपश्चिमका ६ खेलाडी, जस्ले सागमा नेपाललाई जिताए ८ स्वर्ण

  • शनिबार, मंसिर २१, २०७६
सुदूरपश्चिमका ६ खेलाडी, जस्ले सागमा नेपाललाई जिताए ८ स्वर्ण

सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा फरक नपर्ला। विभागिय टोली आर्मी, प्रहरी र सशस्त्र प्रहरीको विभिन्न खेलको टीम हेर्दा पनि यस्लाई पुष्टि गर्ने धेरै आधार भेटिन्छन्। विभागियले बनाएका धेरै खेलका टीममा सुदूरपश्चिमका खेलाडीहरुको बर्चश्व नै छ।

विश्व खेलकुद जगतमा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने पनि सुदूरपश्चिम अग्रपङ्क्तिमा छ। च्याम्पियन दीपक विष्टदेखि अहिलेकी कान्छि खेलाडी गौरीका सिंह पनि सुदूरपश्चिमकै हुन्। अहिले नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा मात्रै सुदूरपश्चिमका ६ जना खेलाडीले नेपाललाई ८ स्वर्ण पदक जिताएका छन्।

यद्यपी उनीहरु मध्ये अधिकासंले राष्ट्रिय प्रतियोगिता खेल्दा भने विभिन्न विभागिय टोलीको प्रतिनिधित्व गर्दै आएका छन्।

गौरिका सिंह

तीन बर्ष अगाडी ब्राजीलमा भएको रियो ओलम्पिकमा नेपालबाट सात जना खेलाडीले सहभागीता जनाएकोमा सर्वत्र चर्चामा रहेकी थिईन् गौरिका सिंह। कारण थियो रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छि खेलाडी थिईनन्। उनी डाक्टर पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन्।

पुख्र्यौली घर बझाङ भएपनि उनीहरुको परिवार दशकौँदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्दै आएको छ। पछिल्लो समय परिवारसंगै लण्डन बस्दै आएकी गौरिका अहिले नेपालका लागि ‘किर्तिमानी जलपरी’ भएकी छिन्। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनले दुई स्वर्ण जितेकी छिन्।

नेपाली पौडीवाज गौरिका सिंहले शुक्रबार महिलातर्फको २०० मिटर ‘व्याक स्ट्रोक’मा अर्को स्वर्णपदक जितेकी छन्। गौरिकाले २ मिनेट ४१.२६ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमानमा २४ सेकेन्डको सुधार गर्दै २ मिनेट १७ दशमलव ७३ सेकेन्डमा उक्त दूरी पार गरेकी थिइन्।

गौरिकाले बिहीबार पनि पौडीको दुई सय मिटर सिंगल इभेन्टमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्। आठौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगितामा हुँदा उनी १६ बर्षकी थिईन्। उनले एउटै प्रतियोगितामा १२ वटा स्वर्ण जित्दै थुप्रै किर्तीमान बनाएपछि त उनको चर्चा झनै चुलिएको थियो।

आयशा शाक्य

कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टकी श्रीमती हुन् आयशा शाक्य। आयशाले १ ३औं दक्षिण एसियाली खेलकुद (साग)मा दुई स्वर्ण जितेकी छिन्। २९ वर्ष माथिको पुम्से (कला प्रदर्शनी) विधामा र संजिवकुमार ओझासँगको जोडी विधामा उनले स्वर्ण जितेकी हुन्।

सोमबार भएको प्रतिस्पर्धामा उनले भारतका प्राजाकितालाई पराजित गर्दै स्वर्ण सुनिश्चित गरिन्। स्वर्ण जितेको क्षण मैदानमै उनले आफ्ना श्रीमान दिपक विष्टलाई अंगालो हालेर रोइन्।

गोपिचन्द्र पार्की

१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गरे। उनी कैलालीको धनगढीकै स्थानीय हुन्। उनी अहिले सशस्त्र प्रहरीमा आवद्ध छन्। उनले निर्धारित दूरी १४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेका थिए।

हिमाल टमटा

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रच्यो। नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो।

भारतमा सम्पन्न १२ औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो। सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको थियो। घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले ट्रायथोलनमा पुरुषतर्फ टमाटाले स्वर्ण पदकमा हासिल गर्न सफल भएका थिए।

किरणसिंह वोगटी

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाललाई ४२ ओँ स्वर्ण जिताउने खेलाडी हुन्, किरणसिंह वोगटी। पुरुषतर्फको म्याराथनमा कैलालीका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन्। उनले निर्धा्रित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे। किरणको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ भने नेपालले एथ्लेटिक्समा ३ स्वर्ण जितेको छ।

वीरबहादुर महरा

१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेलेका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्वर ९ का वीरबहादुर महराले १३ ओँ सागमा भने स्वर्ण जित्न सफल भए। तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो स्वर्ण जित्ने क्रममा महराले फाइटको ६८ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गरे। उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले पराजित गरे।

चर्चामा

सम्बन्धित समाचार