बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा साढे चार करोडका स्वास्थ्य भवन

धनगढीमा साढे चार करोडका स्वास्थ्य भवन

  • मङ्लबार, मंसिर १७, २०७६
धनगढीमा साढे चार करोडका स्वास्थ्य भवन

धनगढी : धनगढी उपमहानगरपालिकामा एक साथ ११ वटा स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन्। उपमहानगरका विभिन्न वडामा स्वास्थ्य केन्द्र निर्माण भइरहेका हुन्। हरेक वडामा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य भवन निर्माण भइरहेको उपमहानगरले जनाएको छ।

११ वटा स्वास्थ्य भवन साढे ४ करोड लागतमा उपमहानगरकै बजेटमा निर्माण भइरहेका हुन्। उपमहागर भए पनि सबै वडामा सहजै स्वास्थ्य पहुँच पुग्न सकेको छैन। साविक धनगढी नगरपालिका र उर्मा, फूलबारी गाविस मिलाएर धनगढीलाई उपमहानगर बनाएको हो। उपमहानगर बनाए पनि ग्रामीण बस्तीका नागरिकले स्वास्थ्य सेवा लिन धनगढी नै पुग्ने पर्ने बाध्यता छ। उपमहानगरका वडा नम्बर ३, ५, ७, ८, ९ र ११ मा स्वास्थ्य भवन निर्माण भइरहेका छन्।

यस्तै १३, १४, १५, १७ र १८ मा पनि स्वास्थ्य केन्द्रका लागि भवन निर्माण सुरु गरेको इन्जिनियर कमल ओझाले जानकारी दिए। ती वडामा भवन निर्माणका लागि एसई कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको हो। भवन निर्माणअवधि १५ महिना राखिएको छ। १५ महिनापछि उपमहानगरलाई भवन हस्तान्तरण हुने इन्जिनियर ओझाले बताए। उपमहानगरसँग भएको सम्झौताअनुसार १ हजार ४ सय स्क्वायर फिटको १ तल्ले ११ कोठे भवन भवन निर्माण हुनेछन्। डिजाइन तयार ४ तलासम्म निर्माण गर्न सक्ने गरी बनाएको इन्जिनियर ओझाको भनाइ छ।

६७ लाख लागत अनुमान गरेको भवनका लागि ४० लाखमा निर्माण पक्ष र उपमहानगरबीच ठेक्का सम्झौता भएको छ। वडा नं. १, २ र ४ उपमहाननगरको प्रमुख सहरी केन्द्र पर्ने भएकाले यहाँ स्वास्थ्य केन्द्र आवश्यक नभएको जनाएको छ। यी वडालाई सेवा पुग्ने सेती प्रादेशिक अस्पताल छ। माथिका वडाबाहेक अन्य वडामा स्वास्थ्य सेवा पुगिसकेको उपमहानगरले जनाएको छ। नगरप्रमुख नृपबहादुर वडले धनगढी सुदूरपश्चिम प्रदेश अस्थायी राजधानी भए पनि सबैको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेकाले पहिलोपटक स्वास्थ्य पूर्वाधारमा लगानी सुरु गरेको बताए।

‘ग्रामीण बस्तीमा चालु आर्थिक वर्षभित्रै सबै नागरिक सुरक्षित प्रसुति गृह सहितको आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न नगर स्वास्थ्य केन्द्र निर्माण सुरु गरेको हो’, उनले भने, ‘उपमहानगरको नीति तथा कार्यक्रम तथा समग्र सरकारको सुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नगर स्वास्थ्य भवन निर्माणको काम अघि बढाएको हो।’ उपमहानगरका १९ वडामा अझै पनि कतिपय वडामा पूर्वाधार नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित रहनुपर्ने अवस्था यथावत छ।

चर्चामा

सम्बन्धित समाचार