काठमाडौं– पौराणिक किंवदन्ती अनुसार रामायण कालमा वाल्मीकि आश्रमसँग जोडिन्छ चेपाङ जातिको उत्पत्तिको कथा । वाल्मीकि ऋषिको आश्रममा वनबासको समय बिताउँदा उनको लोहोरी नामको एक छोरा थिए । उनैको सन्तति मान्छन् चेपाङहरुले आफूलाई ।
त्यही वाल्मीकि आश्रममा हुर्किएका लोहोरीका सन्तानहरुले कहिलै पनि बोलीमा मृदुलता त्यागेका छैनन् । मदिराले लठ्ठ हुँदा होस् या त कठिन परिस्थितिसँग जुध्दा नै किन नहोस् चेपाङहरुको बोली र व्यवहारमा शालीनता कहिलै हटेन ।त्यही वाल्मीकि आश्रममा हुर्किएका पुर्खाहरुले सयौं वर्ष जंगलमा नै आफ्नो साम्राज्य स्थापित गरे । जंगली फलफूलहरुलाई नै आफ्नो आहारा बनाए । शिकार कहिलेकाहीँ गर्थे अन्यथा पशुपंक्षीहरुप्रति पनि अगाध प्रेम थियो । ओढारमै कुकुर सारथि थिए । जंगली जनावरहरु बाहिरी घेरामा सुरक्षाका लागि बसेका थिए । एकापटि्टको पहरो नै उनीहरुको किल्ला थियो । तलको अनकन्टार भीरबाट कुनैपनि शक्तिले आक्रमण गर्ने थिएनन् । त्यही ओढारले नै झण्डै तीनबिस (६०) पुस्ता चेपाङलाई साथ दिएको छ ।
अहिले परिस्थिति भिन्न भएपनि ओढार नजिकै चिउरीको बोट हुन्थ्यो । त्यसैको फूललाई कुटेर अन्य प्रशोधन विधि अपनाएपछि चिउरीको घिउ बन्थ्यो । त्यही घिउबाट आफ्नो गुजारा चलाउने गरेका थिए । पहिलेदेखि नै त्यो पहाडमा घैया धान लगाउने गरिन्थ्यो । अहिलेपनि त्यो चलन जारी छ । तरकारी र खाजामा गिठ्ठा या भ्याकुर खाने चलन थियो । शहर र बजारको कुनै लोभ थिएन । केवल गुजाराको चर्खामा घुमिरहेको थियो जीवन ।
मध्यकालसम्म आइपुग्दा त्यही ओढारमाथि समेत मल्ल राजाहरुको गिद्दे नजर लाग्यो । यही विशाल नेपालमा उनीहरुलाई पनि समेट्न धेरै प्रयास भयो । ‘आफूहरुलाई जंगलमै रमाउन देऊ’ भन्ने चेपाङहरुको माग उनीहरुले सुनेनन् । त्यतिबेला सानोतिनो युद्ध नै चल्यो, शहरीया मल्ल राजाहरु र जंगलबासी चेपाङ राजाहरुबीच । उनीहरुको परम्परागत र जंगली हतियारले मल्ल राजाहरुलाई जित्न सकेनन् । त्यही समयदेखि राजाविहीन भए चेपाङहरु ।
विकाससँगै जीवनशैली परिवर्तन
पृथ्वी राजमार्ग निर्माणको बेला थियो । डोकाडाला बुनेर बेच्ने वा फलेक बनाउने काठ बेचेर आफ्नो गुजारा चलाउने चेपाङहरुको जीवनशैली दैनिकीसँगै बदलिएको छ । उनीहरुको परम्परागत जीवनशैलीको विषयमा डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘सबैजातको फूलबारी’मा पनि उल्लेख गरेका छन् । त्योभन्दा पहिलेका चेपाङहरुको जीवनशैली जंगलबाट बाहिर गएको थिएन । जब विकासको काम सुरु भयो, त्यही समयदेखि कन्दमूल खाएर हट्टकट्टा भएका तन्नेरी चेपाङहरुले काम पाउन थाले । साथमा पैसा पनि ।
कम्मर मुनी कछाड बेर्थे, त्यही नामबाट एउटा चेपाङको त थरै ‘कछारे चेपाङ’ पनि भएको थियो । कसै-कसैले ‘सुनप्रजा’ भनेर पनि चिनाउने गर्छन् । अर्काे थर हुन्छ, ‘पुकुन्थली’ ।
यसरी कछाड लगाएर ज्यालादारी काममा लागेकाहरु बिस्तारै देश चिन्ने र आर्थिक रुपमा समेत सम्पन्न हुन थाले । अहिले ५२ वर्ष पुगेका लोकमान चेपाङको अनुभव छ ‘बजारमा काम गर्न जाँदा दिनभरी काम गरेको एक रुपैयाँ र धेरै पाउँदा दुई रुपैयाँ पाइन्थ्यो ।’ त्यही समयदेखि उनीहरुको जीवनशैली बदलिन सुरु भएको हो ।
विष्टका अनुसार पृथ्वी राजमार्ग बनेदेखि बदलिएको हो चेपाङहरुको जीवनशैली । चितवन जिल्लाको राप्ती उपत्यकाको पूर्व विकासको काम सुरु भएपछि त्योभन्दा तल्लो भेगमा बस्ने चेपाङहरु कोही बाटो खन्ने, कोही ज्यालादारीका अन्य काम गर्न सुरु गरे । काठमाडौंदेखि पोखरासम्म बाटो बन्न थालेपछि त झनै बलिया चेपाङहरुले आफ्नै क्षेत्रमा काम पाउन थाले । २०३६ सालको आसपासतिर मुग्लिनदेखि नारायणघाटसम्मको बाटो बन्ने भएपछि त झनै उनीहरुले कामै काम पाउन थाले । त्यही समयदेखि नै चेपाङहरु जंगलको मात्रै भर पर्न छाडेका हुन् ।
कुसुण्डा जातिसँगको दुश्मनी
कुसुण्डाहरु जनसंख्याको हिसाबले २०६८ मा २७३ जना थिए । चेपाङहरु ६८ हजारभन्दा धेरै । तर, कुसुण्डा जातिसँगको चेपाङको दुश्मनी उनीहरुको पहिलो पुस्तादेखि कै हो । यसबारे अहिलेका चेपाङहरु अनविज्ञ छन् । अहिले चेपाङहरुले कुसुण्डालाई ठकुरी दाजुभाइ मान्ने गरेका छन् । तर, जतिबेला लोहोरीको जन्म भएको थियो, त्यतिबेलादेखि नै उनीहरुबीच विद्वेष सुरु भएको हो । त्यो बेलामा सीताजी कोक्रामा लोहोरीलाई राखेर काममा जाने गर्थिन् । एक दिन कपडा धुन जाँदा खोलामा बाँदरले उनलाई बच्चा खेलाएर जिस्काइदियो । डोरबहादुर विष्ट ‘सबैजातको फूलबारी’मा लेख्छन्, ‘त्यही बाँदरलाई ईख्याउँदै उनी पनि आफ्नो लोहोरीलाई बोकेर खोलामा खेल्न थालिन् ।’
त्यत्तिकैमा यता वाल्मीकि ऋषि बाहिर निस्कँदा उनले लोहोरीलाई कोक्रामा देखेनन् । त्यसपछि सीताजी दुःखी हुन सक्छिन् भन्ने सोचेर एउटा कुशको मान्छे बनाएर वाल्मीकिले कोक्रामा राखिदिए । पछि सीताजीले लोहोरीलाई बोकेर आइन् । कुशबाट बनेको मान्छेलाई मार्न नसकेर ऋषिकै आग्रहमा उसको नाम कुशरी राखेर उनको पालनपोषण गर्न थालियो । पछि ठूला हुँदै गएपछि उनीहरु ठूला शत्रुको रुपमा चिनिए । केही वर्ष पहिलेसम्म पनि यी दुईले एकले अर्कालाई भेट्ने बित्तिकै धनुबाँणले हान्ने चलन थियो । तर, अहिले त्यो हराइसकेको छ ।
अब कोही बस्दैनन् ओढारमा
धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नं ८ स्थित तल्लो बरपुक भन्ने भौगोलिक रुपमा पश्चिमपट्टी फर्किएको एकदमै भिरालो ठाउँ छ । पृथ्वी राजमार्गको खटौती खोलाबाट झण्डै ११ किलोमिटरको दुरीमा पुग्न सकिन्छ, बरपुक । छिट्टो हिँड्नेहरुको लागि झण्डै २ घण्टा र बिस्तारै हिँड्नेहरुको लागि ३ घण्टाको बाटो हो त्यो । टोपी खस्ने जस्तो भिरालो बाटोको पैदलयात्रा पछि पुगिन्छ बरपुक ।
जमिन भिरालो छ । पानी जमाएर गर्ने खेती हुँदैनन् । त्यही पखेरे माटोमा गोरुले जोतेर तरकारी, मकै, घैया धान आदि लगाउने गर्छन् । त्यही नै अहिलेका चेपाङहरुको आम्दानीको मुख्य स्रोत बनेको छ ।
त्यही भीरको पूर्वी भागमा खोलाको केही माथि भेटिन्छन्, ७९ वर्षीय राजुवीर प्रजा । उनी कहिले घरमा भेटिन्छन् र कहिले ओढारमा भन्ने कुनै पत्तो छैन । उनी नै हुन् आफ्नो पुर्खाहरुको बिरासत जोगाएर ओढारको जिन्दगी बिताइरहेका चेपाङको अन्तिम पुस्ता । उनी भन्छन्, ‘हामी नै ओढारमा बस्नेहरुको अन्तिम पुस्ता हौं । हामीबाहेक अरु अब यो ओढारमा बस्दैनन् ।’
राजुवीर ३ महिना भयो नजिकैको धाङ्गि खोरिया ओढारबाट फर्किएको । उनी अहिले पनि बेला बेलामा ओढारमा गएर आफ्नो समय त्यतै बिताउने गर्छन् । ४ महिनाजति ओढारको जिन्दगी बिताएर केही दिन अघि मात्रै उनी घर फर्किएका थिए । त्यो पनि गाउँलेहरुको करबलले गर्दा । उनकी श्रीमती गीता उनीभन्दा दुई वर्ष जेठी छिन् । एक अर्काको मायाका कारण उनीहरु अहिलेसम्म पनि सक्रिय जीवन बिताइरहेका छन् । गीताले राजुवीरको हरेक कुरामा साथ दिँदै आएकी छिन् । कहिलेकाहीँ राजुवीर ओढारमा बस्न जाँदा पनि गीताले साथ छाड्ने गरेकी छैनन् । उमेरका कारण कमै कान सुन्ने राजुवीरभन्दा श्रीमती गीता धेरै सक्रिय छिन् । त्यो भीरालो बाटो हुँदै जाने भीरमा केही भएपनि सँगै परियोस् भन्दै हात समाएर जाने गरेको उनीहरु बताउँछन् ।
यो त्यही ओढार हो, जहाँ राजुवीरभन्दा अघिका दुई पुस्ताको जीवनयापन बितेको थियो । एकदमै भिरालो बाटोमा हिँड्दा एक पटक पनि चिप्लिएर लड्ने छुट छैन त्यो बाटोमा । तल, अनकन्टार भीर छ । एकपटक चिप्लिएर लड्यो भने सीधै खोलामा पुगिन्छ । बाँच्ने कुनै सम्भावना रहँदैन ।
त्यो पुर्ख्यौली ओढारसँग राजुवीरको छुट्टै साइनो छ । अहिले घरमा नै ढिँडो ओडालीरहेका राजुवीरले भने- मेरो पनि मन त अझै ओढार तिरै छ । तर, गाउँलेहरुले दिँदैनन् ।
ओढार नजिकै एक्लै घर भएका राजुवीर वर्षमा ४/ ५ महिना त गाउँलेलाई छलेरै भएपनि ओढारमा जाने गरेका छन् ।
माथिल्लो बरपुकमा पुग्दा केही वर्ष अघिसम्म ओढारमा नै बसिरहेका झिल्के भेटिए । उनी पनि ओढारमा बस्ने चेपाङको अन्तिम पुस्ताका प्रतिनिधि हुन् । ५ वर्षअघि एउटा संस्थाले उनको लागि ओढार नजिकै एउटा घर बनाइदिएको रहेछ । पहिले उनलाई कुनै कुराको लोभ थिएन । तर, उनको त्यो लोभ मुक्त जीवन बाँकी रहेन । अहिले घर बनाएको ठाउँ मुनि पहिरो चलिरहेकोले त्यो घर पनि पहिरोमा पर्छ कि ? भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । उनी भन्छन्, ‘बरु ओढारमा हुँदा त्यो कुनै चिन्तै थिएन । घरमा बस्यो कहिले भूकम्पको चिन्ता, कहिले पहिरोको । बेला बेलामा त घरै छाडेर यतै आएर पनि सुत्ने गरेको छु । फेरि गाउँलेहरुले आएर कराउँछन्, घर लगिहाल्छन् । घरकोभन्दा ओढारकै माया धेरै लाग्छ मलाई त ।’
राजुवीर र झिल्के नै अब ओढारमा बस्ने चेपाङका अन्तिम पुस्ताहरु हुन् । अब कहिलैपनि त्यो भेगका चेपाङहरुलाई ओढारमा देख्न सकिँदैन । विकासको नाममा चलेका डोजरहरुले चेपाङ बस्तीलाई पनि तहस-नहस बनाइसकेको छ । ठूला-ठूला महामारीले पनि केही गर्न नसकेका तिनै ओढारहरु समेत डोजरको दाँतसँगै कमजोर बनिसकेका छन् । अब त ओढार नै असुरक्षित हुन थालिसक्यो । ७९ वर्षीय राजुवीरले अनलाइनखबरसँग भने ।
याे समाचार अनलाइन खवरबाट शाभार गरिएकाे हाे ।