• होमपेज
  • समाज
  • चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहित पेस्तोल भेटियो

चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहित पेस्तोल भेटियो

  • शनिबार, मंसिर ७, २०७६
चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहित पेस्तोल भेटियो

चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलमा हतियार फेला परेको चितवन प्रहरीले दाबी गरेको छ।

उक्त मेडिकल कलेजको होस्टलबाट शनिबार दिउँसो हतियार फेला परेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

होस्टलमा मेड इन युएसए लेखिएको उक्त हतियार र गोली फेला परेपछि त्यसको अनुसन्धानका लागि प्रहरी टोली खटाएको छ।

हतियारसँगै केही राउन्ड गोली फेला परेको दाबी मल्लले गरे।

‘होस्टलका गार्डले हतियार देखेपछि प्रहरीलाई खबर गरे,’ उनले भने, ‘प्रहरी जाँदा हतियार र केही राउन्ड गोली भेटियो।’

सो हतियार कसको र कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान थालिएको मल्लले बताए।

अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन।

‘पहिले कसको हो भन्ने पुष्टि भएपछि मात्र पक्राउ गर्ने कुरा हुन्छ,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’

चितवन मेडिकल कलेजमा चिकित्सा शिक्षा संघर्ष समिति सक्रिय छ।

प्रकाश चन्दको नेतृत्वमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीद्वारा गठित समितिले मेडिकल कलेजले उठाइरहेको गैरकानुनी शुल्कको विरोध गरिरहेका छन्।

आइतबार संघर्ष समितिले चितवनमा सर्वसाधारण सम्मिलित बृहत् आमसभा गर्ने तयारी गरिरहेको थियो।

त्यसैको पूर्वसन्ध्यामा हतियार फेला परेको प्रहरीको भनाइ छ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले होस्टलमा हतियार र केही राउन्ड गोली फेला परेपछि प्रहरीले मुचुल्का उठाएर अनुसन्धान थालेको जानकारी दिए।

साभार सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार