महिला मात्र एउटा यस्ता गुण भएको व्यक्ती हुन्छन्, जुन अरुको खुसीमा आफुलाई बिर्सिन्छन् र आफ्नो सारा जीवन अरुको खुसीका लागि नै सर्मपण गर्छन् । महिलाले बिहान सबेरै उठेर आफ्ना पतिलाई ओछ्यानमै न्यानो खाना पुगाएर खुसी पार्ने प्रयास गर्छिन् । भने छोरा–छोरीको खुसीले खाए खाएनन्, गृहकार्य गरे गरेनन् त्यसको सम्पुर्ण जिम्म्ोवारी पनि महिलालाई नै हुन्छ ।
सबैरै उठेर घर आँगन सफा गर्ने, भाँडा माझ्ने, चुलो पोत्ने, गाईवस्तुलाई घाँसपात गर्ने जिम्मा पनि प्रायः महिलाको नै हुन्छ । फेरी छोरा छोरीलाई खाना पकाई खुवाएर विद्यालय पठाउने काम पनि महिलाहरुको दैनिकी हो । श्रीमानको रेखदेख, सासु– ससुराको स्याहार सुसार पनि एउटा नारीको दैनिकी नै बनेको हुन्छ । यती मात्र होइन महिलाले घरपरिवार सम्पुर्ण लालाभाला सम्हालेर दिउसो आफ्नो कार्यमा कटिबद्ध रुपमा लागेकी हुन्छन् । तर पनि महिलाले गरेको कार्यको कुनै मुल्य नै हुँदैन हाम्रो समाजमा ।
जस्तोसुकै महान कार्य गरेपनि कार्य मुल्याङ्कनको परिधिको सिमा पारी नै देखिन्छन् महिला । महिला मात्र एउटा मानव जीवन हो जसले यो संसरमा कसैले नगरेका कामहरु गर्छन् । पुरुषहरुले समाजमा एक मात्र काम गरेर पनि निकै इज्जत कमाई रहेका हुन्छन् भने महिलाले भने घरपरिवारदेखि समाज सम्मका काम गर्दाखेर झन् प्रशंसाको साँटो महिलाले आरोप ‘कोसेली’ स्वरुप प्राप्त गरिरहेका हुन्छन् ।
बाजुरा जिल्लाको परिप्रेक्षमा भन्ने हो भने अहिले पनि कतिपय समाजमा महिलाहरुले नेतृत्व लिनु हुँदैन भन्ने पनि छ । यसले पनि महिलाले गरेका जुनसुकै महान कार्यको मुल्याङ्कन नै नगरेको प्रष्ट बुझ्न सकिन्छ । यसका बाबजुत पनि नेतृत्व गरिरहेका महिलाहरुको इज्जतसंग कुरा जोडेर बजारमा निकै चर्चा र परिचर्चा गर्ने गरेको पाइन्छ । यस्ता कुराले महिलामाथी नै प्रश्न उठेको छ । जसको कारण मजबुत महिला पनि आफैलाई कमजोर ठान्न बाध्य भएको सहजै बुझ्न र देख्न सकिन्छ ।
महिलाले गरेको काम दिगो हुँदैन भन्ने सामाजिक छाप
(बैकीनी बुड्यौली, बाख्रो बटालो) ‘महिलाहरुले समाजमा नेतृत्व गर्नु र बाख्रो(पोथी) ले बथानमा नेतृत्व गर्नु एउटै हो भन्ने हाम्रो समाजमा मान्याता छ र महिलाका नाममा यो शब्द निकै नै मात्रामा प्रयोग भएको पाइन्छ । महिलाहरुले दुर्गम क्षेत्रमा आफ्नो घरपरिवार, वनको मेलापात, गोठको गाइवस्तु र खेतीपातीको काम सकेर गरेको काममा समाजका अगुवाहरुले घुसाइदिएको यो एक शब्दले नारीको पुरै संसार भंङ्ग गरिदिएको हुन्छ ।
कतिपय समाजमा त अहिले पनि महिलाहरुको अगुवाई बैठक बस्नु हुन्न, महिलाले गरेका निर्णयहरु मान्ने हुँदैनन भन्ने मान्यता छ । अहिले महिलाहरुले गरेको कामको विश्वास गरे पछि कुनै पनि काय दिगो र दरिलो बन्दैन र धोका पाइन्छ समाजका बुढापाकाहरुको मुखबाट पटक– पटक निस्केको सजिलै सुन्न पाइन्छ । जसले गर्दा महिलाहरुले साहसका साथ गरेका काम बालुवामा पानी खन्याएझैँ हुन्छन् ।
सामाजिक रुपमै महिला तिरस्कृत
बाजुरामा त महिलाहरुलाई सामाजिक रुपमा पनि तिरस्कृत हुनु परेको छ । बाजुराका महिलाहरु महिनावारी भएको बेला आफ्नो घरभित्र समेत बस्न पाउँदैनन् । महिला, किशोरीहरुको मानविय अधिकार नै समाजले खोसिदिएको अवस्था छ । साधारण तथा १५ वर्ष माथकिा महिला तथा किशोरीहरु महिनावारी हुनु नियमित प्राकृतिक प्रकृया हो तर हाम्रो समाजमा यसलाई परम्परासंग जोडिन्छ र महिलालाई अधिकारबाट बञ्चित गरिन्छ ।
महिनावारी भएको बेला अहिले पनि बाजुरा जिल्लाका कतिपय स्थानमा ५ दिनसम्म घरभन्दा टाढाको गोढमा राख्ने, बुको खाना दिने, दुध, दहि पोषिलो खानेकुरा नदिने, मठमन्दिरमा जान पुजाआजा गर्न नमिल्ने र बुढापाकाहरुलाई महिनावारी भएको बेला छुन नमिल्ने जस्ता परम्पराहरले जरा गाडेर बसेको पाइन्छ । यो परम्पराले पनि महिलाहरु जुनसुकै कार्यबाट पनि बञ्चित हुन्छन् र शाररिक रुपमा पनि उनीहरु सशक्त भएको पाइदैन । गाउँका महिलाहरु प्रायजसो कुपोषीत पनि हुन्छन् ।
महिनावारी भएको बेला समाजबाट तिरस्कृत त गरिन्छ नै उनको मावअधिकार पनि घर बाहिरको एउटा चिसो गोठमा राखिएको हुन्छ । जाहे बर्खायामको मुसलधारे पानी होस् या हिउँदमासको मुटु बिझाउने चिसो घरबाहिरको चिसो गोठ महिलाको अप्ठ्यारोको सहयात्री बनेको हुन्छ । जुन समयमा हिड्न, खान, बस्न, निकै पिडा भैरहेको हुन्छ त्यही नै बेला टाढाको वनबाट घाँसपात, दाउरा, स्याउला, खेतपातीको काम गर्नुपर्ने बाजुराका महिलाको दर्दनाक पिडा छ ।
पछिल्लो समय महिनावारीका सवालमा विभिन्न कुरा उठिरहँदा महिलाहरुले बाहिरी रुपमा महिनावारी भएको बेला घरभित्रै बस्ने, पोषिलो खानेकुरा खाने गरेका प्रतिक्रिया जनाएपनि उनीहरु वास्तविक रुपमा भने पुरानै परम्परामा लिप्त रहेका छन् । आफ्ना पिडाहरुलाई खुलस्त रुपमा समाजका अगाडी भन्न महिलाहरुलाई घरपरिवार, समाजको दबाब रहेको पाइन्छ ।
यस्तै क्रियाकलापले पनि जाहे महिला होस् या किशोरीले समाजमा गरेका हरेक कामहरुको स्थान नपाउने गरेको समाजमा प्रष्ट देख्न सकिन्छ । यसले महिला तथा किशोरीमाथी नै आफु कमजोर नै हुँ की भन्ने भान भएको छ । समाजले सबै व्यवहार समालेर पनि नेतृत्व गरिरहेका महिलाको कामको कहिले कदर गर्छ ? महिलाहरुको प्रश्न छ ।
नारी सबै कुराको सृजनाको संसार हुन् । दुर्गम जिल्लामा बसेर पनि महिलाको महान कार्यलाई प्राथमिकतामा नराख्नुले पनि राज्यलाई पटक–पटक प्रश्न उठ्ने गरेको छ । समाज बदल्ने प्रयास रहेका सबैले महिलाहरुले गरेको कार्यलाई प्राथमिकतामा राखेर मुल्याङ्कक गर्नु आवश्यक देखिन्छ ।
( म बाजुरा जिल्ला स्थित रेडियो पौरखीमा कार्यरत संचारकर्मी हुँ )