• होमपेज
  • खेलकुद
  • भीआईपी प्यारापिटमा छानो

भीआईपी प्यारापिटमा छानो

  • बिहिबार, मंसिर ५, २०७६
भीआईपी प्यारापिटमा छानो

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुदको मुख्य आकर्षणको केन्द्र हो, दशरथ रंगशाला। साधारण प्यारापिटको निर्माण, मैदान, सिन्थेटिक ट्र्याक र स्कोर बोर्डको निर्माण कार्यले लगभग पूर्णता पाएको छ। अहिले मुख्य चासोको रूपमा रहेको भीआईपी प्यारापिटको छाना हाल्ने काम बुधबारबाट सुरु भएको छ।

भीआईपी प्यारापिटले सागको उद्घाटन हुने दिन मंसिर १५ गतेसम्म पूर्णता पाउला वा नपाउला भन्ने चासो तीव्र छ।युवा तथा खेलकुद मन्त्री एवं साग आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले सागका लागि भीआईपी प्यारापिट निर्माणले पूर्णता पाउने दाबी गरिरहेका छन्। राखेपको भौतिक संरचना विभागले पनि भीआईपी प्यारापिटको छाना हालिसकिने जनाएको छ। एक साताअघि चीनबाट चार्टर्ड विमानमा ल्याइएको छाना हाल्न चिनियाँ प्राविधिक नै नेपाल आएका छन्। चिनियाँ प्राविधिकलाई एक सय जना कामदारले सघाएका छन्।

२०७२ सालको भूकम्पका कारण क्षति पुगेको भीआईपी प्यारापिटको रड्रो फिटिङसहित पुरानो ढलानको छाना हटाएर नयाँ छाना हाल्न लागिएको हो। भीआईपी प्यारापिटको छाना हाल्ने काम एक सातामा सकिने बताइएको छ। भीआईपी प्यारापिटमा साउन्ड सिस्टम जडान गर्ने काम भने सागपछि गरिनेछ। यसैगरी दशरथ रंगशाला परिसरमा भएका अन्य संरचनाको सिंगार र रंगरोगन गरिने काम पनि धमाधम भइरहेको छ।सडक निर्माण र कालोपत्रे गर्ने कामले पनि सँगसँगै प्राथमिकता पाएको छ।

राखेपले उपत्यकाको अर्को साग आयोजनास्थल ललितपुरको अन्तर्राष्ट्रिय खेल परिसरको संरचना निर्माण पनि सकिएको जनाएको छ। निर्माणाधीन हिटिङ सिस्टमको पौडी पोखरीको निर्माणकार्य पनि एक सातामा सकिनेछ। राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले हिटिङ पौडी पोखरीमा पहिला नेपाली खेलाडीलाई तयारी खेल खेलाएर मात्र सागको खेल खेलाइने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार