• होमपेज
  • राजनीति
  • यसरी टुंगियो ओली र प्रचण्डको ‘पावर डिल’

यसरी टुंगियो ओली र प्रचण्डको ‘पावर डिल’

  • बुधबार, मंसिर ४, २०७६
यसरी टुंगियो ओली र प्रचण्डको ‘पावर डिल’

काठमाडौं : नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘पावर डिल’ टुंगिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि नेपाल कम्युनिस्ट पार्टीको औपचारिक घोषणा भएको १७ महिनापछि ‘पावर डिल’ टुंगिएको हो।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त छलफलपछि बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाड गर्दै ‘पावर डिल’ टुंगो लगाएको हो।

अब प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको यो पाँच वर्षे कार्यकालभर सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा सक्रिय हुनेछन्। बुधबारको सचिवालय बैठकले प्रचण्डलाई पार्टी बैठकको अध्यक्षताको जिम्मेवारीसहितको कार्यकारी अधिकार दिएको हो।

‘अध्यक्षद्वयको कार्यविभाजनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मर्यादाक्रम यथावत रहने छ’, सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष कमरेड अ‍ोली प्रधानमन्त्रीको हैसियतमा सरकारको काममा केन्द्रित हुनुहुन्छ र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा सक्रिय हुनुहुनेछ।’

बुधबारको सचिवालयको निर्णय अनुसार अब पार्टी बैठक सञ्चालन प्रचण्डले गर्नेछन्। ‘बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘तर, आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड प्रचण्डले गर्नुहुनेछ।’

प्रतिनिधिसभाको यो कार्यकालभर ओलीले नै प्रधानमन्त्री रहनेछन्। सरकारको नेतृत्व गर्दै ओलीले राजनीतिक स्थायित्वको सन्देश दिनेछन् भने प्रचण्डले पार्टी सञ्चालन गर्नेछनज्।

‘प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी र सरकार सञ्चालन अध्यक्षद्वय बीचको आपसी सल्लाहमा गर्ने, पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र पार्टी कमिटीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने आजको निर्णय हो।’

नेकपा एकताको डेढ वर्षसम्म पनि सम्झौता अनुसार प्रचण्डलाई जिम्मेवारी नदिएको भन्दै पूर्वमाओवादी समूहले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएको थियो। अध्यक्ष प्रचण्ड स्वयम्ले उपत्यका बाहिरका कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा असन्तुष्टि व्यक्त गर्दै आएका थिए। बुधबारको निर्णयले प्रचण्डको लामो समयदेखिको असन्तुष्टिको सुनुवाइ भएको छ।

सहमति र एकता

०७४ असोज १७ गते एमाले-माओवादी र नयाँ शक्तिले चुनावी तालमेल र पार्टी एकताको सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले असन्तुष्टि राख्दै २०७४ असोज २८ गते गठबन्धन छोडेका थिए।

२०७४ कात्तिक १५ गते एमाले-माओवादीले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ६०-४० का अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँट भएको थियो। तत्कालीन एमालेसँग गठबन्धन बनेपछि २०७४ पुस २८ गते कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट तत्कालीन माओवादी केन्द्र बाहिरिएको थियो।

एमाले-माओवादीको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेपछि २०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री बने। ओली शक्तिशाली प्रधानमन्त्री बनेपछि एकीकृत पार्टीको नामलगायत सात बुँदामा २०७४ फागुन ७ गते सहमति भएको थियो। त्यही सहमति अनुसार २०७५ जेठ ३ गते नेकपा एकताको औपचारिक घोषणा भएको थियो।

नेकपा सचिवालय निर्णय : अब प्रचण्डले पार्टी ‘कमान्ड’ समाल्ने
एमाले र माओवादी एकतापछि नेकपा बलियो शक्तिको रुपमा उदाएको छ। केन्द्रमा १ सय ७४ सांसद प्रतिनिधिसभामा छन्। ४३ राष्ट्रियसभामा छन्। केन्द्रमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसमेतलाई लिएर दुईतिहाइ सरकारको नेतृत्वमा नेकपा अध्यक्ष केपी ओली छन्। सातै प्रदेशमध्ये ६ ओटामा नेकपा कुल ३ सय ५१ सांसदसहित सरकारमा छ। स्थानीय तहमा पनि ४ सय तहमा नेकपाकै अध्यक्ष/प्रमुख छन्। वडाध्यक्ष नै ३ हजार ६ सय ६२ छन्।

चर्चामा

सम्बन्धित समाचार