शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • उत्कृष्ट बलिङ गरी टोलीलाई खेलमा फर्काएका थिए सन्दीपले तर..

उत्कृष्ट बलिङ गरी टोलीलाई खेलमा फर्काएका थिए सन्दीपले तर..

  • बुधबार, मंसिर ४, २०७६
उत्कृष्ट बलिङ गरी टोलीलाई खेलमा फर्काएका थिए सन्दीपले तर..

अबुधाबी : यूएईमा जारी टी–१० लिगको आइतबारको खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। उनको टोली कर्नाटक तस्कर्स भने पराजित भएको छ। कर्नाटक तस्कर्सले बंगला टाइगर्ससँग ५ विकेटको हार व्यहोरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटक तस्कर्सले १० ओभरमा १ विकेट गुमाएर ११४ रन बनाएको थियो। यो यस सिजनको सबैभन्दा उच्च स्कोर थियो। ओपनर जनसन चार्ल्स ५७ र कप्तानसमेत रहेका अर्का ओपनर हसिम अमलाले ४७ रन बनाए।

११५ रनको लक्ष्य पछ्याएको बंगलाका ओपनर आन्द्रे फ्लेक्चर र अर्का ओपनर दक्षिण अफ्रिकी खेलाडी रिली रोस्वले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेपछि तस्कसले स्कोर रक्षा गर्न सकेन। बिना विकेट ३ ओभरमा ५५ रन बनिसकेको अवस्थामा बलिङमा आएका सन्दीपले टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

पहिलो बलमा कुनै रन नदिएका उनले दोस्रो बलमा १४ बलमा ४० रन बनाएका खेलिरहेका आन्द्रे फ्लेक्चरलाई स्टम्प आउट गराए। त्यस ओभरमा सन्दीपले एक चौकासहित ५ रन दिए। अर्काे ओभरमा युएईका खेलाडी अहमेद राजाले अर्का ओपनरलाई पनि आउट गरे। त्यसलगतै छैटौं ओभरमा सन्दीप बलिङमा आए। ओभरको ५औं बलमा रन लिन दौडिएका कोलिन इन्ग्राम रन आउट भए। छैटौं बलमा सन्दीपले बंगलाका कप्तान श्रीलंकन खेलाडी थिरसा परेरालाई क्याच आउट गराए। यस ओभरमा ४ रन मात्रै दिए। सन्दीपले २ ओभरमा ९ रन दिएर २ विकेट लिए।

पाचौं नम्बरमा ब्याटिङमा आएका इङ्ल्याण्डका टम मुरेसले आक्रामक ब्याटिङ गरी तस्कर्सको खेलमा फर्कने प्रयास सफल हुन दिएनन। बंगलाले ८.५ ओभरमा ७ बल बाँकी छँदै ११७ रन बनाएर जित हात पार्‍यो।

आइतबार कै पहिलो खेलमा नेपालका पारस खड्काको टोली टिम अबुधाबीले भने ६ विकेटको जित निकाल्यो, एक बल मात्रै ब्याटिङ गर्न पाएका पारसले १ रन बनाए।
आज पनि सन्दीप र पारस खड्का दुवैको टोलीले खेल्नेछन्

चर्चामा

सम्बन्धित समाचार