शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • जथाभावी पार्किङले अस्तव्यस्त साँफेबगर

जथाभावी पार्किङले अस्तव्यस्त साँफेबगर

  • शुक्रबार, कार्तिक २९, २०७६
जथाभावी पार्किङले अस्तव्यस्त साँफेबगर

अछाम : अछामको मुख्य व्यापारीक केन्द्र भनेर चिनिने साँफेबगर बजार जथाभाबी पार्किङले अस्तव्यस्त बनेको छ। बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुँदा सडकमै जथाभावी सवारी साधन पार्किङ हुने गरेका छन्।

अस्तव्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ। भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ।
सडकमै जथाभावी सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ। सवारी चालकले मनपरी तरिकाले सवारी साधन पार्किङ गर्दा साँफे बगरबासीले हैरानी खेप्नु परेको छ।

जथाभावी पार्किङका कारण बजारको शोभा घट्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय रुपबहादुर कुँवरले बताए। उनले भने, ‘जथाभावी गाडी पार्किङको समस्या उस्तै छ। अझ नयाँ घर बनाउन थालेकाहरुले समेत सडकमै बालुवा, गिट्टी र ईंट्टा राख्ने गरेका छन्। यसले झन् समस्या निम्त्याएको छ।’साँघुरो सडकमा जताततै पार्किग गर्दा साँफेबजार अस्तव्यस्त बनेको उनको भनाइ छ।

सवारी साधन पार्किङको व्यवस्था नगर्दा आफूहरुले सडक छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालक हर्क बोगटीले बताए। उनले भने, ‘सवारी साधन पार्किङका लागि पार्किङस्थल नै छैन, अनि सडकमै गाडी रोक्नुको बिकल्प नै छैन। हाम्रो रहर होइन बाध्यता हो।’नयाँ शहरको रुपमा विकसित हुँदै गएको साँफेबगर बजारमा पार्किङ स्थल नहुँदा बजार क्षेत्रको सुन्दरतामा नै ह्रास आएको छ। बस पार्कका लागि आवश्यक जग्गा नपाउँदा समस्या भएको नयाँशहर आयोजनाका इन्जिनियर मनोज रावलले बताए। उनले भने ‘पहिले सरकारी दररेटमा २२ रोपनी जग्गा खरिदका लागि सम्झौता भयो तर अहिले जग्गाधनीहरुले सरकारी दररेटमा दिन नमानेपछि समस्या भएको छ। नयाँशहरको अन्य काम अगाडि बढे पनि बसपार्कका लागि जग्गा पाउन कठिन भएको छ।’

मुख्य गरी बस पार्क नहुँदा चुनौती देखिएको निमित्त ट्राफिक प्रहरी प्रमुख दिपक बोहराले बताए। उनले भने, ‘गाडी कतै अरु ठाउँमा लगेर रोक भन्ने अवस्था नै छैन। यहाँका जनप्रतिनिधिरलाई बसपार्कका लागि पटक पटक भन्ने गरेका छौँ। कुनै सुनुवाइ भएको छैन। निमार्ण सामाग्रीसमेत सडकै राख्छन् व्यापारीहरु।’

चर्चामा

सम्बन्धित समाचार